top_rightads

Wednesday, September 3, 2014

मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण सुस्त गतिमा

 

बहुप्रतिक्षिक मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण कार्य लक्ष्यभन्दा निकै कम गतिमा भइरहेको पाइएको छ ।


गत फेब्रुअरी महिनाबाट सुरुङ निर्माण सुरु गरेको इटालियन कम्पनी सिएमसीले सात महिनाको अवधिमा जम्मा साढे दुई किमी मात्र सुरुङ खनेको छ । आयोजनाका कार्यकारी निर्देशक घनश्याम भट्टराईका अनुसार मासिक एक हजार २०० मिटर सुरुङ खन्ने लक्ष्य भए पनि गत अगस्त महिनामा ३३० मिटर मात्र सुरुङ निर्माण भएको छ । तीन वर्षअगाडि चिनियाँ कम्पनीले खनेर छोडेको ६ किमीसहित हाल साढे आठ किमी सुरुङ मात्र खनिएको छ । मेलम्ची खोलाको पानी काठमाडाँै ल्याउन २९ किमी सुरुङ खन्नुपर्ने हुन्छ ।

मेलम्ची आयोजनाका एक प्राविधिकका अनुसार इटालियन कम्पनीले दुई वर्षभित्रमा सुरुङ निर्माण कार्य सम्पन्न गर्छु भनेको भए पनि अहिलेकै गतिमा काम हुने हो भने कम्तीमा अरू चार वर्ष लाग्ने अवस्था देखिएको छ । आयोजनाको सुरुङ निर्माणका लागि सुन्दरीजल, सिन्धु, ग्यालथुम र अम्बाथान अडिट समेतबाट ६ प्वाइन्टबाट सुरुङ निर्माण कार्य भइरहेको छ । आयोजनाको कार्यकारी निर्देशक भट्टराईले निर्माण कार्य लक्ष्यभन्दा ढिलाइ भएको स्वीकार्दै अब सेप्टेम्बर महिनाबाट मासिक न्यूनतम एक हजार २०० मिटर सरुङ खन्न ठेकेदार कम्पनी सिएमसी प्रतिबद्व रहेको दाबी गरे ।

कुल १८ महिनाको कार्यावधिभित्र निर्माण कार्य सक्ने प्रतिबद्वतासहित ठेक्का जिम्मा लिएको सिएमसी कम्पनीले अहिले आएर विभिन्न समस्याका कारण देखाउन थालेको छ । ठेकेदार कम्पनीका जनसम्पर्क अधिकृत क्षेत्रिकाले भन्नुभयो–“निर्माण सामग्रीको अभाव मुख्य समस्या हुन गएको हो । तर आयोजनाका एक प्राविधिकका अनुसार आयोजनाको सुपरिभिजन गर्ने कन्सलटेन्ट कम्पनी, प्रोजेक्ट व्यवस्थापन कम्पनी पिएमसी तथा वातावरणीय व्यवस्थापन कम्पनी र ठेकेदार कम्पनीको मिलोमतोमा आयोजनालाई ढिलो गर्ने बाहानाबाजी गरिँदैछ । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना निर्माण कार्यमा यस अगाडिको चिनियाँ कम्पनीले पनि समयमा सुरुङ निर्माण कार्य अगाडि बढाउन नसकी बीचैमा छाडेको थियो ।

त्यसपछि पुनः टेन्डर गरी छानिएको सिएमसी इटालियन कम्पनीको कार्यशैली पनि त्यति उत्साहजनक नभएको आयोजनाका एक कर्मचारीले बताए ।  मेलम्ची आयोजनाले ठेकेदार कम्पनी सिएमसीलाई निर्माण आचारसंहिताविपरीत फिल्ड कार्यालयको कम्पाउन्ड क्षेत्रमा नै कन्सलटेन्टको अफिससँगै कार्यालय सञ्चालन गर्न दिएकोतर्फ पनि आयोजनाका कर्मचारीले व्यवस्थापनप्रति आपत्ति जनाउँदै आएका छन् । स्मरणीय छ, मेलम्ची आयोजनाको निर्माण कार्यमा अहिले स्थानीय बासिन्दाका तर्फबाट कुनै बाधा अवरोध छैन ।

राष्ट्रिय गौरवको आयोजना भएकाले निर्माण कार्यमा सकेसम्म सहयोग पु¥याउन आफूहरू प्रतिबद्ध रहेको नेपाली काँग्रेसका नेता तारानाथ दाहालले बताउनुभयो । तर आयोजना, ठेकेदार कम्पनीको असक्षमता र अपारदर्शी व्यवहारको भने आफूले आलोचना गर्दै आएको उनको भनाइ छ । रासस
www.nepaliheadlines.com

No comments:
Write comments