top_rightads

Wednesday, October 29, 2014

'हार खाएर मृत्युलाई अँगाल्दै छु'

 

Irani-girlआफूलाई बलात्कार गर्न खोज्ने व्यक्तिलाई मारेको अभियोगमा गत शनिबार मृत्युदण्ड पाएकी एक २६ वर्षीया इरानी युवतीले आफ्नी आमालाई अन्तिम सन्देश पठाएकी छन्, जसमा उनले आफ्ना अंगहरु दान गर्न आग्रह गरेकी छन् । पाँच वर्षअघि मृत्युदण्डको सजाय सुनाइएपछि गत अप्रिलमा रेहनेह जब्बरीले आमाका लागि रेकर्ड गरेको आवाज निकै शान्त सुनिन्थ्यो । त्यो सुन्दा मृत्युदण्डको सजाय भएपछि रेहनेहले भाग्यप्रति भरोसा गर्न छाडेजस्तो लाग्छ । इरानी अधिकारकर्मीहरूले उक्त सन्देशलाई रेहनेहको बकपत्र भनेर अनुवाद गरेर बाँडेका थिए ।

रेहनेहलाई एक पूर्वखुफिया अधिकारीलाई मारेको अभियोगमा मृत्युदण्ड दिइएको हो । ती अधिकारीले उनलाई घरको आन्तरिक सजावटका लागि सल्लाह लिन भनेर बोलाएका थिए । घरमा जाँदा ती अधिकारीले बलात्कार गर्न खोजेपछि उनले सानो चक्कुले प्रहार गरेकी थिइन् । चक्कु हाने तापनि रेहनेहले ती व्यक्तिलाई मारेको भने अस्वीकार गरेकी छन् । उनले आमालाई पठाएको त्यो अन्तिम सन्देशमा भनिएको छ :
प्यारी शोलेह,
आज थाहा पाएँ, सजायका लागि मेरो पालो आएछ । म दुःखी छु, किन तपाइँले म मेरो जिन्दगीको पुस्तकको अन्तिम पानामा पुगेको खबर मलाई दिनुभएन ? संसारले मलाई १९ वर्ष बाँच्ने मौका दियो । त्यही अलच्छिना रात म मारिएको भए हुने । मेरो लास सहरको कुनै कुनामा फालिन्थ्यो होला । केही दिनपछि प्रहरी आउँथे होलान् । अनि तपाईंलाई सनाखतका लागि लैजान्थे होलान् । त्यसपछि
त तपाईंलाई पनि थाहा भइहाल्थ्यो, ममाथि बलात्कारसमेत भएको रहेछ भन्ने ।
हत्यारालाई त हामीले कहिल्यै पक्रन सक्दैनथ्यौं । किनभने ऊसँग जति पैसा र शक्ति हामीसँग छैन । त्यसपछि केही वर्ष तपाईं लज्जित र पीडित भएर बाँच्नुहुन्थ्यो । अनि त्यही पीडाले सायद मर्नु पनि हुन्थ्यो । तर मेरो श्रापित मुक्काले कथा बदलियो । मेरो शरीर सहरको कुनै कुनामा होइन, इभिन जेल नामको चिहानको एक्लो कक्षमा फालियो । सहर-ऐ-रेको यो जेल पनि चिहानजस्तै छ । यसलाई भाग्य नै ठान्नुस्, कुनै गुनासो नगर्नुस् । तपाईंलाई थाहै छ, मृत्यु जीवनको अन्त्य होइन ।
तपाईंले मलाई सिकाउनुभएको थियो- मान्छे संसारमा अनुभव बटुल्न र सिक्न आउँछ । हरेक जन्मले मान्छेको काँधमा जिम्मेवारी थप्छ । मैले पनि सिकेँ, कहिलेकाहीं लड्नुपर्दाे रहेछ । मलाई कोर्रा हानेको देखेर एकजना टाँगावालाले त्यसको विरोध गरेको र कोर्रावालाले उसलाई टाउकामा हिर्काउँदा उसको ज्यानै गएको कुरा तपाइर्ंले मलाई भन्नुभएको थियो । त्यो मैले बिर्सेको छैन । मर्यादा जोगाउन ज्यानै गए पनि पछि हट्न हुन्न भनेर तपाईंले नै मलाई भन्नुभएको थियो । स्कुल जान सक्ने भएपछि युवतीले जस्तै झगडा र गुनासाको सामना गर्नुपर्छ भनेर पनि तपाईंले नै सिकाउनुभएको हो ।
हाम्रो बानीको टिप्पणी कसरी गर्नुहुन्थ्यो, तपाईंलाई याद छ ? तपाईंको अनुभव गलत थियो । जब ममाथि त्यो घटना भयो, मेरो शिक्षाले मलाई मद्दत गरेन । अदालतमा मलाई हृदयहीन हत्याराका रूपमा उभ्याइयो । मैले आँसु खसालिनँ । याचना गरिनँ । टाउको फुटाएर रोइनँ, किनभने म कानुनमा विश्वास गर्थें ।
