top_rightads

Tuesday, December 9, 2014

भो प्रीय स्कुटी नचलाउ ! - प्रकाश लामिछाने

 

 बिहान आठ नबज्दै हामी दुवैजनालाई कामधन्दामा निस्किने चटारो हुन्छ । नहोस् पनि कसरी ! काम गर्नकै लागि थातथलो छोडेर यो राजधानी नगरीको अस्थायी बासिन्दा भईएकोछ तमाम झमेला र किचलो सहँदै । कैले घरबेटीको किचलो, कहिले सार्वजनिक सवारी साधनको झमेला, कहिले लोडसेडिङको त कहिले खानेपानीको । त्यसमाथि दुईजनाले नै काम नगर्ने हो भने खर्च धान्न पनि धौधौ हुन्छ ।

काम त जसोतसो दुवैजनाले पाईएको छ तर सानी छोरी समेत छे । उसलाई खुवाईपियाई गरेर स्कुल पठाएर मात्रै आफू काममा जानुपर्ने बाध्यताले अँझै चटारो हुन्छ बिहानीपख ।Accidentआज पनि मैले उनलाई भनेँ-छिटो गर न हौ ! हतार भैसक्यो, मलाई बबरमहल छोडेर तिमी नौ बजे नै बालुवाटार पुग्नुपर्छ भन्ने बिर्स्यौ?

उनले भनिन्-साँच्चै भन्ने हो भने आज मलाई स्कुटी चलाएर काममा जाने मन नै छैन ।

लौ ! किन नि?-मैले सोधेँ ।

‘दिनहुँजसो भईरहेको सवारी दुर्घटना, त्यसमा पनि यो भिडभाडको शहरमा फुकाएर छाडिएका चैते बहरझैँ कुद्ने ट्रक, टिप्पर र बसको चेपुवामा कुन दिन म र यो स्कुटी दुबै पर्छौँ कि भन्ने डरले’-उनले भनिन् ।

मन झसंग भएपनि मैले उनलाई नै हकारेँ-‘ह्याऽऽऽ हावा कुरा नगर। केही हुँदैन । हजारौँ सवारीसाधन गुड्ने यो शहरमा भएका एकाध अपवादका दुर्घटनालाई लिएर धारणा बनाउनु राम्रो हैन।’

कान्तिले स्कुटर स्टार्ट गरिन् । म टुसुक्क पछि बसेँ । स्कुटर बबरमहलस्थित धोवीखोला किनार हुँदै बिजुलीबजार पुलतिर हुँईकियो । म पुल्चोक जाने टेप्पो चढ्न त्यहिँ ओर्लिएँ । कान्ति चाहीँ बाटो काट्न अघि बढिन् । तर पुच्छर ठड्याएर दकुरेको साँढेझैँ नयाँबानेश्वरबाट बिजुलीबजार हुँदै अघि बढेका सवारी साधनले त्यहाँ रोक्ने मेसो पाएनन् या जरुरी ठानेनन् । उनी त्यहाँ पाँचसात मिनेट जति रोकिईन् । मैले बाटो छेउ उभिएर हेरिरहेँ । बल्लतल्ल उनले बाटो काटिन् । म पनि पुल्चोकको टेम्पो समातेर अघि बढेँ ।

गएको आईतवार र सोमवार (मंसीर २१ र २२ गते) मात्रै काठमाण्डौको सडकमा दुईवटा सडक दुर्घटनामा परि दुईजना महिलाले ज्यान गुमाए । मंसीर २१ गते आईतवार साँझ साढे छ बजेतिरको समय हुँदो हो, आँखै अगाडि बबरमहलमा भएको सवारी दुर्घटनामा परि एकजना युवतीको ज्यान गयो । धुलिखेलतिर जाँदै गरेको मिनिबसले ति युवती चढेको स्कुटरलाई ठेलेर केहीपरसम्म पुर्‍याउँदै किचेको थियो । दुर्घटनामा परी ज्यान गुमाउने स्कुटर चालक २१ की युवती शान्ता हमाल रहिछन् भन्ने कुरा पछि समाचार सुनेर थाहा भयो ।

