Sunday, October 26, 2014
गुण्डाहरुलाई मोटरसाइकल, तेल र तलब दिन्छन् क्रसर ब्यवसायी
जिल्लाका अधिकाशं स्थानमा संचालन भइरहेका क्रसर उद्योगहरुलाई सरकारले मापदण्ड अनुसार संचालन गर्न निर्देशन दिएको भएपनी पटक पटक गरेको आग्रहलाई नकार्दै जिल्लाका बिभिन्न ठाउँमा क्रसर उद्योगहरु आफ्नो मनोमानी ढगंवाट संचालन हुने क्रम रोकिएको छैन ।
यसरी नेपाल सरकारको आग्रहलाई धज्जी उडाउँदै काभ्रे जिल्ला लगायत जिल्लाका आसपासमा संचालीत क्रसरका कारण खोला नाला सित्तैमा सिद्धिन थालेका छन् । यसको उदाहरणको रुपमा जिल्लाको इन्द्रावती खोला लाई लिन सकिन्छ ।
अहिले आफुलाई उद्योगीको रुपमा चिनाउँदै जिल्लाको खोलानामा मोजमस्ति गरेर बसेका बागमती ट्रिपर ब्यबसायी संघका अध्यक्ष एंव क्रसर ब्यबसायी राजभक्त प्रधानले अहिले इन्द्रावती खोलालाई सखाप बनाउँदा समेत जिल्लाका सरोकार वालाका साथै जिल्लाका प्रशासनिक निकायहरु कानमा तेल हालेर तै चुप मै चुप को रुपमा रहेका छन् ।
जिल्ला प्रशासन कार्यालयले केही समय अगाडी मात्र नेपाल सरकारले ल्याएको निती अनुरुप क्रसर संचालन गर्न गराउन संम्बन्धित क्रसर उद्योगलाई निर्देशन दिएको थियो तर केही समयको विवाद सँगै क्रसर वाला र नेपाल सरकारका संम्बन्धित निकाय बिच भएको सम्झौता लाई समेत अहिले क्रसरवालाले चुनौती दिँदै क्रसर उद्योग संचालन गरिरँहदा जिल्ला प्रशासन कार्यालय भने टुलुटुलु हेरेर बस्न बाध्य भएको छ । केही क्रसरवालाहरुले त आफ्नो क्रसरलाई दर्ता गरे पनी नविकरण नगरेको जिल्ला विकास समितिको कार्यालयको तथ्याङकमा भेटिएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले उत्खननमा रोक लगाएको नाटक गरेर अहिले मेलम्ची एन्ड इन्द्रावती स्टोन प्रा.लि.ले इन्द्रावती खोला माँसिदा समेत जिल्लाका प्रशासनिक निकायनै मौन हुँदा क्रसर उद्योग बाट प्रभावित क्षेत्रका बासिन्दा भने प्रशासनिक निकाय प्रतीनै संसकित बनेका छन् ।
सिपाघाट स्थित एक स्थानियले भने, नत पुलिसलाई चासो छ न राजनैतिक दलका नेतालाई यि सबको कारणले गर्दा हामी मारमा प¥यौं । उनले थपे–“हामिले मात्र भनेर कराएर केही हुने दिँखिदैन तर नेपाल सरकारका खोल ओढेर गुण्डागर्दीको शैलीमा काम गरिरहेका सरकारका कर्मचारीहरु नै सर्बसाधारण प्रती सकारात्मक देखिदैनन् हामीले कसलाई भन्ने कसलाई गुहार्ने ।” इन्द्रावती क्षेत्रकै अर्का स्थानीय भन्छन्– “ मेलम्ची एण्ड इन्द्रावती स्टोन प्रा.ली ले दशै पछि लगातार इन्द्रवती खोलामा (एक्स्काभेटर) मेसिन प्रयोग गरेर ढुंगा गिटी र बालुवा निकाल्दा समेत जिल्ला प्रहरी कार्यालय मौन रहेता पनी इन्द्रावती खोलाबाट १ किलोमिटरको दुरीमा रहेको प्रहरी चौकीले समेत चासो नदिएकोमा हामी आफैं उनिहरुप्रती सकारात्मक छैनौ । उनिहरुकै कारण यि सब निम्तिएको छ । उनीहरुलाई पैसा भए पुग्छ ।” उनले गुनासो पोख्ने क्रममा हामीलाई भने– “पैसा भएपछी महादेबको पनी तिन नेत्र भनेझैं जिल्लाको सुरक्षा निकायमा जो आएपनी पहिला सब काम गर्छु भन्छन् तर पछी उनीहरुलाई पनी वाताबरण र खोलाानला जोगाउँदै ढुगांबाट खल्ति भर्न मन लाग्दो रहेछ हैन भने किन कार्यान्वयन हुँदैन प्रहरी भनेको आदेश मात्र दिने होर काम गर्नुपर्छ बर्दी लगाएपछी ।”उनले गुनासोको साथै ब्यङगात्मक शैलीमा हामीलाई गुनासो पोखे ।
