एक महिला सुन्धारा, वायुसेवा निगमको बाटो हुँदै वीर अस्पतालदेखि भोटाहिटीसम्म ग्राहकको खोजी गर्दै हिँडेको देखिन्थिन्। पहाडी मूलकी, कपाल थाई कट् काटेकी करिब साढे पाँच फिट अग्ली महिला प्राय: कुर्ता सुरुवालमा भेटिन्थिन्। उनलाई देख्दाको दृश्य पंक्तिकारलाई निकै मर्मस्पर्शी लाग्यो। उनको चोर औंला समाएर हिँडिरहेको हुन्थ्यो, उनको छोरा।
उनी जब ग्राहकसँग मोलमोलाइ गर्न थाल्थिन्, तब छोरालाई उनी केही पर दूरीमा खेल्न पठाउँथिन्। ती निर्दोष छोरालाई के थाहा, आफ्नी आमाको पेसा र बाध्यताबारे। तर, आफू जस्तोसुकै पेसामा रहे पनि उनको मातृवात्सल्य अनुकरणीय थियो। अहिले केही वर्षयतादेखि ती महिला पहिले उनी घुमफिर गर्ने क्षेत्रमा देखा पर्न छाडेकी छन्।
वीर अस्पतालअगाडिको आकासे पुलमा पहिलोपटक मैले साक्षात्कार गरेको यौनकर्मी महिला पनि आफ्नी सानी छोरी लिएर ग्राहकको खोजीमा निस्केको पटकपटक देखियो। भर्खरै टुकुटुकु हिँड्ने छोरी थिइन्, उनको साथमा। ती छोरीको खुट्टामा चाइँचाइँ चुइँचुइँ आवाज आउने जुत्ता थियो।
रत्नपार्कभित्र केन्द्रित
पहिले वीर अस्पतालअगाडि र सुन्धारा यौनकर्मी महिलाहरूको अखडा थियो। पछि दुवै ठाउँबाट उनीहरूलाई धपाइयो। त्यसपछि उनीहरू रत्नपार्कभित्र केन्द्रित भए।
वीर अस्पतालअगाडि वा सुन्धारामा ग्राहकको खोजीमा निस्केका यौनकर्मी महिलाहरू प्रशस्तै भए पनि रत्नपार्कभित्रको परिसरमा पनि यौनकर्मी महिला भेटिन्थे। वीर अस्पतालअगाडि र सुन्धाराबाट धपाइएपछि सबै रत्नपार्कभित्र केन्द्रित भए।
विगत एक महिनादेखि रत्नपार्क सबैका लागि बन्द गरिएको छ। रत्नपार्क पुनर्निर्माण हँदैछ। त्यसैले अहिले खुलामञ्चको दक्षिणपश्चिम गेटदेखि भोटाहिटी जाने सब वेसम्मको क्षेत्र यौनकर्मीहरूले ग्राहक कुर्ने वा यौनकर्मी पाइने क्षेत्र बनेको छ। खासगरी दिउँसो ३ बजेदेखि उनीहरूको बाक्लो जमघट हुन्छ। कतिपय यौनकर्मी खोज्दै जाने भेटिन्छन् भने कतिपय रमिता हेर्न जाने।
No comments:
Write comments