top_rightads

Thursday, October 16, 2014

तनहुँमा दैवी शक्तिको चमत्कार

 

के दैवी शक्ति अस्तित्वमा छ त भन्ने प्रश्न गर्नेहरुको भीडमा तनहुँमा यस्तै घटना घटेको छ । तनहुँ जिल्लाको प्रसिद्ध ढोरबराही मन्दिरमा पानीको लहरी छुट्न छोडेपछि महायज्ञ लगाइएपछि पुनः पानीको लहरी छुट्न थालेको छ ।
रहस्यमय अदृश्य शक्तिका कारण पानीको लहरी चल्ने जनविश्वास रहेको यो तीर्थस्थलमा लहरी चल्न छोडेको अवस्थामा बराहपुराण लगाउनुपर्ने प्राचीन प्रचलनसँगै यही असोज ९ गतेबाट १६ गतेसम्म महायज्ञ सञ्चालन गरिएको हो । ३० वर्षको अन्तरालमा सो महायज्ञ लगाइएको छ ।
भौगोलिक रुपमा तनहुँको ढोरफिर्दी गाविस हालको शुक्ला गण्डकी नगरपालिकामा पर्ने ढोरबराह मन्दिर एउटा ठूलो पहराको खोचमा पृथ्वी राजमार्गको दुलेगौडाबाट करिब पाँच किमिको दूरीमा पश्चिम भागमा अवस्थित छ ।
पहराको खोचमा रहेको सानो वर्गाकार तलाउ र त्यसको मुख (मुहान)बाट प्रत्येक आधा आधा घण्टामा गडगड आवाजसहित पानीको मुस्लो (लहरी) आएर तलाउ भरिने र केही समयमा नै त्यो सुकेर जाने यहाँको महत्वपूर्ण विशेषता हो ।
बराह भगवान्को शक्तिका कारण रहस्यमय लहरी उत्पत्ति भएको जनविश्वासका आधारमा लहरी हेर्न र बराह भगवान्को दर्शन गर्न देश विदेशबाट समेत पर्यटक तथा दर्शनार्थीहरु यो मन्दिरमा आउने गर्दछन् ।
प्राचीन जनविश्वास एवम् धर्मग्रन्थहरुमा उल्लेख भएअनुसार लहरी छुट्न छोडेमा बराहपुराण लगाएमात्र त्यो पुनः सुचारु हुने भएका कारण लहरी छुट्न छोडेपछि बराहपुराण लगाउने गरिएको ढोरबराह पूजा व्यवस्थापन समितिका उपाध्यक्ष रामबहादुर महतले बताउनुभयो ।
यसअघि बन्द भएको लहरी छुटाउन १९७१ सालमा र २०४२ सालमा बराहपुराण लगाइएको र त्यसपछि रोकिएको लहरी चल्न थालेको उहाँले जानकारी गराउनुभयो ।
विसं २०६६ यता लहरी चल्ने क्रम विस्तारै कम हुँदै गएकामा हाल आएर लहरी चल्न बन्द भएपछि महायज्ञ आयोजना गर्नुपरेको महायज्ञ आयोजक समितिका अध्यक्ष इन्द्रप्रसाद भट्टराईको भनाइ छ ।
उहाँका अन्ुसार आध्यात्मिक शक्ति र लहरी पुनः जागरणको लक्ष्यका साथ आयोजित महायज्ञसँगै लहरी चल्ने स्थानमा पानीको बहाव बढेको छ ।
महायज्ञ आयोजक समितिका सहसचिव एवम् विन्दवासिनी संस्कृत विद्यापीठ पोखराका क्याम्पस प्रमुख अम्बिकाप्रसाद भट्टराईका अनुसार महायज्ञसँगै पानीको बहावमा वृद्धि भएकाले यस क्षेत्रका स्थानीयवासी एवम् दर्शनार्थीहरुमा  खुसियाली छाएको छ ।
उहाँले भन्नुभयो, “विसं १९७१ र २०४२ मा पनि महायज्ञ सञ्चालन गरिएको छ महिनाको अन्तरालमा लहरी पूर्णरुपमा छुटेका कारण ढोरबराही मन्दिरमा चाँडै नै लहरी पूर्णरुपमा चल्न थाल्ने विश्वास लिइएको छ ।”
भट्टराईका अनुसार लहरी पुनः सञ्चालन एवम् आध्यात्मिक जागरण महायज्ञमा सहभागी हुन दर्शनार्थीको चाप महायज्ञ अवधिभर नै उत्साहजनक रुपमा बढेको थियो ।
महायज्ञमा कथा वाचन डा भोलानारायण रेग्मीले गर्नुभएको थियो । रहस्यमय लहरीका साथै ढोरबराह मन्दिरमा आकलझुकलमात्र पूर्णरुपमा देखिने रजवाम यहाँको अर्को महत्वपूर्ण आकर्षण हो ।
निधारमा सुनजस्तै टल्केको टीका रहेको ठूलो आकारको यो वामलाई दर्शनार्थीहरु बराह भगवान्का रुपमा पूजा गर्दछन् । अधिकांश समय लहरी छुट्ने मुहानमा टाउको मात्र देखाएर बस्ने यो वाम कहिलेकाहीँमात्र तलाउमा निस्कने गर्दछ ।
रजवाम निस्कँदा दर्शन पाउने दर्शनार्थीहरु यसलाई सौभाग्यका रुपमा लिने गर्दछन् । उक्त अवसरमा दर्शनार्थीहरुले आफूले चिताएको कुरा माग्नेसमेत गर्ने गरेको पाइन्छ ।
अति प्राचीन तीर्थस्थलका रुपमा रहेको यस मन्दिरमा विसं १९७५ यता सरकारी स्तरबाट पुजारी राख्ने गरिएको पाइन्छ । त्यसपछि मन्दिरको संरक्षण एवम् पूजा व्यवस्थापन समिति गठन गरी त्यसैमार्फत सञ्चालन गरिँदै आएको पाइन्छ ।
घरमा वा समाजमा कुनै पनि समस्या पर्दा ढोरबराहलाई सम्झने जनविश्वास यस तीर्थस्थलको अर्को विशेषता हो ।
छब्दी उच्च मावि ढोरफिर्दी, तनहुँकी शिक्षिका शारदा भट्टराई ढोरबराह मन्दिरमा विभिन्न भाकल गरेर पूजा गर्नेको सङ्ख्या निकै रहेको बताउनुहुन्छ । पछिल्ला समयमा यहाँ छुट्ने रहस्यमय लहरीको चर्चा, तलाउमा रहेको रजवामको दर्शनका साथै यहाँको भौगोलिक बनावटसमेतले यो स्थल धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रुपमा विकसित बन्दै गएको उहाँको भनाइ छ ।

No comments:
Write comments