कवि उपेन्द्र सुब्बाको चर्चा कवितामा हुन्छ, त्यति नै उनको गेटअपको ।
पूर्वेली लबजका बोल्ने उनी मिडियामा घुलमिल हुन खासै रूचाउँदैनन् । औपचारिक
कार्यक्रममा बोल्न नरूचाउने भएपनि उनका बोलीहरूमा मिठास र भाषामा गहनता
पाइन्छ । आफु कमजोर जस्तो लागेर कपाल ड्रेडलक गरेका उनलाई कतिले बाबा भनेर
गाँजासमेत मागेका रहेछन्, तर अहिले उनले कपाल ठुटै बनाएका छन् । कवि
चन्द्रबिर तुम्बापो पनि लामो कपाललाई चुल्ठो बाटेर हिँड्छन् । खुलस्त
स्वभावका उनी भगवानप्रति खासै आस्था नभए पनि प्रेसर र तनाव नियन्त्रण गर्न
रूद्राक्षको माला लगाउँछन् । यो उनको अरू भन्दा फरक देखिने तरिका पनि हो ।
मान्छेको आ–आफ्नै परिचय हुन्छ, सोख हुन्छ अनि शैली पनि । कोही फरक देखिन
रूचाउँछन् त कोही चिनिन रूचाउँदैनन् । केही आफुलाई चर्चामा ल्याउन विभिन्न
हर्कत गर्छन् त केही मिडियाले देख्ला की भनेर तर्कन्छन् ।
रंगकर्मी सुनिल पोखरेल फरासिलो र सहयोगी स्वभावका छन् । उमेरको हिसाबले
बुढ्यौली लागेका भए पनि उनी किशोर जस्तै व्यवहार गर्छन् । लामो कपाल र
तान्त्रिक माला लगाउने उनी भगवानमा खासै रूचि राख्दैनन् । रंगकर्मी अशेष
मल्ल सञ्चार माध्यममा खासै रूचि राख्दैनन् । सर्वनामका नाट्यकर्मीहरू
मिलनसार, हँसिला र सहयोगी व्यवहारका छन् । पत्रकार अश्विनी कोइराला
हाइप्रोफाईलमा बस्न नरूचाउने व्यक्ति हुन् । कार्यक्रमहरुमा खासै सहभागी
नहुने उनी खाली समय पायो कि विपश्यना दौडन्छन् । पत्रकार तथा फिल्म समिक्षक
यज्ञश कपालविनाको खाली टाउको लिएर हिँड्छन्, कपालमाथि ह्याट भने छोड्दैनन्
। रंगकर्मी विजय विष्फोट देउजा १८ बर्षदेखि खाली टाउकोमै रमाइरहेका छन् ।
लेखक कुमार नगरकोटी पनि खाली टाउको लिएरै सडकमा कथा खोज्छन् । कहिले
डरलाग्दो भिलेन जस्तो देखिने नगरकोटी कहिले साधारण देखिन्छन् । लेखक अमर
न्यौपाने अत्यन्तै मिजासिला भएपनि भेटघाटमा कम रूचि राख्छन् । लेखक
बुद्धिसागर धेरै बोल्नेको कोटीमा पर्छन् । सुबिन भट्टराईका अनुसार बोल्न
थालेपछि उनलाई ९० प्रतिशत समय छुट्याउनुपर्छ । उनै भट्टराई अरू लेखक भन्दा
अलि फरक खालका छन् । पाठक, पत्रकार सबैलाई समान व्यवहार गर्ने उनी स्पष्ट
कुरा गर्छन् ।
संगीतकार बच्चु कैलाश पत्रकारसँग भेट्न नरूचाउने व्यक्ति हुन् । लेखक सौरभ
आफ्नै दुनियाँमा हराउँछन् । साहित्यकार अभि सुबेदीको टाउकाको अग्रभाग
चिल्लो भएपनि पछाडिको भागमा भने कपास जस्तो सेतो कपाल पाल्छन् । प्रायः