त्यस्तै मंसीर २२ गते सोमवार राजधानीकै तीनकुनेमा ट्रकले स्कूटीलाइ ठक्कर दिएर किच्दा त्यसमा सवार रहेकी एक जना युवतीको ज्यान गयो । दुर्घटनामा ज्यान गुमाउने युवतीको नाम भने मैले थाहा पाउन सकिन । यस अघि गत चैतमा चर्चित गायिका मञ्जु महतको पनि यसैगरी स्कुटरमा सामाखुसीबाट जमलतर्फ आउँदै गर्दा गल्कोपाखामा माइक्रो बसले किचेर मृत्यु भएको थियो । त्यस भन्दा अघि गत बर्षको मंसीरताका नै स्कुटर दुर्घटनाकै कारण महाराजगञ्जमा २८ वर्षीया सविना कार्कीले पनि ज्यान गुमाउनुपर्‍यो ।

यी त केही दृष्टान्तहरु मात्रै हुन् राजधानीको सडकमा भएका सवारी दुर्घटनाहरु र त्यसमा ज्यान गुमाउने महिलाहरुका । पछिल्लो समयमा दशैँ यता मात्रै देशका विभिन्न ठाउँहरुमा भएका सवारी दुर्घटनाहरुमा परि ५ सय भन्दा धेरै को ज्यान गईसकेको छ । पछिल्लो दुई सातामा मात्रै गृहजिल्ला सुर्खेत र आसपासमा गरी ७० जनाको पनि यसैगरी सवारी दुर्घटनामा परि ज्यान गएको छ । मैले यहाँ उठाउन खोजेको सन्दर्भ ठुला सवारी साधनहरु नै दुर्घटनामा परेको बारे हैन । हुन त यस बारेमा झन् धेरै बहस हुन र यी बहसहरुलाई राज्य तथा जिम्मेवार पक्षले गहन रुपमा बिष्लेषण गरी यथाशक्य दुर्घटना रोक्ने पहल थाल्न जरुरी मात्रै हैन कि ढिलाई नै भईसकेको छ ।

म पुरानै प्रसंगमा फर्किन चाहन्छु, यसरी राजधानीमा एकपछि अर्को रुपमा ठुला सवारी साधनको निसानामा स्कुटीहरु किन परिरहेका छन् त ! ट्राफिक प्रहरी महासाखाको तथ्याङ्क भन्छ-राजधानीमा हुने सवारी दुर्घटनाहरु मध्ये ८० प्रतिशत दुर्घटना, ठुला सवारीसाधन तथा सार्वजनिक यातायातका साधनकै कारण हुने स्कुटर या मोटरसाईकल दुर्घटनाका नै छन् ।

गतवर्ष असोजमा कान्तिले मसंग स्कुटर किन्ने प्रस्ताव ल्याएकी थिईन् । ‘कि तिमी मोटरसाईकल किन, हैन भने म स्कुटी किन्छु।’ उनको प्रस्ताव सुनेपछि मैले भनेँ-‘मलाई काठमाण्डुमा मोटरसाईकल चलाउने हिम्मत छैन हेर, आफ्नो सवारी साधन नै चढ्ने त्यस्तो रहर छ भने बरु तिमी नै स्कुटर किन । मैले पनि कहिलेकाहीँ लिफ्ट पाईहाल्छु होला के रे !’

मेरो उत्तर नसकिँदै उनले उत्तर दिईन्-‘माईक्रो बस र नेपाल यातायात चढ्दा वाक्कै भएको छु म । तिमी केटाहरुलाई पो के छ र ! ठेलमठेल हुँदै चढ्यो, कोचाकोचमै बस्यो । हामीलाई कम् छ ! त्यही कोचाकोचमै गोमन साँप झैँ हात सल्बलाउन खोज्नेहरु कति हुन्छन् कति ।’

हुन पनि हो, युवती देखेपछि हुँदो नहुँदो हर्कत गर्ने कतिलाई त मैले नै हकारेको छु सार्वजनिक यातायातमा । ढेस्सिएर बस्न खोज्ने, कुहिनोले घचेट्ने, महिला आरक्षण सिट लेखेको देखिदेखी त्यहीँ गजधुम्म परेर बसिदिने मात्रै हैन अश्लिल र द्विअर्थी शब्द बोलेर दुर्व्यवहार गर्ने जस्ता कृयाकलापको शिकार आफै समेत भएपछि उनले ऋण नै काढेर भएपनि स्कुटर किन्ने निर्णय लिएकी थिईन् । तर यसरी सार्वजनिक यातायातमा भएको दुर्व्यवहारबाट बच्न स्कुटर किनेपनि सुख त कहाँ छ र ! छेवैमा युवतीले रातो, सेतो, कालो, पहेँलो, बैजनी जस्ता ‘कलरफूल’ स्कुटर हाँक्दै गरेको देखेपछि सार्वजनिक सवारी साधनका चालक तथा सहचालकहरुमा के भूत सवार हुन्छ कुन्नी ! उनीहरु सिट्ठी फुक्ने, ‘ओ मैँया! बाटो तिम्रो मात्रै कि हाम्रो पनि !’ भन्ने, र मौका परे होडबाजी गरेको निहुँमा कच्याक्कुचुक् पारेर हिँड्न पनि पछि पर्दैनन् । सायद यिनै कारणले पनि पछिल्ला दिनहरुमा स्कुटरहरु बढीजसो दुर्घटनाका सिकार बनेका छन् ।

