top_rightads

Tuesday, September 16, 2014

काठमाडौँमा थेप्चो नाकलाई चुच्चे बनाउँदैं चिकित्सक !!

 









काठमाडौं– मंगोलियन मूलकी ब्युटिसियन निशा राई (नाम परिवर्तन)लाई आफ्नो जातिको पहिचान दिने थेप्चो नाक मन परेको थिएन । उनलाई सानैदेखि आर्य मूलको अर्थात् चुच्चो नाक मन पथ्र्र्यो । ‘चाहेर मात्र जन्मजात अनुहार फेर्न सकिँदो रहेनछ’, केही समयअघिसम्म उनी चुच्चो नाक बनाउन मन लागेको कुरा साथीहरूमाझ यसैगरी व्यक्त गर्थिन् ।




 तर, २६ वसन्त पार गर्दा उनी सानैदेखिको चाहना पूरा गर्न सफल भइन् । वसुन्धरास्थित कान्तिपुर जनरल एन्ड डेन्टल हस्पिटलमा गत सोमबार भएको राइनोप्लास्टी सर्जरीबाट उनको जन्मजात नाकको स्वरूप बदलियो । कस्मेटिक सर्जन डा. अनिश गोर्खालीको नेतृत्वमा ओरल एन्ड म्याग्जिलो फेसियल सर्जनद्वय डा. सुमित सिंह र विकास देशारको समूहले साढे पाँच घन्टा लगाएर उनको नाकको स्वरूप परिवर्तन गरेको हो ।

 चिकित्सकहरूका अनुसार फेसियल कस्मेटिक सर्जरीअन्तर्गतको ‘राइनोप्लास्टी सर्जरी’ उपचारका लागिभन्दा व्यक्तिको सौन्दर्यमा निखारता ल्याउनका लागि गरिन्छ । कहिलेकाहीँ दुर्घटनामा परेर नाक भाँचिदा वा अन्य कारणले नाकको स्वरूप बिग्रँदा पनि यस्तो सर्जरी गरिन्छ । राइनोप्लास्टी सर्जरीमार्फत थेप्चो नाकलाई चुच्चो बनाउन चिकित्सकले नाकको भित्रपट्टिबाट प्वाल (टनेल) बनाई कानको पछाडिको मासुको भाग ‘कार्टलेज’ वा ‘आर्टिफिसियल ग्राप्स’ भरी दिन्छन् ।



 तर, अमेरिकामा निर्मित ‘आर्टिफिसियल ग्राप्स’ महंगो पर्ने भएकाले त्यस्तो सर्जरी गराउनेकै कानको पछाडिबाट झिकिने ‘कार्टलेज’ को प्रयोग हुने गरेको छ । त्यसरी अग्लो बनाउँदा ०.५ मिलिमिटरदेखि १.५ मिलिमिटरसम्म अग्लो बनाउन सकिन्छ । यद्यपि सर्जरीपछि चाहेअनुसारको स्वरूपमा नाक बदलिन कम्तीमा एक साता लाग्ने डा. देशारको भनाइ छ । यस्तो सर्जरीका लागि ४० हजारदेखि ८० हजार रुपियाँसम्म लाग्ने अस्पतालले जनाएको छ । यसअन्तर्गत थेप्चोलाई चुच्चो बनाउन मात्रै चुच्चोलाई थेप्चो बनाउन, लामोलाई छोटो र छोटोलाई लामो बनाउन सकिने चिकित्सकले बताएका छन् ।

 दुर्घटनामा परेका व्यक्तिको मुख, दाँत तथा अनुहारको स्वरूप नै अंगभंग हुने गरी लागेको चोटलाई सहीआकारमा ल्याई उचित उपचारका लागि केही महिनादेखि सुरु गरेको ओरल एन्ड म्याग्जिलो फेसियल सर्जरीलाई निरन्तरता दिने क्रममा अस्पतालले यस्तो सेवा सुरु गरेको हो । अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले अस्पतालले फेसियल सर्जरीअन्तर्गत न्याजल ब्रिज, ओटोप्लास्टी, व्रिङ्खलोप्लास्टी (बढ्दो उमेरसँगै आँखाको माथि झुलिने छालाको सर्जरी)लगायतका सेवा सुरु गरिसकेको बताए । उनले अस्पताललाई म्याग्जिलो फेसियल ट्रमा सेन्टरको रूपमा विस्तार गरिँदै लगिने जानकारी दिए ।(स्वास्थ्य खबर पत्रिका)

No comments:
Write comments