पोखरामै रमाउने साहित्यकार सरूभक्तको टाउकोको अग्रभाग खुइलिए पनि पछाडी भने
लामो कपाल पाल्थे, प्रज्ञा प्रतिष्ठान आएदेखि उनको गेटअप फेरिएको छ ।
संगीतकार आभाष पनि चर्चा मन नपराउने मान्छे हुन् । नेपथ्य ब्याण्डका अमृत
गुरूङलाई साथीभाईले अजबको मान्छन् । किनकी उनी मोबाइल बोक्दैनन्, राम्रा
फोटोग्राफर उनी पनि चर्चामा आउन खासै चाहदैनन् ।
सिने नगरीमा राजेश हमालको चर्चा जति गरे पनि पुग्दैन तर उनी चर्चामा आउन
खोज्ने व्यक्ति भने होइनन् । २५ वर्ष लामो अभिनय यात्रामा उनको नाम कमै
महिलाहरूसँग जोडियो । पुस्तक प्रेमी उनी सबका प्रिय बने, तर विहे पश्चात
अलि सस्तो देखिन थालेको पनि आलोचना सुनिन्छ । अभिनेता दयाहाङ राई आफ्नो
गेटअपप्रति खासै ध्यान दिँदैनन् । ठूलो भुँडी र होचो कदका उनी चर्चामा आउन
खोज्ने व्यक्ति भने होइनन् । अर्का अभिनेता सौगात मल्ल मिडिया देख्यो कि
सुईंकुच्चा ठोक्ने खालका छन् । फरक–फरक चरित्र गर्न रूचाउने यी अभिनेता
क्यामरा अगाडि देखिन चाहदैनन् । साहित्यकार युग पाठक फरासिला व्यक्ति हुन् ।
लामो कपाल पाल्नु सोख भएकाले उनलाई कति ठाउँमा फिल्मको हिरो भनेको पनि
सुनिन्छ । कलाकार अर्पण थापा आफुलाई चिटिक्क देखाउन रूचाउँदैनन् । ख्याउटे
अर्पणलाई बाटोमा आफ्नै पारामा हिँडेको भेट्न पाईन्छ ।
चलचित्र निर्देशक तथा रंगकर्मी मिन बहादुर भाम पनि चर्चा रूचाउने व्यक्ति
होइनन् । मिडियामा खासै नदेखिने उनी आफुलाई मिडियासँग कुरा गर्न नजान्ने
भन्छन् । ग्ल्यामर क्षेत्र र चलचित्रमा प्रायः चर्चामा आउन विभिन्न हर्कत
गर्नेहरू भेटिन्छन् । तर नायिका गरिमा पन्त यसमा भने अपवाद देखिन्छिन् ।
आफ्नै सुरले फिल्म खेलिरहने झोला नायिकालाई चर्चामा आउनुमा सोख नभएको
बताउँछिन् ।
केही यस्ता व्यक्तिहरू पनि छन्, जो चर्चाको लागि समय–समयमा विभिन्न किसिमका
चर्तिकला गरिरहन्छन् । एटिएमबाट चर्चामा आएकी नायिका जिया के.सी, निर्देशक
राजु गिरी, शोभित बस्नेत, रेखा थापा, सुमिना घिमिरे, भुवन के.सी बेला
बेलामा विभिन्न कारणले चर्चामा आईरहन मन पराउनेको कोटीमा पर्छन् । केही
यस्ता व्यक्ति पनि छन् जो विभिन्न कोणबाट चर्चित रहन्छन् । नायिका प्रियंका
कार्कीको ड्रेससेन्स र उनको अनुहारको चर्चा, नायिकाहरु केकी अधिकारी,
नम्रता श्रेष्ठ, निशा अधिकारी, नायक राजेश हमाल, नायक तथा निर्माता नवल
खड्का पनि विभिन्न किसिमले मिडियामा छाईरहने पात्रहरु हुन् ।
No comments:
Write comments