Monday, October 27, 2014
भर्खरैको ताजा अपडेट..विश्वको तेस्रो खराब त्रिभुवन बिमानस्थलको बिजोग : ठेकेदार र मन्त्रि कार्यकर्ताको मिलेमतो
काठमाडौं :
- फोहोर शौचालय, शौचालयमा पानी र ट्वाइलेट पेपरको अभाव ।
- यात्रुलाई आफ्नो सामान प्राप्त गर्न लामो समय कुर्नुपर्ने, अपर्याप्त र अस्तव्यस्त ट्रली।
- साँघुरो स्थानले भीडभाड एवं सामान हराउने।
- आवागमनतर्फको यात्रु प्रतीक्षालयमा अधुरो निर्माण भएको कफी सप, खाली भित्ते दराज अनि कफी खाएर फ्याँकिएका कागजका कपको डंगुर।
- विदेशी पर्यटकलाई ट्याक्सीवालाको तानातान।
अघिल्लो बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शान्तराज सुवेदीको नेतृत्वमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण गर्न गएको टोलीका एक सदस्यले दिएका केही प्रतिक्रिया हुन् यी।
एक वेबसाइटले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विश्वको तेस्रो खराब र एसियाको दोस्रो खराब एअरपोर्टमा परेको सूची प्रकाशित गरेपछि सुवेदीको नेतृत्वमा सरकारी टोली बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण गर्न गएको थियो।
'संसारभर अन्तर्राष्ट्रिय विमानस्थलका केही सर्वमान्य स्तर हुन्छन्', सुवेदी भन्छन्, 'तर, हाम्रो विमानस्थलमा ती केही पनि नभएको पाइयो।' उनका अनुसार विदेशी पर्यटकलाई कुनै पनि राष्ट्रको पहिलो छवि बनाउन मद्दत गर्ने अन्तर्राष्ट्रिय विमानस्थलको दुर्दशाले दीर्घकालमा पर्यटक आवागमनमै असर पर्ने देखिएको छ।
विमानस्थलमा प्राप्त हुने ग्राहक सेवा, सुविधा, आराम, सरसफाइजस्ता प्रमुख विषयले अन्तर्राष्ट्रिय स्तरमा विमानस्थलको वर्गीकरण गर्ने प्रचलन छ।
अनुगमन टोलीले तत्काल एवं दीर्घकालमा सुधार गर्न यसअघि गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा शीघ्र समस्या सम्बोधन समूह पुनर्गठन गरेको छ। टोलीले विशेष गरी सरसफाइमा ध्यान दिनुपर्ने सुझाव दिएको छ।
विमानस्थलका कर्मचारीले आफ्नो जिम्मेवारीअनुसार काम गरेनगरेको नियमित अनुगमन गर्नुपर्ने पनि टोलीले ठहर गरेको छ। विमानस्थलजस्तो संवेदनशील स्थलमा तोकिएको जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई तत्काल कारबाही गर्न पनि टोलीले निर्देशन दिएको छ।
सुवेदीका अनुसार प्रत्येक शौचालयमा स्ट्यान्डबाई सफाइ गर्ने व्यक्ति राख्न, साबुन, पानी, हात पुछ्ने व्यवस्था अद्यावधिक गर्न, यसको नियमित निरीक्षण र सुपरीवेक्षण गर्न टोलीले निर्देशन दिए पनि त्यसअनुसार काम हुन सकेको छैन। विमानस्थलका कर्मचारी भने ठेकेदारले समयमा सरसफाइका सामान उपलब्ध गराउन नसक्दा समस्या भएको बताउँछन्।
'
पछिल्लो समयमा विमानस्थलमा अन्तर्राष्ट्रिय स्तरको सरसफाइ कायम हुन नसक्नुमा ठेकेदारको चरम लापरबाही नै प्रमुख कारण हो', विमानस्थलका कर्मचारी भन्छन्। बिनाप्रतिस्पर्धा ठेकेदार छनोटका कारण पनि लापरबाही बढेको उनीहरूको ठहर छ।
कुनै पनि राष्ट्रको पहिलो छवि बनाउन मद्दत गर्ने अन्तर्राष्ट्रिय विमानस्थलको दुर्दशाले दीर्घकालमा पर्यटक आवागमनमै असर पर्ने देखिएको छ।
- शान्तराज सुवेदी सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
'अन्य सरकारी संस्थाको झैं अन्तर्राष्ट्रिय विमानस्थलको रोग पनि मन्त्रीले आफ्ना कार्यकर्ता भर्तीकेन्द्र बनाउनु हो', उनीहरूको गुनासो छ, 'प्रत्येक मन्त्रीले आफ्ना कार्यकर्तालाई आफू मन्त्री भएको बेलामा सक्दो भर्ना गरेका छन्। मन्त्रीका मान्छे किन शौचालय सफाइ गर्छन्?'
