top_rightads

Saturday, December 6, 2014

’कथाकी पात्र’’ लेखक रामप्रसाद ढुंगेललाई इजरायलवासी नेपाली आमाहरूको प्रश्न

 

शुभद्रा भण्डारी , इजरायलsony
लेखक, पत्रकार या साहित्यकार जो कसैलाई पनि आफूले अभिव्यक्त गरेका भावनाहरुवाट सामाजिक विखलन ल्याउने खालका, कसैको आत्मसम्मानमा चोट पुर्याउने शैलिका  आलेखहरु लेख्ने छुट  हुदैन । शव्द-शव्दमा  अर्थ खोज्नु जरूरी हुन्छ, कुनै शव्दलेअरूलाई पिडा हुन्छ की भनेर ?  राम प्रसाद ढुंगेल द्वारा ‘द नेपाली भ्वाईस डट कम’ अनलाईन पत्रिकामा प्रकाशित “कथाकी पात्र’’ नामक आलेखवाट तमाम इजरायलवासी नेपाली नारीहरूमाथि आघात पुगेको छ । लेखक  महोदय, तपाई पनि पत्रकार नै पर्नुभएछ, तपाईले  उक्त आलेखमा  इजरायलमा रहेकी कथाकी  महिला पात्रलाई  असहज प्रश्न सोधेर नेपाली नारी अस्मितामाथि  निलो आकाशमा  तुवालो फैलाए झै,   अव तपाईमाथि  पनि इजरायलवासी नेपालीहरूको प्रश्न तेर्सिएको छ ?  वन्द कोठामा वसेर गरिएका नितान्त निजी कुराहरूलाई लिएर  तमाम इजरायलवासी नेपाली नारीहरूको इज्जतमा धज्जी उडाउन खोजिएको उक्त आलेखवाट  रूष्ट भएका छन्  इजरायलवासी नेपाली आमाहरू ।  उक्त  लेखको पहिलो  लाईनमा नै  नेपाली आमाहरूलाई अपमान गरिएको छ ।  नेपाली आमाहरू जती हिम्मतवाला र साहसी आमाहरू सायद अन्य मुलुकमा कमै होलान् भन्दा अतिशयूक्ती नहोला । आलेखको  पहिलो लाईनमै  नानीहरूको मातृत्व र इजरायलको भूत जस्ता  शव्दहरूले  लेखकप्रति नै  प्रश्नवाचक चिन्ह्र तेर्सिएको छ ?   न कहिल्यै आमा हुन सक्ने,  न कहिल्यै आमाको महशुस गर्न सक्ने पुरूष मित्रको यस लेखाईप्रति तमाम आमाहरूको प्रतिप्रश्न रहनु स्वभाविक हो, तसर्थ   तमाम इजरायलवासी नारीहरूको  उक्त आलेखप्रति घोर आपत्ती रहेको छ । देशको राजनितिक,  सामाजिक र आर्थिक परिस्थितीको कारण दिनानुदिन नेपाली युवाशक्ति वैदेशिक रोजगारीमा होमिएको कुरालाई नकार्न सकिदैन । पछिल्लो समयमा  पुरूषहरू  झै नेपाली महिलाहरू पनि वैदेशिक रोजगारीमा होमिएका छन्, अझ भन्नु पर्दा नेपालको सामाजिक परिवेशमा सिंचित भएर रहेको महिला जनशक्ति आर्थिकोपार्जनका निमित्त वैदेशिक रोजगारी सुनौलो अवसर पनि वन्दै गइरहेको छ । पुरूषप्रधान हाम्रो समाजको परम्परागत कुरिती र कुसंस्कारलाई चिर्दै  नेपाली नारीहरू पनि पुरूष सरह आफ्नो  हक-अधिकार सुनिश्चित गर्दैछन् । नेपाली नारीहरू  इजरायल मात्र होईन  आफ्नो घर परिवार र लालावालाको सुन्दर  भविश्य निर्माणको  निम्ती भौतारिदै संसारको कुनाकुनामा छरिएका छन् । लेखक महोदय, तपाई अवश्यपनि प्रवासमै हुनुहुन्छ होला भन्ने अनुमान गर्दै सर्वप्रथम तपाईलाई नै प्रश्न  गर्न मन लाग्यो । सर्वप्रथम  तपाई आफु  किन प्रवासिनु भयो ? अनी प्रवासी जीवनसंगै तपाईको पारिवारिक जिम्मेवारी, विश्वास र मायाप्रेम नै धमिलो भएको हो त ? लेखक महोदय,  तपाईको नजर इजरायलमाथि मात्र किन पर्यो ?  के नेपाली नारीहरू अन्य देशका कुनाकुनामा पुगेका छैनन्  ?  