काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापासहित तीनजना पदाधिकारीलाई यथाशीघ्र निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाउन व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिले दिएको निर्देशन कार्यान्वयन गर्नुको विकल्प नरहेको निष्कर्ष राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निकालेको छ। राखपेका पदाधिकारी र विभागीय प्रमुखबीच आइतबार भएको छलफलले यस्तो निष्कर्ष निकालेको हो।
राखेपले सोमबार वा मंगलबार लेखा समिति र मन्त्रालयलाई बोधार्थ दिई एन्फालाई लेखाको निर्देशन कार्यान्वयन गर्न पत्राचार गर्न लागेको जानकारी राखेप स्रोतले दियो। 'हामीले विश्व फुबटल महासंघ (फिफा), एसियाली फुटबल महासंघ (एएफसी) र एन्फाको विधानसँगै राखेप ऐन र लेखा समितिको निर्देशनका बारेमा व्यापक छलफल गर्यौं।
एन्फाले फिफा र एएफसीको नियममा चल्नुपर्ने बाध्यता पनि छ, तर राखेप लेखा समितिको निर्देशनभन्दा बाहिर जान सक्दैन। यो विषयमा एन्फाले पनि गम्भीरतापूर्वक सोच्नुपर्छ', राखेपका सदस्यसचिव युवराल लामाले अन्नपूर्ण पोस्ट्सँग भने।
युवा तथा खेलकुद मन्त्रालयले गत शुक्रबार एन्फाका अध्यक्ष थापासहित तीनजना पदाधिकारीलाई यथाशीघ्र पदबाट निलम्बन गरी अर्को नेतृत्व चयन गर्न राखेपलाई पत्राचार गरेको थियो। यसअघि लेखा समितिले सोमबारमात्र युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मालाई एन्फा अध्यक्ष थापासहित महासचिव धीरेन्द्र प्रधान, कोषाध्यक्ष विराटजंग शाही र एन्फाको निर्माण कार्यमा संलग्न पदाधिकारीलाई तत्काल पदबाट निलम्बन गर्न निर्देशन दिएको थियो।
लेखा समितिको सोही निर्देशन कार्यान्वयन गर्न मन्त्रालयले राखेपलाई पत्राचार गरेको हो। लेखा समितिको निर्देशनलाई एन्फाले भने पालना नगर्ने संकेत दिएको छ। पछिल्लो घटनाक्रमका विषयमा एन्फामा बिहीबारदेखि नै लगातार छलफल जारी छ। एन्फामा विभिन्न विक ल्पका बारेमा आइतबार पनि छलफल भएको थियो।
पछिल्लो घटना क्रमका बारेमा कुनै पनि निर्णय भइनसकेको जानकारी एन्फाका प्रवक्ता एवं उपाध्यक्ष ललितकृष्ण श्रेष्ठले दिए। उनका अनुसार सोमबार पनि यस विषयमा एन्फामा छलफल हुनेछ। लेखा समितिले एन्फामा ५८ करोड १७ लाख रुपैयाँ अनियमितता भएको दाबी गर्दै त्यसबारेमा अनुसन्धान हुनुपर्ने अडान लिँदै आएको छ।
http://annapurnapost.com/News.aspx/story/1130
No comments:
Write comments