केही समय आन्दोलन गरेर आन्दोलन पश्चात अहिले फेरी क्रसरवालाहरु इन्द्रवती खोलामा एस्काभेटर लगेर ढुंगा, गिटी निकालेर बेचिरहेको स्थानीय बासिन्दाहरु बताउँछन् । आफ्नो बाउको सम्पतीमा रजाई गरे झैं खोलामा एक्स्काभेटर चलाएर सम्पती थुप्राइरहेको मेलम्ची एन्ड इन्द्रावती स्टोन प्रालिले इन्द्रावती खोलाबाट ढुंगा गिटी निकाल्दा कसैको आखाँ त्यहाँ जान सकेको छैन । क्रसरवालाहरुले आफ्नो क्रसर संचालन गर्न गुण्डाका नाइकेहरुलाई प्रयोग गरिरहेको स्थानिय बासिन्दाको गुनासो छ । हामीले केही भन्यौं भने गुण्डाहरु आउँछन् हामीलाई धम्क्याएर चुप रहन धम्कि दिन्छन् । उनिहरुलाई क्रसर ब्यबसायीले आफ्नो क्रसर संचालन गर्न सहज बनाइदिए वापत गुण्डाहरुलाई मोटरसाइकल मात्र होइन हप्तै पिच्छे तेल दिने गरेको र केही गुण्डागर्दीमा लागेकाहरुलाई त मासिक रुपमा तलब नै दिने गरेको खुल्न आएको छ ।
यसरी इन्द्रावती खोला बाट ढुंगा उत्खनन गरेकै कारण सिपाघाट स्थित इन्द्रावती पुल समेत अहिले जोखिममा परेको छ । स्थानियका अनुसार, यसैगरी ढुङगा झिक्ने क्रम नरोकिने हो भने १ देखी २ बर्षको बिचमा पुल भासिने अबस्थामा पुग्ने देखिन्छ ।
क्रसर उद्योग बाट निकालिएको रोडा गिटी बोकेर गुडेका भारी वजनका ट्रिपरले सिपाघाट देखि हिँगुवापाटी सम्मको सडक क्षतविक्षत बनाएका छन् । क्रसर र ट्रिपरका कारण एम्बुलेन्स समेत चल्न नसक्ने गरी सडक क्षतविक्षत अबस्थामा पुगेका छन् । यस्तो हुँदा समेत बिभिन्न बहानाको नाटक बनाउँदै जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय मौन नै रहेको छ ।
क्रसरले बाटो पटक पटक भत्काएको कारणले गर्दा मेलम्ची खानेपानीले बाटो मर्मतमा समेत चासो देखाएको छैन र महादेवस्थान मण्डन भेगका स्थानीय दोहोरो मारमा परेका छन् । मेलम्ची एन्ड इन्द्रवाती स्टोन प्रालि बाट करीब एक किलोमिटरको दुरीमा प्रहरीको चौकी भएपनि यसरी खोला बाट एक्स्काभेटर लगाएर गिटी बालुवा झिक्दा समेत प्रहरी नदेखेको जस्तो गरेर हिड्ने गरेको स्थानीय बताउँछन् । यसरी खोला बाट गिटी बालुवा झिकेर त्यस सतह गहिरिएर कतिपय गाविसका किसानले खेतमा पानी लगाउन सकेका छैनन् र नदी छेउछाउका धेरै खेतहरु बगरमा परिणत भएका छन् । यसरी खोला नाला माँसिदा विपतको अवस्था आउन सक्छ त्यसैले कसैको व्यक्तिगत स्वार्थका लागि यस्तो खोलानाला खोतलेर बस्ती र उब्जनी योग्य जमिन धरापमा पार्न दिनु हुँदैन । खोलानाला जोगाउन सबैको ध्यान जान जरुरी छ । यस बिषयमा सम्बन्धित निकायको ध्यान जाओस् । हाम्रो कामना यत्ति मात्र हो ।
nepaliheadlines.com
No comments:
Write comments