जापान, अमेरिका,  क्यानडा, अष्ट्रेलिया  लगायत खाँडीमुलुकमा रहेका नेपाली महिलाहरूमाथि तपाईको नजर  किन परेन ?  खाँडी मुलुकमा नेपाली दिदिवहिनीहरू दिनानुदिन मानसिक र शारिरिक यातनाका शिकार भइरहेका छन् । वम्वैको कोठीमा अझै पनि लाखौ नेपाली नारीहरू नारकिय जीवन व्यतित गर्न वाध्य छन् । यूरोप अमेरिकामा मंहगीको मारमा होस् या अन्य कारण लिभिङ टुगेदरमा हुनेहरू प्रशस्तै छन् अनि इजरायलमा भन्दा  खाँडी मुलुक, यूरोप, अमेरिका लगायतका देशहरूमा चौगुणा वढी छन् नेपाली चेलीहरू ।  हो धेरैका नानीहरू मातृत्ववाट खोसिएका छन्, होस्टलमा कैद भएका छन्, घऱवार उजाडिएको छ यसको मतलव यो होईन की आमाको मातृत्व नै टुङ्गिएको छ, आमाको  हृदय नै चट्टानसरी वनेको छ ?   कुन आमालाई आफ्नो सन्तानको भविष्यको चिन्ता नहोला ?   ‘इजरायलको भूत चढेपछी’ भन्ने तपाईको शव्दले  तमाम  इजरायलवासी नेपाली आमाहरूको   आत्मविश्वासमा ठेस पुगेको छ । के इजरायल आउन चाहने हरेक नेपाली आमाहरु रहरले यहाँ आइपुगेका हुन् त ? के ति आमाहरु आफ्नो मुठ्ठीभरको रहरका खातिर आफ्नो मुटुको टुक्राजस्ता सन्तानलाई अलग्गाएका होलान त ? अनि मंहगा  होस्टलहरुमा रहेका नानीहरू इजरायलमा रहेका आमाहरूका मात्र होलान् त ?  श्रीमान विदेशिदा श्रीमतीहरू घरपरिवार वालवच्चा संम्हालेर  वर्षौ कुरेर  वसेका हुन्छन् भने श्रीमती विदेसिदा श्रीमानले छोराछोरी संहाल्न नसक्नु के पुरूषहरूप्रतिको लाचारीपन भएन ?  अनी प्रायजसोको वच्चाहरू घर परिवारले नै हेरचाह गरेका हुन्छन् । के नेपालमा हुने अभिभावकहरू  लगायत अन्य देशमा हुनेहरूले  होस्टेलमा वच्चा राखेका छैनन्  ? जवाफ छ ? यदि तपाई इमान्दार लेखक  हुनुहुन्छ भने यसको जवाफ अवश्य दिनुहुनेछ । अव कुरा रह्यो इजरायल कस्तो मुलुक हो भन्ने विषयको, महिलालाई प्रधानता दिइएको इजरायल महिलाहरूको लागि विश्वमै उत्तम गन्तव्य हो भन्दा कुनै गलत हुदैन ।  इजरायलमा रहेका हर  विदेशी कामदारहरूको आफ्नो हक अधिकार सुनिश्चित छ भने  व्यक्तिगत रूपमा पनि स्वतन्त्र छन् । इजरायलको रोजगारीले विदेशी महिलाहरूमा आत्मवल , आत्मविश्वास र साहस वढाएको छ ।  स्वदेशमा हुने गरेका महिला हिंसा, लैगिंक विभेद जस्ता असमान व्यावहारलाई व्यावहारिक रूपमा चिर्न सफल भएका छन् इजरायलको रोजगारीमा आउने महिलाहरू । हरेक क्षेत्रमा फक्रेका छन्  इजरायलवासी नेपालीहरू । समष्टिगत रुपमा भन्नुपर्दा इजरायल पत्रकार, साहित्यकार तथा  कलाकारहरूको उर्वर भूमी बनेको छ ।  तपाँईजस्ता वुद्दिजिवीहरु यी कुराहरू  स्वीकार्न किन हिच्किचाउनुहुन्छ ? इजरायलको वारेमा केही बोल्दा नकारात्मक सोच भएकाहरुको दिमागमा घरभित्रको ट्वाइलेट मात्र किन देखिन्छ  ?, त्यही घरभित्रको लाइव्रेरी अनि पवित्र  पुजा कोठालाई किन देख्नुहुन्न ? लाइव्रेरी अनि पुजा कोठाको वारेमा किन वर्णन गरेको सुनिदैन ? नेपाल सरकारले खाडी मुलुकहरुमा नेपाली महिला कामदारहरुलाई श्रम इजाजत नदिइराख्दा इजरायलको वन्द रोजगारी कुनै पनि अवस्थामा