काठमाडौँ - एक अधवैंशे महिलालाई अप्रेसन कक्षभित्र प्रवेश गराइन्छ । उनी स्ट्रेचरमा निस्तेज लडेकी छन् । दाहिने हातमा सलाइन पाइप जोडिएको छ । मुखभित्र पनि पाइप घुसाइएको छ। अम्पु ब्यागबाट नर्सले लगातार हावा दिइरहेकी छन् । स्थानः मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको क्याथल्याब समयः मध्याह्न १२ः०२, कात्तिक २० गते बिहीबार । केही अघिसम्म शान्त क्याथल्याबको वातावरणमा एकाएक हडबडी छाउँछ । सबैलाई अदृश्य भयले थिचेको छ ।
डाक्टर, सिस्टर कसैका आँखामा चमक छैन । मुख त त्यसै पनि हरियो मास्कले ढाकेकै छ। उनीहरूका हात स्वचालित यन्त्रझैं चलिरहेका छन्। अप्रेसनको तयारीका लागि यताउती दगुरिरहेका छन् । सामान मिलाइरहेका छन् । एक सिस्टरले बिरामी महिलाको मुखबाट अम्पु ब्याग झिकिन्। मुखभित्र घुसाइएको पाइप भेन्टिलेटरमा जोडिन्। त्यतिबेलासम्म डाक्टरले उनको दायाँ तिघ्रामा बेटाडिन दल्न थालिसकेका थिए। बेटाडिन दलेकै ठाउँमा सुई घोचे। एकैछिनमा आधा सिरिन्ज रगत झिकेर डस्टबिनमा पिच्च फ्याले। केही सिस्टर अझै पनि डाक्टरलाई चाहिने सामान मिलाउँदै थिए।
एक जनाले फोनबाट सिसियु कक्षमा निर्देशन दिइन्, ‘२०९ को बेड खाली गर्नुस् है, मेसिन पनि जोड्नुस्, हामी गर्दैछौं, एकछिन त टाइम लागिहाल्छ। तपाईंहरू चाहिँ छिटो गर्नुस्।’ अर्की सिस्टर हल न चल अवस्थामा रहेकी महिलाको टाउकोसँगै उभिएकी थिइन्।
तीन जना डाक्टर उनको तिघ्रामा प्वाल पारेर पाइप घुसाउन व्यस्त थिए। एनेस्थेसियाका डाक्टर भित्र–बाहिर गरिरहेका थिए। उनी भने अरूझैं तनाबग्रस्त देखिँदैनथे। केही बेरपछि क्याथल्याबको मेसिनले काम सुरु गर्योक। बिरामीको टाउकोनिर भएको एक्सरे मेसिन डाक्टरको निर्देशनअनुसार घरि दायाँ ढल्कन्थ्यो, घरि बायाँ। छिनछिनमा मनिटरको दृश्य परिवर्तन हुन्थ्यो। बिरामीको मुटु र नलीभित्र घुसाइएको पाइप मनिटरमा देखिएको थियो। डाक्टरले मनिटरमा हेर्दै आफ्ना सहायकहरूलाई भने, ‘ल हेर, पूरै बन्द छ। १०० प्रतिशत थुनिएको छ। अनि ढल्दैन त ?’ उनी फेरि बिरामीको तिघ्रामा जोडिएको पाइप र तार चलाउन थाले। बेलाबेला एक्सरे मेसिन घुमाउन लगाउँथे। झिपिक–झिपिक गर्दै मनिटरको दृश्य परिवर्तन हुन्थ्यो।
मनिटरमा मुटुभित्र दुइटा तार चलिरहेको देखियो। सायद यो एन्जियोेप्लास्टको मुख्य बिन्दु हो। केही समय गम्भीर भएर काम गरेपछि डाक्टरले भने, ‘ठ्याक्कै मिल्यो। अब हेर कति मज्जाले खुल्यो।’ क्याथल्याबमा झन्डै ४० मिनेटको कसरतपछि डाक्टर सन्तुष्ट हुँदै बाहिर निस्के। निस्कँदा–निस्कँदै भने, ‘हाम्रो काम सकियो, अब भगवानको पालो।’ त्यसबेला छेउको स्किनमा ती बिरामी महिलाको ब्लडप्रेसर देखिएको थियो– १३५/९० । त्यसको ठिक एक घन्टाअघि पाटन अस्पतालबाट ‘कोल्याप्स’ अवस्थामा रेफर भएर टिचिङको मनमोहन कार्डियोथोरासिक ल्याइएको थियो ती महिलालाई।
म त्यस दिन मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई भेट्न अस्पताल पुगेको थिएँ। हाम्रो भेट मात्र के भएको थियो, एक जना विद्यार्थी डाक्टर इमर्जेन्सीबाट हस्याङफस्याङ गर्दै ती महिलाको केस’ लिएर आइपुगे। ‘पाटनबाट रेफर। त्यहाँ इआर (आकस्मिक कक्ष( मा कोल्याप्स भएपछि इन्क्युबेट गरेर ल्याएको रहेछ,‘उनले एकै सासमा ब्रिफिङ गरे। बिरामीको अवस्था अत्यन्त नाजुक छ भन्ने उनीहरूको कुरा गराइबाटै बुझिन्थ्यो। ‘ल ठिक छ। ल्याब तयार गर्नू भन,’ डा. अनिलले बिरामीको रिपोर्ट पल्टाउँदै भने, ‘बिरामीलाई माथि सार्न लगाऊ, एनेस्थेसियालाई पनि इन्फर्म गर।’ यति निर्देशन लिएर अघि बढ्न लागेका डाक्टरलाई अनिलले फेरि डाकेर भने, ‘पेसेन्ट पार्टी (बिरामी पक्ष) बाट हाई रिस्कको कन्सेन्ट लिऊ। बरु यहीँ बोलाऊ, मै ब्रिफ गरिदिन्छु।’आजको नागरिक दैनिकमा स्वरुप आचार्यको एक खोजमुलक सामग्री प्रकाशित छ ।
www.esangrila.com
No comments:
Write comments