दाङ : एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले लात खान बानी परेका कांग्रेस र एमालेले बात नमानेको बताएका छन्।
प्रचण्ड नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा बस्न कांग्रेस-एमालेले नमानेपछि करिब एक साता लामो रोल्पा बसाइका लागि आएका प्रचण्डले दाङमा संचारकर्मीसँग भने, 'लात खाने बानी परेका कांग्रेस र एमालेले बात मानेनन्। अब हामीले लात उठाएका मात्र छौं । हानिहालेका छैनौं । आवश्यक परे लात हान्न पनि पछि पर्ने छैनौं।'
अध्यक्ष प्रचण्डले भने, 'धनगढीमा यही कार्तिक २९ गते जनसभा छ । म रोल्पाबाट धनगढी पुग्दासम्म पनि कांग्रेस र एमालेले आफ्नो हठ नत्यागेमा आमहडतालसम्मको आन्दोलनको घोषणा हुनेछ । अध्यक्ष प्रचण्डले त्यो आमहडतालसहितको आन्दोलन २२ दलीय मोर्चा, पद्मरत्न नेतृत्वको मोर्चा तथा विभिन्न जातीय तथा क्षेत्रीय मोर्चा तथा मोहन वैद्य नेतृत्वको माओवादीको संयुक्त आव्हानमा हुने बताए।
हाम्रोतर्फबाट वार्ता तथा सम्वाद रोकिएको छैन, अध्यक्ष प्रचण्डले भने, अझै पनि हामी वार्ता र संवादका लागि तयार छौं, एक प्रश्नको उत्तरमा अध्यक्ष प्रचण्डले थपे, कांग्रेस र एमालेले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अस्वीकार गर्नु राजनीतिक बेइमानी हो ।
अध्यक्ष प्रचण्डले शान्ति सम्झौताका दुई पक्ष नभएर संविधान बन्दैन । कांग्रेस र एमालेको हठ कायमै रहेमा देश जुरु क्कै उठ्ने छ । बलजफ्ती र एकतर्फीरुपमा बहुमतीय प्रक्रियामा जान खोजे वा संविधान ल्याए त्यो अस्वीकार्य हुनेछ । अध्यक्ष प्रचण्डले प्राविधिकरुपमा संविधानसभामा कांग्रेस र एमालेहरुको बहुमत भए पनि सबै मोर्चाहरु मिलाउँदा जनमत आफूहरुको पक्षमा भएको पनि दावी गरे ।
राजनीतिक नेतृत्वबीच वार्ता र सम्वादको प्रक्रिया अवरुद्ध भएपछि एकसाता लामो बसाइका लागि रोल्पा प्रस्थान गरेका प्रचण्डको यो यात्रालाई अर्थपूर्णरुपमा हेरिएको छ । उनले यो यात्राबारे भने, यतिबेला आधार इलाकामा बस्न मन लाग्यो । एकपटक आफू बसेको बङ्करभित्र पस्न मन लाग्यो । उनले थपे, जनयुद्धको उठान, शान्तिप्रक्रिया र यहाँसम्मको प्रक्रियालाई त्यत्तिकै छोडौं कि अगाडि बढौं भनेर जनतासँग सोध्न मन लाग्यो ।
अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेजस्ता बुर्जुवाहरु लाई अलि बढी विश्वास गरेकोमा पछुतो मान्दै भने, कांग्रेस र एमालेले ल्याएको राज्यपुनर्संरचनाको प्रस्ताव विस्तृत शान्तिसम्झौताको विपरीत छ । उनले थपे, संघीयता पहिचान हो ।
कांग्रेस र एमालेले पहिचान झिकेर भौगोलिक विभाजनमात्र गरे । यसले शासकलाई सजिलो होला तर उत्पीडित जनतालाई मुक्ति दिँदैन । प्रदेशको संख्या पनि महत्वपूर्ण भएको तर आफूहरुले चाहिँ पहिचान नहुँदा विरोध गरेको उनले बताए । अब राजनीतिले नयाँ मोड लिएको बताउँदै प्रचण्डले कांग्रेस र एमालेले २०४८ सालकै संविधान ल्याउन खोजेको आरोप पनि लगाए
उनले थपे, 'विस्तृत शान्तिसम्झौतादेखि हालसम्मका सम्झौताहरुलाई नमान्नु राजनीतिक बेइमानी हो। अन्तरिम संविधानमा नै स्वायत्त प्रदेशहरु हुनेछन् भनेर लेख्ने तर स्वायœाता नदिने हो भने उनीहरुलाई सत्ता चलाउने अधिकार पनि छैन ।
कांग्रेस र एमालेले केहीलाई हिन्दू धर्मको र केहीलाई राजतन्त्रको नारा लगाउन लगाएर हिन्दू राजतन्त्रसहितको संविधान ल्याउन खोजेको आरोप लगाए । उनले थपे, तर कांग्रेस र एमालेमा भित्रभित्रै आगो लागिसकेको छ। यसमा उनीहरु सफल हुनेछैनन् ।
अध्यक्ष प्रचण्डले सदरमुकाम घोराहीस्थित नगरपालिका सभाकक्षमा कार्यकर्ताहरुलाई सम्बोधन पनि गरेका थिए । संक्षिप्त पत्रकार भेटघाटलगत्तै अध्यक्ष प्रचण्ड, महासचिव कृष्णबहादुर महरा लगायतको टोली बेलुकी नै होलेरीका लागि प्रस्थान गरेको छ ।
http://annapurnapost.com/News.aspx/story/2193#sthash.FoIopU0f.7pklVQgl.dpuf
No comments:
Write comments