खुल्ला गर्न हदैसम्मको पहल जारी राखेको छ आखिर किन त ? यदि इजरायलको रोजगारी असुरक्षित हुन्थ्यो भने सरकारले किन इजरायलमा नेपाली महिला कामदारहरु पठाउन यति धेरै पहल गरेको छ त ? महिलाहरूको हकमा खाडी मुलुकहरुमात्र होइन युरोप अमेरिका लगायत अन्य विकशित मुलुकहरुको तुलनामा सुरक्षित गन्तव्य इजरायलको रोजगारीलाई  यसरी धमिल्याउने अधिकार जो कसैलाई पनि  रहदैन । इजरायल महिलाहरूको हकमा  सुरक्षित गन्तव्य मात्र होईन राम्रो कमाई हुने विकसित राष्ट्र पनि हो । नेपाली समाजमा सिंचित महिला जनशक्तिले यस्तो मुलुकमा आर्थिकोपार्जन गर्ने अवसर प्राप्त गरेका छन्, यो मुलुकको आर्थिक उन्नतीको निम्ती अत्यन्तै सकारात्मक पक्ष हो । यस्तो अवस्थामा यसरी प्रवासीएका नेपाली नारीहरूको विषयमा तथानाम भ्रमको विज छरिदिएपछि आम नेपाली अभिभावकहरूले के सोच्लान्  त ? आगामी दिनमा इजरायल आउऩ चाहनेहरूलाई कुन विश्वासले  इजरायल पठाउलान् त उनीहरु ? एकातिक यसतर्फ गम्भिर भएर सोच्न वाध्य वनाएको   छ भने अर्को तर्फ यी यस्ता पत्रकारको मुखुन्डोधारीहरु नेपाली महिलाहरुलाई फेरीपनि चुलोचौकामै सिमित राख्न क्रियाशिल छन् भन्ने कुरालाई प्रस्ट्याएको छ । कुरा रह्यो इजरालवासी आमाहरुको चरित्रको, लेखक महोदय, अझैपनि दोष नारीहरूमाथि थोपरेर आफु चोखिन खोज्नु कहांसम्म न्यायसंगत होला ? एक पटक गहिरिएर सोच्नुस् त ? तिनै पुरूषहरूको कारण महिलाहरू गलत वाटो रोज्न वाध्य भएका छन् ।  एउटी महिलालाई रण्डी, वेश्या जस्ता उपनाम दिईन्छ  तर ती महिला कसको कारण रण्डी या  वेश्या भएकी छे ?   निर्विवाद भन्न सकिन्छ त्यो हो पुरूष ? “ इजरायल दिउँसो सुत्छ सायद, रातभर अनलाइनमा भेटिन्छन् मेरी र डलीहरू”  तपाईको यो लाईन आफैमा अपुरो र तपाईसंगै प्रश्न सोधिरहेको छ ? के तपाई राती सुत्नुभयो ?   तपाईको लेखको आशय के हो ? इजरायलमा हुने सम्पुर्ण नेपाली चेलीहरूलाई ‘मेरी र डलीहरू ‘ को उपनाम दिएर एकपटक नेपाली सभ्यता अनी परम्परा र संस्कारको उपहास त गर्नुभएन ?   के हाम्रो संस्कार संस्कृतीले चेलीहरूलाई दिने इज्जत र सत्कार यसैगरी सिकाएको हो त  ?  के  कथामा तपाईवाट सोधिएका असहज प्रश्नलाई नियाल्दै  समाजले  तपाईलाई  असल पुरूषको संज्ञा दिन सक्ला  ? त्यसैले  इजरायल मात्र रातभर जाग्दो रहेनछ कतार पनि अनिदै ड्यूटी गर्दोरहेछ भन्ने कुरा नभुलिदिए लेख सान्दर्भिक वन्न सक्थ्यो होला । यहाँ लेखकको  भनाईलाई मान्ने हो भने   हिजोआज फेसवुक  इजरायलमा रहेका नारीहरूले मात्र चलाउने रहेछन् क्यारे ?    कुरो वुझ्नै गार्हो भयो । खाडी मुलुकमा रहेका नेपालीहरू  दिन-रात सकिनसकी ड्यूटी गर्छन् । परिश्रम गर्दा गर्दा भ्याईभ्याई हुन्छ ।  यूरोप अमेरिकामा पनि काम नगरी कहाँ पैसा फल्छ र ?  