नक्कली कागजात (कीर्ते कागज) बनाई चोरीको मोटरसाइकल बेच्ने प्रहरी नायब निरीक्षक (असई) निलम्बनमा परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत असई गोविन्द महतोले चोरीको मोटरसाईकल कीर्ते कागज बनाएर बेच्दा कारबाहीमा परेका हुन्।
शान्तिसुरक्षामा अहोरात्र खट्ने प्रहरी नै चोरीको मोटरसाइकल कीर्ते कागज बनाई बिक्री गर्ने कार्यमा संलग्न भएपछि प्रहरीको जागिरबाट निलम्बित हुनुपरेको हो। चोरीको मोटरसाइकल झुक्काएर बेच्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले महतोलाई पक्राउ गरी जागिरबाट निलम्बित गरेको मकवानपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक थापाले बताए। महतोले रौतहटका रुस्तम मियालाई बा ६ प ६०७५ नम्बरको स्प्लेन्डर मोटरसाइकल बेचेको डिएसपी थापाले जानकारी दिए।
महतोले २०६७ सालमा ललितपुरबाट हराएको मोटरसाइकल ६ महिना अघि नगद ५० हजार रुपैयाँमा मियालाई कीर्ते कागज बनाएर कागजात सक्कली हो भन्दै बेचेका थिए। प्रहरीले चेकजाँच गर्ने क्रममा सो मोटरसाईकलको कागजात नक्कली भएको बताएपछि मोटरसाईकल धनी मियाले आफूलाई सो मोटरसाईकल प्रहरीले नै बिक्री गरेको बताएका थिए।
प्रहरीले नै चोरीको मोसा बिक्री गरेको भन्दै मियाले प्रहरी कार्यालय मकवानपुरमा महतोलाई कार्बाहीको माग राख्दै जाहेरी दिएपछि पक्राउ गरिएको डिएसपी थापाले बताए। डिएसपी थापाका अनुसार उक्त मोटरसाइकल ललितपुरका भक्तबहादुर रायमाझीको नाममा दर्ता रहेको तथ्य फेला परेको छ। चोरीको मोटरसाइकल बेच्ने महतोलाई सरकारी छाप दस्तखत कीर्ते मुद्दामा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।
No comments:
Write comments