top_rightads

Wednesday, October 8, 2014

पत्नीलाई पनि लुम्बिनी ल्याउँछु आमिर खान

 

भैरहवा, आश्विन २३ - बलिउड अभिनेता आमिर खान बुद्ध जन्मस्थल लुम्बिनीबाट निकै प्रभावित भएका छन् । अर्को चोटि पत्नीसहित लुम्बिनी घुम्ने प्रतिबद्धता पनि जनाएका छन् ।amir khan
उनी बुधबार युनिसेफद्वारा कपिलवस्तुमा आयोजित पोषणसम्बन्धी कार्यक्रममा सहभागी थिए । त्यो सकेपछि काठमाडौंका लागि भैरहवा विमानस्थल आउने क्रममा उनले लुम्बिनीको अवलोकन गरेका थिए ।
५८ जनाको समूहमा रहेका आमिर लुम्बिनीस्थित होटल होक्केमा खानपिनपछि मायादेवी मिन्दर परिसरमा प्रवेश गरेका थिए । 'मायादेवी मन्दिरमा रहेको मार्कर स्टोन (बुद्ध जन्मेको स्थलमा राखिएको पदचिह्न शिला) र अशोक स्तम्भबारे व्याख्या गरेपछि उनी प्रभावित भएको पाएँ,' भ्रमणका वेला आमिरलाई लुम्बिनीबारे व्याख्या गरेका लुम्बिनी विकास कोषका पूर्ववरिष्ठ पुरातत्त्वविद् वसन्त बिडारीले भने, 'उनले आफू पछि कुनै दिन श्रीमतीलाई लिएर लुम्बिनी आउने पनि बताए ।'
बिडारीका अनुसार, मायादेवी मन्दिरमा रहेको मार्कर स्टोनछेउ पाँच-सात मिनेट उभिएपछि आमिरले सोधेका थिए, 'मार्कर स्टोन कसरी प्रमाणित भयो ?' अशोक स्तम्भबारे पनि उनले जिज्ञासा राखे । स्तम्भ अवलोकनपछि उनले पोखरीतर्फ गएर पीपलको बोटमुनि फोटो खिचाएका थिए । लुम्बिनी विकास कोषले त्यहाँ राखेको आगन्तुक पुस्तिकामा उनले लेखेका छन्, 'शान्ति क्षेत्र लुम्बिनीको भ्रमण गर्ने अवसर जुटेकोमा म गौरवान्वित भएको छु ।'
उनले श्रीलंकन मन्दिर पुगेर त्यहाँको पीपलको वृक्ष पनि अवलोकन गरे । मन्दिरमा रहेको पीपलको वृक्ष बुद्धले बोधगयामा बुद्धत्व प्राप्त गर्दा रहेको पीपलको प्रशाखा मानिन्छ । त्यहाँ आमिर भिक्षुसँगै बौद्ध प्रार्थनामा पनि सरिक भए ।
उनी लुम्बिनी पुग्दा कोषका शाखा प्रमुखले खादा ओढाएर स्वागत गरेका थिए । फर्किने बेला उनलाई मायाको चिनो स्वरूप बुद्धको मूर्ति दिइएको थियो । आमिरले करिब ४५ मिनेट लुम्बिनीमा बिताएका थिए 

No comments:
Write comments