काठमाडौ, मंसिर २३ - सार्क सम्मेलनका बेला सडक छेउछाउ रोपिएका फूल, दूबो र स-साना बिरुवा भाँच्दै-कुल्चिँदै मानिसले जथाभावी बाटो काटेका तस्बिर सार्वजनिक हुनेबित्तिकै यस्तो कामको सर्वत्र आलोचना भयो । इन्टरनेटका सामाजिक सञ्जाल साइटहरूमा तस्बिर पोस्ट गरेर असभ्य कर्म निरुत्साहित गर्ने एक प्रकारको 'भर्चुअल' अभियान नै सुरु भएपछि काठमाडौँको तीनकुने-माइतीघर सडकखण्डमा रखवारीका लागि प्रहरी नै तैनाथ गरियो ।
यसअघि जेठको पहिलो साता उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले रत्नपार्कमा जेब्राक्रसिङबाट नभई बीच सडकको डोरी नाघेर बाटो काटेको घटनाबारे पनि सबैतिर टीकाटिप्पणी भए । मूलधारका कतिपय मिडियामा यही घटनाको आलोकमा कार्टुनचित्र बनाइए । आलोचना बढ्दै गएपछि गृहमन्त्री गौतम स्वयंले 'त्यो बाध्यताको उपज रहेको' स्वीकारे ।
सहरी जनजीवनमा अनुशासन मिचिएका घटना हरेक दिन दोहोरिन्छन् । उपत्यकाको यातायात क्षेत्र त झन् विरक्त लाग्दो छ । सार्वजनिक गाडीले मनपरी स्थानबाट मान्छे चढाउने र झार्ने दृश्य सामान्य हो । गाडीभित्र खानेकुरा खाने र खोल झ्यालबाट मिल्काउने, अशिष्ट शब्द प्रयोग गर्ने, दोस्रो व्यक्तिलाई दुव्र्यवहार गर्ने, सडकमा धूम्रपान गर्दै मच्चिँदै हिँड्ने, जथाभावी थुक्ने, आकाशेपुल प्रयोग नगरी बाटो काट्ने, अस्पताल र विद्यालयअगाडि चर्को हर्न बजाउने, छेउकुनामा शौच गर्ने, शौचालयका भित्तामा जथाभावी लेख्ने र जथाभावी फोहर मिल्काउने, ट्राफिक नियमविपरीत मनलाग्दी सवारी साधन हाँक्नेजस्ता कार्यले सहरी अनुशासनको परिचय दिँदैनन् ।
यतिसम्म कि, हामीले शिष्टाचारका न्यूनतम ज्ञानसमेत आर्जन गर्न सकेका छैनौँ । पसलमा कुनै सामान किन्दा धन्यवाद टक्र्याउने फुर्सदसमेत हुँदैन । घरमा चर्को स्वरमा क्यासेट घन्काएर छिमेकीलाई दिक्कै पार्नेहरू त टोलटोलमा भेटिन्छन् । "नियम-कानुन, आचरण र मानवीय हिसाबले पनि राम्रा नमानिने यस्ता गतिविधिका पछाडि हाम्रो निश्चित चरित्र र स्वभावले काम गरिरहेको हुन्छ," मानवशास्त्री डिल्लीराम दाहाल भन्छन्, "यस्ता कुरा कतिपय अवस्थामा परिस्थितिजन्य पनि हुन्छन् । मूलतः यो हाम्रो समाज र संस्कृतिसँग जोडिएको कुरा हो ।"
असभ्यताको आयाम
