top_rightads

Wednesday, September 3, 2014

कतारमा श्रमिकबारे वृत्तचित्र बनाउने दुई ‘नेपाली’ बेपत्ता- कतारी प्रहरीले बेपत्ता बनाएको आरोप

 



नेपाली मजदुरहरुको मानव अधिकारको अवस्था सम्बन्धी रिपोर्टिङ्का लागि बेलायतबाट कतार पुगेका दुई नेपाली चार दिनदेखि बेपत्ता भएका छन् । मानवअधिकारको क्षेत्रमा क्रियाशील एक नर्वेली च्यारिटीका लागि रिपोर्टिङ गर्ने शिलशिलामा कतार पुगेका कृष्ण उपाध्याय र गुणदेव घिमिरेलाई स्थानीय सुरक्षा निकायले नियन्त्रणमा लिएको आशंका गरिएको छ ।
द इण्डिपेन्डेन्टमा प्रकाशित खबर अनुसार मानव अधिकारको क्षेत्रमा क्रियाशील ग्लोबल नेटवर्क फर राइट एण्ड डेभलपमेन्ट (जीएनआरडी ) नामक नर्वेली संस्थाका लागि रिपोर्टिङ गर्ने क्रममा उनीहरु गत बुधबार कतार पुगेका थिए ।
तर, आइतबारदेखि सम्पर्कविहीन उनीहरुको अवस्था बारे धेरैपटक सोधपुछ गर्दासमेत कतारी अधिकारीहरुले केही नबताएको जीएनआरडीले जनाएको छ ।
यसबीच कुनै खबर नपाएपछि लण्डनस्थित उनीहरुका परिवार अहिले चिन्तित बनेका छन् ।
५२ वर्षीय उपाध्याय र ३६ वर्षीय घिमिरे दुवै बेलायतका पासपोर्टवाहक नागरिक हुन् । मानवअधिकारको क्षेत्रमा एक दशक बढी समयदेखि क्रियाशील उपाध्याय जीएनआरडीमा आवद्ध थिए ।
एनआरएनबेलायतका पूर्व राष्ट्रिय संयोजसमेत रहेका उनी बेलायतस्थित एक विश्वविद्यालयबाट नेपालको आन्तरिक द्वन्द्वसम्बन्धी विषयमा विद्यावारिधी गर्दैछन् । उनीसँगै रहेका घिमिरे भने बेलायतस्थित नेपाली टिभीमा कार्यरत क्यामरा म्यान हुन् । घिमिरेले एक व्यवसायिक भिडियोग्राफरका रुपमा समेत बेलायतको नेपाली समुदायमा काम गर्दै आएका छन् ।
सन् २०२२ को विश्वकपका लागि पूर्वाधार निर्माणको काममा लगाइएका नेपाली मजदुरमाथि भएको शोषण र अन्याय बारे मजदुरसँग कुराकानी गरी भिडियो रिपोर्टिङ गर्ने उनीहरुको योजना थियो ।
लण्डनस्थित घिमिरेकी श्रीमती बन्दनाका अनुसार कतारमा मजदुर बसेको क्याम्पमा नै पुगेर अन्तर्वार्ता रेकर्ड गर्न खोजेका उनीहरुलाई त्यहाँका अधिकारीले क्याम्पमा जाने अनुमति दिएका थिएनन् । त्यसपछि उनीहरुले कतारस्थित नेपाली दूतावासमा बसेर त्यहाँ सेवा लिन आउने मजदुरको अन्तर्वार्ता रेकर्ड गराएका थिए ।
रिपोर्टिङ सकेर आइतवार बेलायत घर फर्किने तयारी गरिरहँदा उनीहरुलाई कतारी प्रहरीले नियन्त्रणमा लिएको आशंका छ ।
आइतवारदेखि सम्पर्कविहीन घिमिरेको पछिल्लोपटक लण्डनस्थित उनकै एक आफन्त सागर खरेलसँग फोनमा कुराकानी भएको थियो । खरेलले सोही कुराकानी सम्झिँदै भने, ‘उहाँको पछिल्लोपटक मसँग आइतवार भाइबरमा सम्पर्क भएको थियो । उहाँ त्यतिबेला होटलमै हुनुहुन्थ्यो । तर, अहिले धेरै बोल्न मिल्दैन, अब त्यहीँ आएपछि कुरा गरौंला भन्दै अरु केही नभनी राखिदिनुभयो, आवाज पनि केही अत्तालिएको जस्तो सुनिन्थ्यो ।’
त्यसअघि बेपत्ता उपाध्यायले पनि शनिवार आफ्ना सहकर्मीलाई म्यासेज पठाएर आफूलाई सादा पोशाकका प्रहरीले पछ्याइरहेको बताएका थिए । म्यासेजमा उनले प्रहरीले आफूलाई अब दुःख दिन्छ होला भन्ने चिन्ता ब्यक्त गरेका थिए ।
सम्पर्कविहीन हुनुअघि उपाध्यायले पठाएको म्यासेजमा आफूहरुलाई कतारी प्रहरीले पछ्याइरहेको जीएनआरडीको वेबसाइटमा उल्लेख छ ।
उपाध्यायको म्यासेज पाएका उनका एकजना सहकर्मीको भनाइ उद्धृत गर्दै  द इन्डिपेन्डेन्टले लेखेको छ, उनीहरुले बेलायत फर्किनका लागि आइतबार होटलमा चेकआउट पनि गरिसकेका थिए । तर, होटल परिसरमै पनि प्रहरीे उनीहरुलाई निगरानी गरिरहेको थियो । उनीहरु फोनमा बोल्दासमेत प्रहरी नजिक आएर सुनिरहेका हुन्थे । होटलबाट बाहिर निस्कन पनि उनीहरुलाई असुरक्षित महसुस भइरहेको थियो । त्यसैले फ्लाइटको समय नहुन्जेल होटलमै पर्खिएर बसिरहेका थिए ।
रिहाइको माग
बेपत्ता दुवैका लण्डनस्थित परिवारले उनीहरुको सकुशल रिहाइको माग गरेका छन् । उनीहरुले यस विषयमा बेलायतको प्रहरीमा पनि जानकारी गराएको बताएका छन् । तर, बेलायती अधिकारीहरुले यस विषयमा बुझिरहेको भन्दै अहिलेसम्म केही बताएका छैनन् ।
उनीहरुलाई काममा खटाएको मानवअधिकार संस्थाजीएनआरडीले कतारी प्रहरीले नै उनीहरुलाई नियन्त्रणमा लिएको दावी गर्दै तत्काल रिहा गर्न माग गरेको छ । यसक्रममा उनीहरुमाथि कुनै शारीरिक तथा मनोवैज्ञानिक यातना दिइए त्यसविरुद्ध जुनसुकै कानूनी बाटो समात्ने चेतानी पनि उसले दिएको छ ।
- See more at: http://www.onlinekhabar.com

No comments:
Write comments