तर मलाई बेवास्तापूर्वक अपराध गरेको अभियोग लगाइयो । तपाइर्ंलाई थाहै होला, म लामखुट्टे पनि मार्दिनथेँ । साङ्लोलाई म त्यसको चुच्चोमा समातेर बाहिर निकाल्थेँ । अहिले म नामुद हत्यारा भएकी छु । जनावरहरूप्रतिको मेरो व्यवहार केटा हुन गरिएको इच्छाका रूपमा व्याख्या गरियो । घटना हुँदा मेरो नङ पालिस गरिएको र लामो थियो भन्ने तथ्य न्यायाधीशले विचारसम्म गरेनन् । न्यायाधीशबाट कसैले न्यायको अपेक्षा गर्छ भने ऊ कति आशावादी होला ! महिला खेलाडी, खास गरी मुक्केबाजको जस्तो खस्रा हात मेरा थिएनन् भन्ने तथ्यमा न्यायाधीशले कहिल्यै प्रश्न उठाएनन् ।
यो देशको माया तपाइर्ंले ममाथि रोपिदिनुभयो । तर यहाँ कसैले मलाई चाहेन । प्रश्नकर्ताको अश्लील प्रश्नको प्रहारले म रुँदा कसैले मेरो समर्थन गरेन । जब मैले सौन्दर्यको अन्तिम चिन्ह, मेरो कपाल खौरिएँ, मलाई पुरस्कार दिइयो : एघार दिनको एक्लो कारावास ।
प्यारी शोलेह, जे सुनिरहनुभएको छ, त्यसप्रति आँसु नखसाल्नुहोला । पहिलो दिन प्रहरी कार्यालयमा एकजना बूढी अविवाहिता दलालले मलाई नङ पालेकामा दुःख दिई । अनि मैले बुझेँ¬, यो ठाउँमा सौन्दर्यलाई हेरिँदैन । रूपको सौन्दर्य, विचार र आकांक्षाहरूको सौन्दर्य, सुन्दर हस्तलिपि, आँखा र दृष्टिको सौन्दर्य अनि मीठो आवाजको सौन्दर्य !
मेरी प्यारी आमा, मेरो विचार बदलिएको छ । तपाईं यसप्रति जबाफदेही हुनुहुन्न । मेरा शब्दहरू अन्त्यहीन छन् । यी सबै मैले कसैलाई दिएको छु । तपाइर्ंको उपस्थिति र जानकारीबिना नै मेरो हत्या भएपछि मात्रै यो तपाईंलाई दिइने छ । तपाईंलाई मेरा धेरै हस्तलिखित सामग्री मेरो चिनोका रूपमा छाडेकी छु ।
यद्यपि मेरो मृत्युअगाडि तपाइर्ंबाट केही कुरा चाहेकी छु । आफ्नो सारा सामथ्र्यका साथ तपाइर्ंले त्यो पूरा गरिदिनुहोला । वास्तवमा यो संसार, यो देश र तपाईंबाट मैले चाहेको यही एउटा कुरा हो । मलाई थाहा छ, तपाईंलाई यसका लागि समय चाहिन्छ । त्यसैले मेरो इच्छाको एउटा अंश छिट्टै नै तपाइर्ंलाई भनिरहेकी छु । कृपया नरोई सुन्नुस् ।
तपाइर्ं अदालतमा जानुस् र तिनीहरूलाई मेरो आग्रह सुनाइदिनुस् । मेरी दयालु आमा, प्यारी शोलेह ! मेरी प्राणभन्दा पनि प्यारी आमा ! म माटोमुनि सड्न चाहन्नँ । मेरो आँखा र कलिलो मुटु धुलो होस्, यो म चाहन्नँ । मलाई झुन्ड्याउने बित्तिकै मेरो मृगौला, मृटु, आँखा, हाडहरू र प्रत्यारोपण गर्न मिल्ने सबै अंग मेरो शरीरबाट झिकियोस् र जसलाई त्यसको खाँचो छ, उपहारका रूपमा दिइयोस् । यत्ति कुरा म तपाईंसँग माग्छु ।
प्रापकले मेरो नाम पनि थाहा नपाओस्, उसले मेरा लागि फूलको गुच्छा पनि नकिनोस् र मेरा लागि प्रार्थना पनि नगरोस् । म हृदयको पिँधबाट तपाईंलाई यसो भनिरहेकी छु । मेरो चिहानमा तपाईं नआउनु । र नरुनु । नतड्पनु । मेरा लागि कालो लुगा नलगाउनु । मेरो दुर्दिन भुल्न सक्दो प्रयास गर्नुहोला । मलाई हावाले उडाउन दिनुस् ।
संसारले हामीलाई प्रेम गरेन । यसले मेरो भाग्य चाहेन । अब म हार खाएर मृत्युलाई अँगाल्दै छु । किनभने भगवान्को अदालतमा म निरीक्षकहरूलाई उभ्याउने छु । म प्रहरी निरीक्षक शाम्लोलाई उभ्याउने छु, न्यायाधीशलाई उभ्याउने छु र सर्वाेच्च अदालतका न्यायाधीशहरूलाई उभ्याउने छु, जसले मलाई मेरो जागृत अवस्थामै प्रहार गरे र दुःख दिनबाट पछि हटेनन् ।
सृष्टिकर्ताको अदालतमा म डा.फारवन्डीलाई पनि उभ्याउने छु, क्वासिमशवानीलाई उभ्याउने छु र ती सबलाई उभ्याउने छु, जसले अज्ञानतावश होस् वा ढाँटेर होस्, मलाई गलत सावित गरे । मेरो अधिकार कुल्चिदिए । अनि कहिलेकाहीं देखिएभन्दा सत्य भिन्नै हुन्छ भन्ने तथ्यको वास्तै गरेनन् ।
प्यारी कोमल हृदयी शोलेह ! परलोकमा नालिस दिने तपाईं र म हुने छौं, अनि अरू अभियुक्त हुने छन् । हेरौं ईश्वर के चाहन्छन् !'

No comments:
Write comments