top_rightads

Thursday, October 16, 2014

वैदेशिक रोजगारमा जाने २६ महिलाले आत्महत्या गरे

 

३१ असोज, काठमाडौ । रोजगारीका लागि विदेश गएर मृत्यु हुने महिलामध्ये ३० प्रतिशतले आत्महत्या गर्ने गरिएको देखिएको छ । वैदेशिक रोजगार विभागले गरेको ‘रोजगारीका लागि श्रम आप्रवासनको स्थिति प्रतिवेदन’मा पछिल्लो ६ आर्थिक वर्षमा ७९ महिलाको मृत्यु भएकोमा २६ जनाले आत्महत्या गरेको उल्लेख छ, कारोबार दैनिकमा खबर छ ।
विदेशमा मृत्यु हुने कुल संख्यामा भने महिला आत्महत्या १० प्रतिशत हुन्छ । अधिकांश नेपाली महिला विदेशमा घरायसी कामका लागि जान्छन् ।
घर मालिक -स्पोन्जर)ले घरको काम गर्ने महिलालाई न्युन पारिश्रमिक दिने, घरबाहिर निस्कन नदिनुका साथै कतिपय ठाउँमा सञ्चार सम्पर्कसमेत गर्न दिदैनन् । यस्तो अवस्थामा महिलाले तनावमा आई आत्महत्या गर्ने गर्छन ।
आर्थिक वर्ष ०६५/६६मा ३ महिलाको मृत्यु भएकोमा एक जनाले आत्महत्या गरेकी थिइन् । आव ०६६/६७मा मृत्यु भएका १९ महिलामध्ये ४, आव ०६७/६८मा मृत्यु भएका ८ महिलामध्ये २, आव ०६८/६९ मा १४ महिलामध्ये ५, आव ०६९/७० मा ११ महिलामध्ये ५ र आव ०७०/७१मा २४ महिलामध्ये ९ जनाले आत्महत्या गरेका थिए ।
पुरुषको तुलनामा महिला हिंसामा बढी परेको प्रतिवेदनमा उल्लेख छ । ६ वर्षको अवधिमा कतारमा ६, मलेसियामा २, साउदी अरबमा १, संयुक्त अरब इमिरेट्समा ६, कुवेतमा १० र इजरायलमा एक महिलाले आत्महत्या गरेका छन् । विदेशमा रहँदा विभिन्न दुःख झेल्नुपर्दा मनोवैज्ञानिक कारणले बढी महिलाले आत्महत्या रोज्ने गरेको देखिन्छ ।

No comments:
Write comments