Friday, October 17, 2014
सानातिना विवादले वर्तमान सरकार परिवर्तन नहुने: भण्डारीको दाबी
विराटनगर, असोज ३१ – नेकपा (एमाले)का उपाध्यक्ष विद्यादेवी भण्डारीले नयाँ संविधान जारी नभएसम्म वर्तमान सरकार परिवर्तन नहुने बताएकी छिन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले वर्तमान सरकार संयुक्त सरकार भएकाले सानातिना विवाद आउँदैमा सरकार परिवर्तन नहुने दाबी गरिन् । नेत्री भण्डारीले सङ्घीयता, शासकीय स्वरुप तथा निर्वाचन प्रणालीलगायतका विषयमा दलहरुबीच सहमति नभए जनताका बीचमा गएर विवादित विषयलाई जनमत सङ्ग्रहबाट टुङ्ग्याउनुपर्ने पर्ने धारणा प्रकट गरिन् । एमाले नेत्री भण्डारीले आगामी माघ ८ गते नयाँ संविधान जारी गर्नुबाहेक दलहरुसँग अरु विकल्प नभएकाले दलहरुबीच सहमति नभएका विषयलाई थाती राखेर संविधान जारी गर्नुपर्ने बताइन् । उनले निर्धारित समयमा संविधान जारी नभए मुलुकमा अन्योल छाउने भएकाले जसरी भए पनि संविधान जारी गर्नेतर्फ दलहरु क्रियाशील हुनुपर्नेमा जोड दिइन् ।
No comments:
Write comments