Thursday, October 16, 2014
एकवर्षमा ४ सय ८८ जना नेपाली अमेरिकामा पक्राउ
अमेरिकी सरकारले गत बुधबार अर्थात् अक्टोबर १ मा सार्वजनिक गरेको तथ्यांक अनुशार गत वर्ष अर्थात् सन् २०१३ मा मात्रै अमेरिकामा ४ सय ४८ जना नेपालीहरु पक्राउ परे । पक्राउ पर्नेहरुमध्ये अधिकांश सीमा सुरक्षा बलले पक्राउ गरेकाहरु छन् भने कैयन नेपालीहरुलाई अमेरिका भित्रै छिरिसकेपछि विभिन्न अपराधका आधारमा पक्राउ गरिएको छ । नेपालीहरु यसरी अमेरिकामा पक्राउ परेको यो अहिलेसम्मकै ठूलो रेकर्ड हो । अर्थात् अहिलेसम्म यति धेरै नेपालीहरु अमेरिकामा पक्राउ परेका थिएनन् । अघिल्लो वर्ष सन् २०१२ मा जम्मा २ सय ४८ जना नेपालीहरु अमेरिकामा पक्राउ परेका थिए । सन् २०११ मा भने १ सय ८० जनामात्रै नेपालीहरु अमेरिकामा पक्राउ परेका थिए । सन् २०१० मा अमेरिकामा पक्राउ पर्ने नेपालीहरुको संख्या ह्वात्तै बढेका थिए । यो वर्ष २ सय ३० जना नेपालीहरु अमेरिकामा पक्राउ परेका थिए । सन् २००९ मा १ सय ४८ जना नेपालीहरु अमेरिकामा पक्राउ परेका थिए । त्यस्तै सन् २००८ मा १ सय २ जना नेपालीहरु अमेरिकामा पक्राउ परेका थिए । यसअगाडि भने अमेरिकामा पक्राउ पर्ने नेपालीहरुको संख्या अत्यन्तै कम रहेको थियो । सन् २००८ सम्म नेपालीहरुलाई इक्वेडर आउन पनि त्यती सहज थिएन । तर सन् २००८ मा इक्वेडरले सबैलाई विमानस्थलमा नै ९० दिनको पर्यटकभिसा दिन थालेपछि इक्वेडरको बाटो हुँदै अमेरिका छिर्ने नेपालीहरुको संख्या बढेकाले अमेरिकाको सिमाक्षेत्रमा पक्राउ पर्ने नेपालीहरुको संख्या पनि बढेको हो । इक्वेडरको नयाँ नीतिका कारण नेपाली मानव तस्करहरुलाई सहज हुन गएको हो भने नेपालबाट अमेरिकामा मानव तस्करी पनि यसैवर्षदेखि गुणात्मक रुपमा बृद्धि भएको हो । सन् २००७ मा त जम्मा ४४ जना नेपालीहरु अमेरिकामा पक्राउ परेका थिए । ति मध्ये केही अमेरिकाभित्र अपराध लगायतका विभिन्न कारणले पक्राउ परेका थिए भने केहीलाई सीमा सुरक्षा बलले पक्राउ गरेको थियो । सन् २००६ मा ४८ जना नेपालीहरु अमेरिकामा पक्राउ परेका थिए । त्यस्तै सन् २००५ मा अमेरिकामा पक्राउ पर्ने नेपालीहरुको संख्या ३३ रहेको थियो । सन् २००४ मा भने ६० जना नेपालीहरु अमेरिकामा पक्राउ परेका थिए । अमेरिकाको अध्यागमन र सीमा सुरक्षा बलले सबैभन्दा धेरैलाई पक्राउ गर्दै आएको छ । अमेरिकाको सीमा क्षेत्रको रक्षा र अमेरिका छिर्ने स्थल, हवाई तथा सामुन्द्रिक नाकाहरुमा यो बल कार्यरत रहदै आएको छ । अमेरिकाको मेक्सिको र क्यानडासँग सिमा जोडिएको झण्डै ७ हजार माइलको क्षेत्रमा र समुन्द्रको २६ सय माइलको सिमा क्षेत्रमा अमेरिकी सिमा सुरक्षा गस्ती तैनाथ रहेको छ । त्यो बाहेक अमेरिकाको अध्यागमन कार्यान्वयन इकाईले तस्करी , अपराध लगायतका गतिविधिमा संलग्नहरुको निगरानी र पक्राउ गर्दै आएको छ । अमेरिकामा पक्राउ परेका नेपालीहरुमध्ये कैयनलाई यही इकाईले पक्राउ गरेको छ । उनीहरु गलत तरिकाले अमेरिकी नागरिकता लिन खोजेको, मानव तस्करीमा संलग्न भएको, लागुऔषधमा संलग्न रहेको, गाडी चलाउने क्रममा कसैलाई ठक्कर दिएर भागेको, आक्रमण गरेको, डकैती गरेको, हातहतियार सम्बन्धि अपराधमा संलग्न भएको, यौन दुब्र्यबहार गरेको र किर्ते काममा संलग्न भएको अभियोगमा पक्राउ परेका हुन् ।
No comments:
Write comments