धरानकी २६ वर्षीया ममता राई (नाम परिवर्तन) लाई सानैदेखि आफ्नो थेप्चो नाक मन परेको थिएन। उमेर बढ्दै जाँदा उनलाई आफ्ना साथीहरूको जस्तै नाक पनि चुच्चो बनाउने रहर जाग्यो। थेप्चो नाक कसरी र कहाँ गएर चुच्चो बनाउने भन्नेमा उनी लामो समय दोधारमा परिन्।
एक महिनाअघि साथीको सहयोगमा वसुन्धरास्थित कान्तिपुर जनरल एन्ड डेन्टल अस्पताल आइपुगिन्। आफ्नो अंग नै परितर्वतन गर्न लाग्दा सुरुमा डर लागेको थियो उनलाई। उनले पछि राम्रो देखिन नाक चुच्चो बनाउने निर्णय ढुक्कका साथ गरिन्।
अस्पतालका कस्मेटिक सर्जन डा. अनिश गोर्खाली नेतृत्वको टोलीले साढे पाँच घन्टा लगाएर राइनोप्लास्टी सर्जरीबाट उनको जन्मजात नाकको स्वरूप नै बदल्यो। इच्छाअनुसारको नाक बनाउन पाएपछि उनी अहिले दंग छिन्।
भक्तपुर सूर्यविनायकका ३५ वर्षीय सूर्य मानन्धरलाई पनि नाक थेप्चो हुँदा दिक्क लाग्थ्यो। शाहरुख खानका प्रशंसक मानन्धरलाई आफ्नो नाक पनि खानको जस्तै बनाउने इच्छा बढ्दै गयो।
शल्यक्रियाबाट नाक चुच्चो बनाउन सकिने उनले जानकारी पाए पनि नेपालमा यो सुविधा नहुँदा बाहिर जान मन लागेन। नेपालमा पनि उपचार हुन्छ भन्ने सुनेका उनी अस्पताल धाउन थाले। अन्नत: मोडल अस्पतालमा पुगी थेप्चो नाकलाई इच्छाअनुसार चुच्चो बनाए।
पछिल्लो समय स्वास्थ्यभन्दा पनि सुन्दरताका लागि नेपाली युवा जमात आफूलाई मन नपरेको वा चोटबाट बिग्रिएका अंगहरूको स्वरूप बदल्ने धाउनेमा छन्। उक्त सुविधा नेपालकै अस्पतालमा पाउन थालेपछि झन् सहज भएको छ उनीहरूका लागि।
विशेषगरी युवाहरूमा नाक, गाला, निधार र ओठ मिलाउन, शरीरको दाग हटाउने क्रम बढेको चिकित्सकहरू बताउँछन्। मोडल अस्पतालमा कार्यरत प्लास्टिक सर्जन डा. शंकरमान राईले स्वेदशमा भित्रिएको प्रविधि दक्ष चिकित्सकका कारण युवाको अंग परिवर्तनको चाहना पूरा भइरहेको बताए। डा. राईका अनुसार अस्पतालमा नाक र गाला मिलाउन धेरै जाने गरेका छन्।
धनकुटा राजारानीकी ३० वर्षीया कविता तामाङलाई खाल्टो परेको गालाका कारण कहिल्यै चयन भएन। बाल्यकालदेखि खाल्टो परेको गाला भन्दै आफन्त र साथीभाइले जिस्क्याउने र होच्याउँदा उनलाई नराम्रो लाग्थ्यो।
पछिल्लो समय ललितपुर बल्खु बस्दै आएकी उनले नजिकैको मेडिकलबाट उपचारको सल्लाह लिइन् र मोडल अस्पताल पुगिन्। लामो परामर्शपछि नि:शुल्क रूपमा शल्यक्रिया गरेर उनको गालामा मासु भरियो। उनी भन्छिन्,'पहिले साथीले कुरा काट्थे, अप्रेसनपछि गाला भरिँदै आएको छ, खुसी लाग्छ।'
चिकित्सकले उपचारका लागि भन्दा व्यक्तिको सौन्दर्यमा निखारता ल्याउन फेसियल कस्मेटिक सर्जरीअन्तर्गतको राइनोप्लास्टी सर्जरी गर्न थालेका छन्। यो उपचारविधि नेपालमा लोकप्रिय हुन थालेको छ। दुर्घटनामा परेर नाक भाँचिएका वा अन्य कारणले नाकको स्वरूप बिग्रिएकालाई पनि उक्त सेवा दिइन्छ।
राइनोप्लास्टी सर्जरीमार्फत थेप्चो नाकलाई चुच्चो बनाउन चिकित्सकले नाकको भित्रपट्टिबाट प्वाल (टनेल) बनाई कानको पछाडिको मासुको भाग 'कार्टलेज' वा 'आटिफिसिर्यल ग्राप्स' भरी दिन्छन्।
अमेरिकामा निर्मित 'आटिफिसिर्यल ग्रप्स' महँगो पर्ने भएकाले त्यस्तो सर्जरी गराउनेकै लागि काननको पछाडिबाट झिकिने 'कार्टलेज' को प्रयोग हुने गरेको छ। त्यसरी अग्लो बनाउँदा ०.५ मिलिमिटरदेखि १.५ मिलिमिटरसम्म अग्लो बनाउन सकिन्छ।
शल्यक्रियापछि चाहेअनुसारको स्वरूपमा नाक बदलिन कम्तीमा एक साता लाग्ने कान्तिपुर जनरल एन्ड डेन्टल अस्पतालका निर्देशक डा. बुद्धिमान श्रेष्ठ बताउँछन्। यस्तो सर्जरीका लागि ६० देखि ८० हजार रुपैयाँसम्म लाग्ने उनको भनाइ छ।
यसअन्तर्गत थेप्चोलाई चुच्चो बनाउनमात्रै होइन चुच्चोलाई थेप्चो बनाउन, लामोलाई छोटो र छोटोलाई लामो बनाउन सकिने प्रविधि नेपालमा भित्रिएका छन्। ओरल एन्ड म्याग्जिलो फेसियल सर्जरीबाट दुर्घटनामा परेका व्यक्तिको मुख, दाँत तथा अनुहारको स्वरूप नै अंगभंग हुने गरी लागेको चोटलाई सही आकारमा ल्याई उचित उपचार गरिन्छ। फेसियल सर्जरीअन्तर्गत बढ्दो उमेरसँगै आँखाको माथि झुलिने छालाको शल्यक्रिया गरिन्छ।
No comments:
Write comments