काठमाडौँ, कात्तिक ५– परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)को शिखर सम्मेलनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्ता दिएका छन् । सार्कको १८ औँ शिखर सम्मेलन आगामी मङ्सिर १०–११ मा काठमाडौँमा हुँदैछ । प्रधानमन्त्री सुशील कोइरालाको निमन्त्रणापत्र लिएर भारतको राजधानी नयाँ दिल्ली पुगेका मन्त्री पाण्डेले सार्क शिखर सम्मेलनमा नेपालले गरेको तयारी तथा क्षेत्रीय सहकार्यका विषयमा भारतीय प्रधानमन्त्री मोदीलाई मंगलबार जानकारी गराएको भारतस्थित नेपाली राजदूतावासले जनाएको छ । निमन्त्रणा ग्रहणपछि भारतीय प्रधानमन्त्री मोदीले सबै सार्क सदस्यलाई सुदृढ गरी सार्कलाई अमूल्य संस्थाका रुपमा निर्माण गर्नुपर्ने बताए । सो अवसरमा सार्कअन्तर्गतका छिमेकीलाई तथा क्षेत्रीय सहकार्यमा प्रधानमन्त्री मोदीले प्राथमिकता दिएकामा परराष्ट्रमन्त्री पाण्डेले प्रशंसा गर्दै भारतले मङ्गलयानको उडान गरेकामा बधाई दिए । सोही अवसरमा परराष्ट्रमन्त्री पाण्डेले आफ्ना समकक्षी सुष्मा स्वराजसँग गरेको भेटवार्तामा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका अवसरमा भएको नेपाल–भारतको संयुक्त आयोगले गरेका निर्णय कार्यान्वयनलगायत द्विपक्षीय तथा क्षेत्रीय सहकार्यका विषयमा छलफल गरेका थिए।
http://www.ratopati.com
No comments:
Write comments