नेपालमा लोडसेडिङको मार वढेको वढ्यै छ । इजरायल हो जहाँ रहेका  विदेशी कामदारहरू यो सुविधा निर्धक्क प्रयोग गर्न पाउछन्, दिनरात  अनलाईनमा वस्न भ्याउछन्   अनी फेसवुकमा  फोटो अपलोड, स्ट्याटस अपडेट   गरे भनेर ईष्या  मात्र गरेर  के गर्नु ? होईन त ? लेखक महोदय, कतारका तपाईका मित्रले इजरायललाई नयाँ ससुराली भनेको कुरा लेख्नुभयो उसो त कतारमा रहेका केटाहरूलाई इलरायवासी नेपालीहरूले के भन्छन् , एक त त्यो कुरा म यहाँ लेख्न असमर्थ छु । दोस्रो त्यस किसिमका कुराहरु लेखेर खाडी मुलुकहरुमा काम गर्ने लाखौं नेपाली दाजुभाईहरुको अपमान गर्न चाहान्न् । प्रसंग इन्टरनेटकै, भिडियो च्याट अनी व्ल्याकमेलिङ महिला पुरूष दुवैवाट भएका छन्  ।  इजरायलमा रहेका नारीहरू भनेर संवोधन गर्ने मित्रलाई मेरो च्यालेन्ज  हिम्मत छ भने  आउनुहोस् म संग रातभर च्याट गर्नुहोस् । अनी  फेरी लेख्नुहोस् इजरायलमा भएका “मेरी र डल्लीहरु”……??? लेखक महोदय, तपाईले लेख्नुभएको अर्को  एक लाईन ‘लामो च्याटले तन र मनको तिर्खा जो जागेको थियो’ ।  जो पुरूष पात्र पहिलो पटक एक अपरिचित महिलासंग अनलाईनमा च्याट गर्दैछ उसलाई  तन र मनको तिर्खा जाग्यो ? कस्तो भद्रभलाद्मी पुरूष तपाई,  अनी लाजै नमानी सार्वजनिक रूपमा नारीहरूमाथि इज्जत  गरेको कुरा खुलेर लेखिदिने ? यसले तपाईको मात्र होइन तपाईको कुलिन संस्कारलाई पनि प्रतिविम्वित गरेको छ । “इजरायलमा त नेपाली केटाहरूलाई त मोज छ रे नि ? महिना महिना दिनमा गर्लफ्रेन्ड फेरिन्छ भन्छन् त ? कि मैले गलत समाचार सुनें ?” यी हरफहरूवाट  तपाईले   इजरायलमा  रहेका महिलाहरूलाई मात्र होईन पुरूषहरूलाई पनि धमिल्याउनु भयो । सवै पुरूष र सवै महिला उस्तै चरित्रका  हुदैनन् भन्ने ध्रुव सत्यमाथि पनि धव्वा लगाईएको छ । यहाँ दाजुभाई, दिदिवहिनी, काका, मामा जस्ता पवित्र सम्वन्धहरूको पनि चरित्रहत्या  गरिएको छ । आज प्रत्येक दिनजसो नेपालमा हुने गरेका यौन व्यावसाय, यौन शोषण र विभिन्न प्रलोभनमा हुने गरेका यौन विकृतीहरू समाचारका हेडलाईन वनिरहेका छन् । कलिला किशोरीहरूदेखि अर्धवैसेसम्म  पेट पाल्नकै निम्ती होस् या छोराछोरी पाल्नकै लागि  देह व्यापारमा लागेका छन् । खुलेआम जवानीको मोलमोलाई भईरहेको छ ।  गरिवीभित्रको आत्मविश्वास खोसिएको छ , ठुलावढाको हुकुमी साशनको अझै पनि  अन्त्य भएको छैन । किन तपाई कलम चलाउनुहुन्न ती निमुखा , निर्दोष र विवशतामा जेलिएका नारी मनहरूको लागि ? अन्त्यमा लेखक महोदय, दोषारोपण नारीहरूमाथी मात्र थुपार्न छोडेर यसको भागिदार पुरूष पनि  रहेको छ भन्ने कुरा नविर्सिदिए  लेखकको कलमको प्रतिकार गर्नुपर्दैन थियो । इजरायलका रहेका नारीहरूले आफ्नो मात्र नभई  सामाजिक जीवनस्तरलाई कतिसम्म माथि उठाउन सहयोग पुर्याएका छन्, जसले समाज र राष्ट्रलाई कतिसम्म फाईदा पुर्याएको छ भन्ने सकारात्मक  पक्षहरूलाई ओझेलमा पारिनु हुदैन ।  सवैमा सकारात्मक सोच अनी  प्रवासको वसाईसंगै आफ्नो  जिम्मेवारी, कर्तव्य र विश्वासमा कसैले पनि  तुषारापात नगरिदिए, सवैको आदर, सत्कार र  सम्मान  गर्न सकेमात्र समतामूलक समावेशी सामाजिक संरचनाको निर्माण हुन सक्छ । www.a1khabar.com

No comments:
Write comments