व्यवहार र शैलीको निर्माण भनेको सामाजिक प्रक्रिया हो । यो हाम्रो धर्म, राजनीति, संस्कृति, प्रशासन, कानुन र शिक्षासँग पनि अन्तरसम्बन्धित हुन्छ । झन् उपत्यकाजस्तो सहरीकरणको चपेटामा परेको र देशको सबैभन्दा ठूलो प्रशासनिक स्थानमा व्यक्तिगत व्यवहारको रूपान्तरण प्रक्रिया तीव्र र स्वाभाविक मानिन्छ । निम्न वर्गका श्रमजीवी त छँदै छन्, मध्यमदेखि उच्च वर्गसम्मले बसोवास गर्ने सहरमा अनेकन् समुदायका व्यक्ति, उनीहरूका आ-आफ्नै प्रकारका सामाजिक र सांस्कृतिक पृष्ठभूमि एवं मनोविज्ञानको छनक देख्न सकिन्छ । हरेक दिन देशका विभिन्न भागबाट नयाँ मान्छे भिन्नभिन्न उद्देश्य बोकेर सहर आउने-जाने क्रम चलिरहन्छ । त्यसैले काठमाडाँैको मनोदशा तरल प्रकृतिको छ, जसको प्रतिविम्ब मान्छेका व्यवहार, बोलीचाली र खानपिनका शैलीमा देखिन्छ ।
उपभोग प्रवृत्ति पनि यसबाट अछुतो रहन सक्दैन । जस्तो : रेस्टुराँ या रिसेप्सनहरूमा सहभागी सबैको खाने शिष्टता एउटै हुँदैन । बोल्दा चयन गर्ने शब्द र प्रतिक्रियाका भंगी एउटै हुँदैनन् । सार्वजनिक समारोहमा कसैले मञ्चबाट केही बोलिरहेको छ भने मोबाइलको घन्टी बजाउने, छेउछाउमा कुरा गर्ने र हाँस्ने/गफिनेहरू पनि देखिन्छन् । यतिसम्म कि, संसद् चलिरहेका बेला मोबाइल फोनमा गफिँदै गरेका सांसद पनि टेलिभिजनका प्रत्यक्ष प्रसारणमा देख्न सकिन्छ । "सहरी समाजमा मुस्कानको मूल्यसमेत लोप होला भन्ने खतरा देखियो । हाँस्दा पनि पैसा लाग्ला कि भनेजस्तो समाजमा लापरबाहीका घटना देखिनु नौलो रहेन," मानवीय व्यवहार र सद्भाव सिर्जनाका निम्ति शिष्टाचार अभियान चलाइरहेका सुमन दाहाल भन्छन्, "सबै कुरा सरकारले गर्नुपर्छ भन्ने तर आफ्नो व्यवहारको ऐना नहेर्ने चलन राम्रो होइन । व्यक्तिले चाहेमा सभ्य हुन सक्छन् । नजानेको सिक्न सक्छन् ।"
कर्पोरेट संस्कृतिका जानकार सुजीव शाक्यको विचारमा हाम्रो मौलिक सोच नै सामन्ती चरित्रको भएकाले त्यसको प्रभाव सहरी सभ्यतामा पनि परिरहेको छ । घरभित्रै आफूले खाना खाएको प्लेट माझ्ने ठाउँसम्म नलैजाने पुरुषहरू घरको सरसफाइ सबै महिलाले गरिदिऊन् भन्ने चाहन्छन् । पुरुष मात्र होइन, कतिपय महिला पनि यस्तो सोचबाट ग्रस्त हुन सक्छन् । यो मनोभाव कार्यालय र सामाजिक जीवनमा पनि प्रतिविम्बित हुन्छ । "यस्ता मान्छे पनि छन्, जो एउटा गोरो छाला भएको विदेशीलाई भेट्नुपर्यो भने नुवाइधुवाइ गरेर नयाँ पहिरन लगाएर जाने तर एक नेपालीलाई भेट्नुपर्यो भने चल्छ भन्दै जाथाभावी पहिरनमा भेट्ने," शाक्य भन्छन्, "यस्तै मनोविज्ञान भएका मान्छेले नै हो, सार्वजनिक रिसेप्सनमा पनि खाँदै गरेको मासुको हड्डी प्लेटमा नराखी फुत्त बाहिर मिल्काउने ।"
