पर्दामा आफूलाई पत्याएका दर्शकले निर्माता बन्दा पनि पत्याउँछन् भन्ने वुझ्दा धेरै कलाकार चिप्लिएका छन् त कतिपयले राम्रै पैसा कमाएका पनि छन् । लामो समयदेखि फिल्म बनाएर राम्रै रकम कमाएका भूवन केसी 'साथी म तिम्रो'मा भने खासै सफल हुन सकेनन् । तरपनि भूवनलाई असफल निर्माता भन्न मिल्दैन ।
सफल निर्माताको सूचिमा अभिनेत्री रेखा थापा पनि पर्छिन् । चाहे छविराज ओझासँग मिलेर फिल्म बनाउँदा होस् या आफै एक्लै बनाउँदा, रेखाका सबै फिल्म चलेका छन् । संभवत सफल निर्माताको सूचिमा भूवन केसीपछि रेखाकै नाम आउँछ ।
स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठ पनि निर्माताको रुपमा सफल भएका कलाकार हुन् । उनले निर्माण गरेको पहिलो फिल्म 'कहाँ भेटिएला' सुपरहिट भयो । दोश्रो फिल्म 'कोहिनूर'को व्यापार त उनले हेर्न पाएनन् । तर, 'कोहिनुर'ले सबै व्यवसायिक रेकर्ड कायम गर्यो ।
निर्माताको रुपमा झरना थापा पनि सफल छिन् । उनले निर्माण गरेका अधिकांश फिल्म सफल छन् । पछिल्लो पटक उनले बनाएको 'फेसबुक' भने पूर्ण रुपमा असफल भयो ।
अभिनेता आर्यन सिग्देल पहिलो फिल्म बनाएरै सफल भए । 'नोभेम्बर रेन'को प्रस्तुतकर्ता बनेका आर्यनको फिल्मले दर्शक बटुल्यो । यहि फिल्मबाट उनलाई असफल हिरोको ट्यागले पनि छोड्यो ।
अभिनेता निखिल उप्रेतीले बनाएको 'सावधान' खासै चलेन । तर, 'हामी साथी भाइ' र 'निशानी'ले राम्रो व्यापार गर्दा निखिल निर्माताको रुपमा सफल नै देखिए । निखिलसँग मिलेर 'हामी तीन भाइ' बनाएर केहि पैसा कमाएका अभिनेता दिलिप रायमाझी 'मिस यू' फिल्म बनाएर डुबे ।
निर्माताको रुपमा केही कलाकार नमज्जाले डुबे । जसमा अभिनेत्री मौसमी मल्ल पर्छिन् । पहिलो फिल्म 'गिरफ्तार'ले सफलता पाएपनि उनले निर्माण गरेको दोस्रो फिल्म 'समय'ले हावा खायो । 'समय'को व्यापारसँगै मौसमी पनि अहिले फिल्म क्षेत्रबाट हराएजस्तै भएकी छिन् ।
अभिनेत्री करिश्मा मानन्धरलाई त निर्माता बन्दा ठूलो ठक्कर नै खानुपर्यो । उनले निर्माण गरेको फिल्म 'बाबुसाहेब'ले सबै कमाइ डुबाएपछि उनी ९ बर्ष अमेरिका बसिन् । उनले नै बनाएको 'ढुकढुकी'ले भने मध्यम व्यापार गरेको बताईन्छ । निर्माताको रुपमा असफल भएपछि करिश्मा फेरि लगानी गर्न डराइरहेकी छिन् ।
निर्माताकै रुपमा असफल भएकी अभिनेत्री हुन्, ऋचा घिमिरे । उनले बनाएका 'विरताको चिनो' र 'ब्रेक फेल' दुबै असफल भए । 'ब्रेक फेल'ले त उनलाई नमिठोसँग ब्रेक नै लगाइदियो । उनले नै बनाएको अर्को फिल्म 'तुलसी' नेपालमा रिलिज नै हुन सकेको छैन । यही फिल्मको रिलिजको सिलसिलामा घिमिरे दम्पती अमेरिका हानिएका फर्किएका छैनन् ।
कलाकार जेनी कुँवर पनि 'हलचल' र 'घायल' फिल्म बनाएर घायल भईन् । अभिनेत्री मेलिना मानन्धरले पनि 'ज्वालामुखी' बनाइन् । यो फिल्म सफल हुन नसकेपछि उनले फेरि लगानी गर्न सकेकी छैनन् ।
अभिनेताबाट निर्माता बनेका सुवास थापाले पनि 'बिर्खेलाई चिन्छस्'बाट खासै नाफा गर्न सकेनन् । अरुका फिल्ममा नचलेपछि सुवासले बनाएको यो फिल्मले न चर्चा पायो न पैसा ।
अभिनेता रेश मरहठ्ठाले निर्माण गरेको फिल्म 'च्यालेञ्ज' न सफल हुन सक्यो न असफल । किनकी यो फिल्म निर्माणको ४ बर्ष पुग्न लाग्दा पनि रिलिज हुन सकेको छैन । यस्तै अभिनेता रमित ढुंगानाले पहिलो फिल्म 'माया नमार'बाट सफलता पाए । पछिल्लो फिल्म 'बुद्ध बर्न इन नेपाल'को निर्माण कार्य भने सकिएको छैन ।
कलाकारहरु अरुको फिल्ममा आफू चल्दा लोभका कारण आफै लगानी गर्छन् । तर, सबै फिल्म उनीहरुले सोचेजस्तो हुन्छ भन्ने पनि छैन । कतिले जीवनभर कमाएको रकम गुमाएका छन् भने कोही स्थापित भएका छन् ।
No comments:
Write comments