तर, सुवेदी भने लापरबाही भएको पाइए कारबाहीसम्म गर्ने बताउँछन्। 'सोमबार गृह मन्त्रालयका सहसचिवको नेतृत्वको शीघ्र समस्या सम्बोधन समूहले लिखित निर्देशन प्राप्त गरेको छ', उनले भने, 'एक सातापछि शीघ्र समस्या सम्बोधन समूहले तत्काल सुधारको विवरण दिनेछ।'
टोलीले अध्यागमन, भन्सार, श्रम डेस्क, सुरक्षा व्यवस्था, बैंकलगायतका सुविधा विमानस्थलमा उपलब्ध हुनैपर्ने सेवा सुविधालगायतका विषयमा नियमित अनुगमन गर्न र समस्या तत्काल सम्बोधन गर्न एवं विमानस्थल सुधारका लागि सरकारलाई सुझाव दिन पनि निर्देशन दिएको छ।
नेपाल भ्रमणमा आउने विदेशीले पहिलो पटक पाइला राख्ने विमानस्थलमै यो अवस्था भएपछि त्यसको नकारात्मक असर पर्ने गरेको छ। विमानस्थल अन्तर्राष्ट्रिय मापदण्डअनुसार नहुँदासम्म विदेशी पर्यटक आकर्षित गर्न कठिन छ।
सचिव सुवेदी भन्छन्, 'विदेशीले विमानस्थलमा विविध असहज महसुस गरिरहेका छन् तर तत्काल भौतिक, मनोवैज्ञानिक तथा प्रवृत्तिगत सुधार गरी अन्तर्राष्ट्रियस्तरको मापदण्डअनुरूप बनाउनु पहिलो आवश्यकता हो।'
भीडभाड नियन्त्रण गर्न विशिष्ट व्यक्तिको आगमन तथा प्रस्थानमा स्वागत र बिदाइ गर्न विशिष्ट कक्षमा जाने व्यक्तिको संख्या नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिएको भन्दा बढीलाई प्रवेश गर्न नदिन पनि टोलीले सुझाव दिएको छ।
'विमानस्थलको शान्तिसुरक्षा, चुस्त, दुरुस्त र यात्रुलाई सहज तथा झन्झटिलो नहुने भयमुक्त किसिमको हुने गरी व्यवस्थापन गर्न निर्देशन दिएका छौं', सुवेदीले भने, 'अध्यागमन, वैदेशिक रोजगार डेस्क तथा बैंकको कार्य सरल र शीघ्र सम्पादन हुने गरी समयानुसार परिवर्तन गर्न पनि निर्देशन दिइएको छ।'
टोलीले विमानस्थलको आगमन, प्रस्थान तथा विश्राम कक्षमा भीडभाड हुन नदिन, विमानस्थलभित्र इन्टरनेट, वाइफाई, ट्रली, टेलिफोन, ट्याक्सीलगायतका सेवा चुस्त र भरपर्दो बनाउन पनि जोड दिएको छ।
अध्यागमनका आगमन तथा प्रस्थान काउन्टर मर्मतसुधार गरी सहज र आक र्षक बनाउन तथा आसन्न सार्क सम्मेलनलाई समेत ध्यानमा राखी विमानस्थलपरिसर सम्पूर्णको स्तरोन्नति, व्यवस्थापन सुधार र सेवाग्राहीलाई सहज सेवा र स्तरीय सुविधा उपलब्ध गराउन पनि टोलीले निर्देशन दिएको छ।
annapurnapost.com
Similar Posts
About Unknown
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments