१४ बर्ष पहिले विद्यालय गएका बेला बेपत्ता भएका छोरो टुप्लुक्क घरमा आउँछ कि भनेर दाङ हेकुली-४ की लीला विश्वकर्माले अझै आशा मारेकी छैनन् ।
आफ्ना १४ वर्षीय छोरा छवि विश्वकर्मा कहाँ गए वा कसले लग्यो भन्ने उनलाई अहिलेसम्म थाहा छैन । ०५७ बैशाख १९ गते बिहान सल्यानको बडागाउँस्थित बगाले स्कूलमा पढ्न गएका छवि त्यही दिन बेलुकादेखि घर फर्किएका छैनन् ।
छविकी आमाका करिब ५ हजार दिन र रातहरु प्रतिक्षामै बितेका छन् । उनलाई अहिलेसम्म छवि कतै जीवितै छ कि भन्ने आशा लागिरहेको छ ।
‘बेपत्ता भएको १४ वर्ष भए पनि अझै कतै बाँचेको छ कि भन्ने आशा लाग्छ’-अन्तर्राष्ट्रिय बेपत्ताविरुद्धको दिवसमा घोराहीमा आयोजित कार्यक्रममा लीलाले भनिन् – ‘तर खोजी गरिदिने कोही भएन ।’
सन्ध्याको पीडा पनि उस्तै
त्यसो त फूलबारी-४ रनियापुरकी सन्ध्या रिजाल वलीको पीडा पनि लीलाको भन्दा कम छैन । परिवारको एक्लो कमाउने श्रीमानलाई तत्कालीन बिद्रोही नेकपा माओवादीले अपहरण गरी बेपत्ता बनाएपछि अहिलेसम्म अत्तोपत्तो छैन । ०५९ सालमा विद्यालयमा पढाउने सिलसिलामा नेपालञ्जबाट घर -फूलबारी) हिँडेका शिक्षक ओमबहादुर वली अहिलेसम्म बेपत्ता छन् ।
‘वेपत्ता पतिको अहिलेसम्म पत्तो छैन’उनले भनिन्, ‘बेपत्ताका नाममा राज्यले दिने भनेको राहत रकम पनि चित्तबुझ्दो छैन ।’
सेनालाई सराप्दै ज्ञानु
बेपत्ता दिवसका अवसरमा स्थानीय शान्ति समिति दाङले आयोजना गरेको बेपत्ता परिवारको वर्तमान अवस्था र राज्यको दायित्व विषयक कार्यक्रममा डुरुवा-७ की ज्ञानु बिष्टले पनि आक्रोश मिश्रति पीडा व्यक्त गरिन् ।
ज्ञानुका पति लेवबहादुर बिष्टलाई ०५९ भदौ २१ गते सेनाले घरबाटै बेपत्ता बनाएपछि अहिलेसम्म पत्ता नलागेको पीडा उनले सुनाइन् ।
लीला, सन्ध्या र ज्ञानुले मात्रै होइन, बेपत्ताका परिवारजनहरुले अहिलेसम्म राज्यले आफन्तको खोजी पनि नगरिदिएको र आफूहरुलाई उचित राहत नदिएको गुनासो गरे ।
दाङ जिल्लामा मात्रै १ सय १३ जना बेपत्ताको सूचीमा रहेको शान्ति समितिको तथ्यांकमा उल्लेख छ ।
onlinekhabar
No comments:
Write comments