म्याड्रिडः विशेषगरी पश्चिमी अफ्रिकी देशमा ठूलो महामारीको रुप लिइरहेको इबोला भाइरसले स्पेनमा प्रवेश पाएपछि अब युरोपमा नै त्यसको सङ्क्रमण बढ्ने खतरा देखिएको छ।
स्पेनमा देखिएको सो सङ्क्रमणले युरोपमा नै त्रास फैलिएको प्राप्त समाचारमा जनाइएको छ । यसका कारण युरोपेली देशहरुमा पनि यस रोगको प्रकोप बढ्ने आशङ्का गरिएको छ ।
स्पेनमा मङ्गलबार थप चारजना इबोलाका बिरामी भेटिएका छन् । ती सङ्क्रमितलाई अस्पताल भर्ना गरिएको छ ।
यसअघि इबोलाका सङ्क्रमित भर्ना गरिएको अस्पतालका नर्स नै विरामी परेको समाचार आएको थियो । ती नर्समा पनि इबोला सरेको पुष्टि सरकारी स्वास्थ्य अधिकारीहरुले गरेका छन् ।
चिकित्सकहरुले यसको सङ्क्रमण थप बढ्नसक्ने भन्दै विशेष सतर्कता अपनाउन स्पेनको सरकारसँग आग्रह गरिरहेका छन् । अस्पतालमा विरामी भर्ना गर्न पनि चिकित्सकहरु डराइरहेका छन् ।
स्पेनमा यसको भाइरस सङ्क्रमण भएको थाहा भएपछि युरोपियन युनियनले त्यसको बारेमा चासो व्यक्त गरेको छ । सो युनियनले उक्त सङ्क्रमण के कसरी युरोपमा आयो भन्ने बारेमा खोजी गर्ने भएको छ ।
स्पेनको म्याड्रिडमा रहेको ला पाज क्यारोल्स अस्पतालमा कामगर्ने एकजना नर्स सो सङ्क्रमणबाट सङ्क्रमित भएको खुलेको विभिन्न सञ्चारमाध्यमहरुले मङ्गलबार जनाएका छन् ।
अफ्रिका बाहिर युरोपमा यस इबोलाबाट सङ्क्रमित हुनेमा उनी नै पहिलो महिला भएको बताइएको छ । उनले दुई जना स्पेनी नागरिकको उपचारमा संलग्न रहेकी थिइन् ।
ती दुई पुरुषपनि पश्चिम अफ्रिकाबाट भर्खरै फर्किएका थिए र तिनलाई अस्पताल भर्ना गरिएको थियो । उनीहरुको उपचारमा संलग्न भएकै कारण ती नर्सपनि सङ्क्रमित भएकी थिइन् ।
तर ती नर्सलाई कसरी उक्त भाइरस स¥यो भन्ने विषयमा स्पेनिस सरकारले अनुसन्धान थालेको छ । उक्त अस्पतालमा अरुपनि ५२ जना स्वास्थ्यकर्मी रहेका छन् भने बाँकीलाई केही भएको छैन ।
युरोपियन युनियनले हालैका दिनमा महामारीका रुपमा देखिएको सो सङ्क्रमणको नियन्त्रणका लागि विशेष उपाय अपनाउने बताएको छ ।
तर स्पेनमा देखिएको यो पहिछल्लो सङ्क्रमणबाट पुरै युरोप नै त्रस्त बनेको विभिन्न समाचारमाध्यमहरुले जनाएका छन् ।
यो सङ्क्रमणबाट विशेषगरी पाँचवटा पश्चिमी अफ्रिकी मुलुक करिब तीन हजार ५०० व्यक्तिको ज्यान गइसकेको छ । यसबाट करिब ७ हजार व्यक्ति सङ्क्रमित भएका छन् ।
ती सबैको उपचार जारी रहेको छ । अमेरिकामा यसको उपचार पत्ता लागेको भएपनि त्यो सर्वसुलभ भने हुन सकिरहेको छैन ।
No comments:
Write comments