मिस नेपाल यूएसएको चौथो संस्करणको उपाधि खुस्बु मिश्रले जितेकी छन्। ओहायोमा बसोबास गर्दै आएकी खुस्बुले १४ प्रतिस्पर्धीलाई पछि पारेकी हुन्। उपाधिसँगै उनले पाँच हजार डलर बराबरको छात्रवृत्तिसहित नेपाल आउने जाने हवाई टिकट पाएकी छन्।
आयोजकका अनुसार, खुस्बुले सुरज सुब्बा नाल्बोको आउँदो फिल्म 'मिस नेपाल यूएस' मा अभिनय गर्ने अवसर समेत प्राप्त गरेकी छन्। अमेरिकामा नेपाल प्रवर्द्धन गर्न र नेपाली मूलका अमेरिकी तथा नेपालबाट अमेरिका आएका तन्नेरीको प्रतिभा पर्गेल्ने उद्देश्यले चार वर्षदेखि इप्लानेट नेपाल र अमेरिकाको इभेन्ट प्लानेट इन्कले प्रतियोगितालाई निरन्तरता दिँदै
आएका हुन्।
प्रतियोगितामा क्यालिफोनिर्याकी सुषमा शर्मा फस्ट रनर अप र नोरउडकी सुषमा अधिकारीले सेकेन्ड रनर अपको उपाधि चुमे। उनीहरूले क्रमशः तीन हजार र दुई हजार अमेरिकी डलर बराबरको छात्रवृत्ति प्राप्त गरेका छन्।
यस वर्षको प्रतियोगिताको टिकट बिक्रीबाट संकलित रकममध्येको १० प्रतिशत हालै सिन्धुपाल्चोकका बाढीपीडितहरूलाई राहत स्वरूप प्रदान गरिने आयोजक अमित शाहले जनाए। यस अघिका मिस नेपाल यूएसएको उपाधि सुजिता बस्नेत, आस्था श्रेष्ठ तथा वर्तिका राईले जितेका थिए।
एनआरएन अध्यक्ष शेष घले, संयुक्त राष्ट्रसंघका लागि नेपाली राजदूत दुर्गाप्रसाद भट्टराईसहितको उपस्थितिमा भएको प्रतियोगितामा अतिथि कलाकारका रूपमा गायक हेमन्त राना, भीम निरौला तथा नृत्यकार धरमवीर लामाले प्रस्तुति दिएका थिए।
No comments:
Write comments