फोटो :राजन गाउँले
सिन्धुली : नेपाललाई उपनिवेश बनाउन आएका अंग्रेज फौजलाई परास्त गर्दै नेपालीले विजय हासिल गरेको एेतिहासिक सिन्धुलीगढी किल्लामा सोमबार विजयोत्सव मनाउने क्रममा नेपाली झण्डा फहराएको छ।
नेपाली पुर्खाहरुले साम्राज्यबादी अंग्रेज सेनालाई परास्त गर्दै विजय हासिल गरेको दिनको स्मरण गर्दै सिन्धुलीगढीमा नेपाली झण्डोत्लन गर्नुसाथै नेपाली सेनाले सलामीसमेत दिएको छ। नेपाली झण्डासहितको मोटरसाइकल, गाडीको र्याली जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट गढी किल्ला पुगेको थियो।
विजयोत्सवमा सभासद, स्थानीय राजनीतिक दलका प्रतिनिधि र विशिष्ठ व्यक्ति, सयौँ सर्वसाधरण, नेपाली सेना, सुरक्षा निकायका प्रमुख, जिल्ला स्थित सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधि सहभागी थिए। पत्रकार महासंघ सिन्धुली र जिविसले विजयोत्सव आयोजना गरेको हो।
विजयोत्सवमा संस्कृति, पर्यटन तथा नागरीक उढ्यन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले गुरुयोजना बनाएर आए सिन्धुलीगढीको ऐतिहासिक स्वरुपको पुन: निर्माणमा सहयोग गर्ने प्रतिबद्धता प्रकट गरे।
उनले भने, 'सिन्धुलीगढीको इतिहास राष्ट्रमा मात्र नभएर अन्तरराष्ट्रमा समेत महत्वपूर्ण छ। यसको संरक्षण र प्रबद्र्धनका लागि गूरुयोजना बनाएर लाग्नु पर्छ।' उनले गढीजस्ता ऐतिहासिक र पुरातत्विक महत्वका संपदाको संरक्षणमा राज्य, राजनीतिक दल, नागरीक बासी एक भएर लाग्नुपर्ने आवश्यकता औॅंल्याए।
पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले सिन्धुलीगढी क्षेत्रमा पुराना संरचनाको पुन: निर्माणको साटो नयाँ भौतिक संरचना निर्माणले पुरातात्विक अस्तित्व लोप हुनसक्ने खतरामा सचेत गराए। गढीको स्वामित्व र संरक्षण कसले गर्ने भन्ने विषयमा अन्योल हुँदा यसको विकासले गति लिन नसकेको उनले बताए।
गढीको जिम्मेवारी लिने गरी सिन्धुलीगढी वृहत्तर विकास समिति गठन गरी काम थाले पुरानै शैलीमा भौतिक संरचना निर्माण गर्न सघाउने प्रतिबद्धता उनले गरे।
सभासद मोहनप्रसाद बराल, गणेशप्रसाद पहाडी र हरिबोलप्रसाद गजुरेलले जिल्लाको विकाससँगै सिन्धुलीगढी क्षेत्रको विकासका लागि आफू र पार्टीको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।
उनीहरुले नेपाली र अंग्रेजविचमा भएको उपनिवेश विरुद्धको युद्ध र विजयको प्रसंग उल्लेख गर्दै गढीलाई राष्ट्रिय महत्वको पर्यटकीय क्षेत्रका रुपमा घोषणा गर्नुपर्न बताए।
विजयोत्सवमा सिन्धुलीगढीको इतिहास र महिमा झल्कने सांस्कृतिक कार्यक्रम, विभिन्न जातजातिका भेषभुसासहितको झाँकी र नृत्यहरु प्रस्तुत गरिएको थियो। ऐतिहासिक सिन्धुलीगढी दरबारको पुन: निर्माण, सिन्धुलीगढीसँगै जिल्लालाई नै पर्यटकीय गन्तव्यका लागि आकर्षक जिल्ला घोषणालगायत विषयसमेत उठाइएको थियो।
विसं १८२४ कात्तिक २४ नेपाली फौजको नेतृत्व गर्दै श्रीहर्ष पन्त, बंशराज पाण्डे र बंशु गुरुङले अंग्रेज फौजलाइ सिन्धुलीगढी क्षेत्रबाट हराएर पठाएको इतिहासमा उल्लेख छ।
http://annapurnapost.com/News.aspx/story/2195#sthash.wJzIhodn.uCrEkexb.dpuf
No comments:
Write comments