top_rightads

Friday, October 17, 2014

काम दिने बहानामा शोषण गर्न खोज्‍छन्

 

लगभग १० वर्षअगाडि कोरस नृत्यबाट करिअर सुरु गरेकी नीरू खड्काले हास्यकलाकारितामा आफ्नो पहिचान बनाएकी छन्। हास्यटेलिशृंखला, स्टेज प्रस्तोता तथा म्युजिक भिडियो मोडलिङमा समेत उनको दक्खल छ। आफ्नै बलबुता र मेहनतले यस क्षेत्रमा सफलता हासिल गरेकी कलाकार नीरू खड्कासँग अन्‍नपूर्णकर्मी नितु घलेले गरेको कुराकानी :

कलाकारिता कसरी चल्दैछ?

अहिले देशभर कार्यक्रम भइरहेका छन्। स्टेज कार्यक्रममा बढी समय जान्छ। त्यसपछि म्युजिक भिडियो, सिरियलमा पनि काम गर्दैछु।

यस क्षेत्रमा चिनाउने तपाईंको भूमिका?

टेलिसिरियल 'थोरै भए पुगिसरी'को अरुन्धतीको भूमिकाले मलाई यस क्षेत्रमा स्थापित गरेको हो। मेरो अभियनयात्रामा यो भूमिका आधार बन्यो। यस टेलिसिरियलमा मैले एउटी दु:खी महिला जसले अन्धविश्वासका कारण छोरीमात्रै जन्माउँदा भोग्नु परेको समस्यालाई निर्वाह गरेकी छु।

थोरै भए पुगिसरी अगाडि?

त्योभन्दा अगाडि सडकनाटक र चलचित्रमा कोरस नृत्य गर्थें। मेरो खास पहिचान थिएन।

हास्यअभिनेत्री, स्टेज प्रस्तोता र मोडलमध्ये कुन पहिचान प्यारो लाग्छ?

यी सबै समय र अवसरअनुसार गरिने भूमिका हुन्। यही पहिचानभन्दा पनि समग्रमा एउटी सफल महिला कलाकारका रूपमा म रहन चाहन्छु।

अहिलेसम्म आफूले गरेकामध्ये सबैभन्दा मन परेको भूमिका?

हास्य टेलिसिरियल 'मेरी बास्सै'की निर्मली मलाई मन पर्ने भूमिका हो। दर्शकले मलाई निर्मली नामले धेरै चिन्छन्। यो सिरियलमा मलाई ठ्यासकुमारी पनि भन्छन्। रिसको हाउभाउ हातले गरेर देखाउने भएकाले मलाई यो नामले चिनिएको हो।

तपाईंको मूल्यांकनमा दर्शकले सबैभन्दा मन पराएको भूमिका?

मेरो विचारमा दर्शकले धेरै मन पराएको भूमिका 'थोरै भए पुगिसरी'को अरुन्धती नै हो। यसमा एउटी ३५ वर्षकी महिलाको भूमिका मैले गरेकी छु।

कला क्षेत्रमा १० वर्षको अवधिमा भोग्नु परेका अप्ठ्याराहरू?

सबै क्षेत्रमा नकारात्मक र सकारात्मक कुरा हुन्छन्। कला क्षेत्रमा काम गरेर पनि कहिलेकाहीँ पारिश्रमिक नपाउँदा दु:ख लाग्छ। कहिले काम दिने बहानामा शोषण गर्न खोज्छन्। तर, भगवान्को कृपाले आजसम्म मैले कसैको शारीरिक र दबाबको सामना गर्नु परेको छैन। आफूले गरेका ९० प्रतिशत कामको पारिश्रमिक पाएको छु। केही काम समाजसेवा र सहयोगका लागि पनि गर्नुपर्ने हुन्छ।

कला क्षेत्रमा महिलाको अवस्था?

पहिलेको तुलनामा अहिले महिलाको अवस्था राम्रो छ। महिला धेरै अगाडि आइसकेका छन्। विस्तारै महिला निर्देशक आउन थालेका छन्। निर्देशन तथा भूमिका दुवैमा महिलाको अवस्था सबल बन्दै गएको छ। तर पनि महिलाकेन्द्रित कथा अझै बन्न सकेका छैनन्।

यस क्षेत्रमा लागेर आत्मनिर्भर बन्न सकिन्छ?

अनुशासित र लगनशील भएर मेहनत गर्न सक्दा पक्कै पनि आत्मनिर्भर बन्न सकिन्छ। तर, अवसरका लागि कहिलेकाहीँ पापड बेल्नुपर्ने अवस्था अझै छँदैछ।

कामअनुसार पारिश्रमिक दिँदैनन् भनिन्छ नि?

टेलिसिरियलको कुरा गर्दा राम्रो मान्छे र प्रोजेक्ट छ भने राम्रै हुन्छ। कामअनुसार पारिश्रमिक पाइन्छ। तर, ठग्न खोज्नेहरूको पनि कमी छैन।

कला क्षेत्रमा प्राप्त सफलताको श्रेय कसलाई दिनुहुन्छ?

पहिलो कुरा त परिवारको साथ नै ठूलो कुरा हो। त्यसपछि दर्शक र अवसर प्रदान गर्ने निर्माता, निर्देशक सबैलाई यो श्रेय जान्छ।

No comments:
Write comments