सरकारले शुक्रबार मनोनित भएका १८ सभासद मध्ये रुक्मिणी कोइरालाको सभासद पद झण्डै चार घन्टापछि खोसिएको छ ।
मन्त्रिपरिषद्को शुक्रबारको बैठकले मन्त्रिपरिषबाट मनोनयन गर्नु पर्ने २६ मध्ये कांग्रेसका ९, एमालेका ८ र राप्रपा नेपालका एक गरी १८ सभासद मनोनित गरेको थियो ।
अपराहृन साढे २ बजे सकिएको बैठकले मनोनित गरेको सभासदको सूचीमा कोइरालाको नाम पनि थयो । तर, कांग्रेसको कोटाबाट सभासद बनेकी कोइरालाको नाम समानुपातिकको सूचीमा रहेकाले मनोनयन सर्वोच्च अदालतको आदेश विपरित भएको भन्दै अनलाइनखबरले समाचार प्रकाशित गरेको थियो ।
सरकारका प्रवक्ता मिनेन्द्र रिजालले कोइरालाको नाम मनोनित हुने व्यक्तिको सूचीबाट हटाइएको बताए । कोइराला झण्डै चार घन्टाका लागि सभासद मनोनित भइन् र सपथ विना नै पद खोसियो ।
मन्त्रिपरिषद्को सचिवालयले विज्ञप्ति प्रकाशित गरी १७ सभासद मनोनयन गरेको बताएको छ, जसमा रूक्मिणी कोइरालाको नाम छैन । अब कांग्रेसको भागमा परेको एक सिट खाली भएको छ ।
कांग्रेसले निर्वाचन आयोगमा बुझाएको ३३५ समानुपातिक उम्मेदवारको सूचीमा कोइरालाको नाम ८२ औं नम्बरमा छ । उनी मोरङ जिल्ला महिला संघको अध्यक्ष हुन् ।
२६ सभासद मनोनयन परेको रिटमा सर्वोच्च अदालतले दिएको आदेशमा समानुपातिक सूचीमा भएका वा प्रत्यक्षतर्फ चुनाव लडेका उम्मेदवारलाई सभासद नबनाउन भनिएको छ ।
कांग्रेसमा असन्तुष्टि
सभासद मनोनयनलाई लिएर कांग्रेसमा विवाद देखिएको छ । पार्टीमा छलफल नै नगरी सभासद मनोनयन गरेको भन्दै सहमहामन्त्री पूर्णबहादु खड्कासहितका नेताहरुले असन्तुष्टि जनाएका छन् ।
खडकाले भने-’यो विधान विपरित छ । संस्थागत निर्णय भएको छैन । यसले म दुःखी समेत छु ।’
स्रोतका अनुसार पार्टी सभापति समेत रहेका सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाबीच भागवण्डाका आधारमा नै सभासद मनोनयन भएको हो । तर, दुबै नेताले गुटमा समेत सहमति नगरी नाम पठाएका हुन् ।
onlinekhabar
No comments:
Write comments