स्कुटर दुर्घटनाका कारण महिलाहरुले ज्यान गुमाउने गरेको सन्दर्भलाई जोड्दै मैले एउटा ट्विट पनि गरेको थिएँ-‘केही समय यता काठमाडौंमा भएका दुर्घटनामा अधिकांश स्कुटी किचिएका छन् र त्यसमा महिला नै परेका छन्। संयोग हो कि हेप्न खोज्दा दुर्घटना भको हो?‘ भनेर । यसमा केही साथीहरुका प्रतिकृयाहरु पनि यसरी पाएँ । गौरव पोखरेलले यसलाई संयोगमात्रैको रुपमा लिन सकिन्न कि भनेर आशंका ब्यक्त गर्नुभयो । त्यस्तै लोकदोहोरी गायिका मुना थापामगरले यसलाई हेपाहा प्रवृत्तिका रुपमा लिनुभयो । दुर्गा शाहीले भने स्कुटी र महिलालाई मात्र होईन दुईपाङ्ग्रे सवारीलाई समेत ड्राईभरहरुले देख्न छोडिसकेको तर्क गर्नुभयो । साथै उहाँ सरकारलाई ‘चीर निन्द्रामा रहेको’ भनेर ब्यङ्ग्य समेत गर्नुहुन्छ ।

सन्तोष पुडासैनी, बिरोचन पराजुली र महेन्द्र भुषाल भने अली फरक तर्क गर्नुहुन्छ । उहाँहरुको भनाई अनुसार दुई पाँग्रे सवारी चालकले पनि सडकमा आफ्नो सवारी साधन चलाउँदा खाली ठाउँ भेट्यो कि छिराईहाल्नु भएन । त्यसैगरी घरमै बसीबसी सवारी चालक अनुमति पत्र लिने प्रवृत्ति र सिकाईको कमीका कारण पनि यस्ता दुर्घटना भएका छन् भने दुवै पक्षले ट्राफिक नियमको वेवास्ता समेत गर्ने मात्रै हैन कि अधिकाँश ट्राफिक नियमकै बारेमा समेत बेखबर छन् ।

समग्रमा ट्विटरमा भएको यो बहसले सवारी दुर्घटना हुनुमा प्रवृत्तिलाई त दोषी देखाएको छ नै, साथसाथै नितिगत रुपमा समेत हाम्रो कमजोरी देखाएको छ । दुईपाँग्रे सवारीसाधनको लाईसेन्स किनबेचको कुरा हामीकहाँ बर्षौँ अघिदेखि चलेको हो र यो कुराको अहिले पनि उत्तिकै चर्चा हुनेगर्छ । काठमाण्डौँमा केही कम भएपनि जिल्लाहरुमा अँझैपनि स्कुटी या मोटरसाईकल नसिकेरै या भनौँ ट्रायल नदिएरै लाईसेन्स लिनेहरु हजारौँ छन् ।

जे होस्, एकले अर्काको कमजोरी देखाए पनि समग्रमा परिणाम एकातिर ‘आफ्नो आङ कन्याएर आफै छारो उडाउने’ जस्तै भएको छ भने अर्कोतिर बर्षेनी कैयौँले यसरी दुर्घटनाका कारण ज्यान गुमाउने या अपाङ्ग हुनुपर्ने अवस्था छ । आमनागरिकका हैसियतले यसको अन्त्य हुनका निम्ति आफै सचेत हुनुका साथै नितिगत सुधारका निम्ति सकारात्मक दवाव दिन पनि जरुरी छ भन्ने लेख्नुबाहेक मसंग अर्को विकल्प केहि छैन । छ त केवल उनलाई भन्ने एक वाक्य-‘भो प्रीय स्कुटी नचलाउ !’

No comments:
Write comments