इन्जिनियर माधवभक्त माथेमा भने कतिपय सन्दर्भमा व्यक्तिको गल्तीको जरो राज्यले तय गर्ने सहरको योजनासम्म जोडिएको ठान्छन् । योजना भनेको भौतिक पूर्वाधारको कुरा मात्र होइन । यसको उपभोग पद्धति र अनुशासनको कुरा पनि हो, त्यसैले यो राजनीतिक पनि हो । मानिसलाई ती सम्पत्तिसँग जोडिएका आवश्यक सबै ज्ञान तथा जानकारी सम्बन्धित पक्षले दिनुपर्छ । त्यो राज्यको कर्तव्य हो, जुन पूरा भएको देखिन्न । "काठमाडौँ उपत्यकाका सडकलाई वर्गीकरण गर्ने कामसमेत भएको छैन भनेपछि हामीले स्वीकार्नैपर्छ, योजनाका मौलिक र आधारभूत कुरामै हामी चुकेका छौँ," इन्जिनियर माथेमा भन्छन्, "सडक जाम हुने, ठाउँठाउँमा ढल फुट्ने, हिलो छ्याप्दै हिँड्नेजस्ता दृश्य यसैका परिणति हुन् । सिद्धान्तहीन योजनाको परिणाम भोगिरहेका छौँ हामी ।"
अर्को कुरा, योजना बनाएर मात्र हुँदैन, त्यसको मर्मतसम्भार र पुनःनिर्माण सबैभन्दा महत्त्वपूर्ण पाटो हो । बस्ती, सडक र भवनको कुरा मात्र होइन, सांस्कृतिक सम्पदा र नदीहरूको हकमा पनि यही कुरा लागू हुन्छ । त्यसका लागि सबैलाई सचेत पार्ने काम सरकारको हो । ठूल्ठूला योजनाका सपना देखाउनुभन्दा भएका कुरालाई व्यवस्थित गर्ने उपायस्वरूप स-साना काममा ध्यान दिन सकियो भने कम्तीमा सहरी सभ्यताको एउटा मानक तयार हुन सक्छ । "सडकको स्वरूप हेर्ने हो भने जापानको राजधानी टोकियोमा पनि स-साना गल्ली छन् तर त्यहाँ व्यवस्थापन गर्ने तरिका परिष्कृत र चुस्त छ," राष्ट्र संघीय एजेन्सीको कामका सिलसिलामा विश्वका विभिन्न देश पुगेका माथेमा अनुभव सुनाउँछन्, "सबैभन्दा महत्त्वपूर्ण कुरा सहरी सभ्यताका नियमबारे सर्वसाधारणसम्म जानकारी पुग्नुपर्यो ।"
पहिले सिकाउने, नभए दण्ड
ठूल्ठूला भवन, फराकिला बाटा, झलमल्ल बिजुली, बाटोभरि सवारी साधन, मल तथा फिल्म हलहरूमा मान्छेको भीड भौतिक आधुनिकीकरणका सूचक हुन्, सभ्यताका होइनन् । अनुशासन त सभ्यताभित्रको एउटा महत्त्वपूर्ण हाँगो हो । हाम्रो सभ्यताको कडी धार्मिक आदर्श र ग्रामीण संस्कृति हो । हाम्रो धर्मले पाकालाई सम्मान गर्न र सानालाई माया गर्न सिकाएको छ । ग्रामीण संस्कृतिले परिश्रमी हुन सिकाएको छ । तर, आधुनिकीकरणले सापेक्ष व्यवहार सिकाएको छैन । "हामीले सहरी सभ्यता पश्चिमाबाट लिएको हुनाले पनि अझै यसलाई स्वीकार गर्ने प्रक्रियामा छौँ," मानवशास्त्री दाहाल भन्छन्, "त्यसैले पनि यस्ता गल्ती देखिन्छन् । तर, यी गल्ती सच्याउनैपर्ने खालका छन् ।"
मानवशास्त्री दाहालका भनाइमा खास गरी सहरी परिवारमा बालबालिकालाई सानैदेखि सहरी अनुशासनबारे जानकारी दिन सकियो भने त्यसको प्रभाव सामाजिक जीवनमा देखिन्छ । अर्को सिकाउने स्थान भनेको विद्यालय हुन् । सहरका विद्यालयमा अध्यापन गर्ने शिक्षकमा पनि यसबारे पर्याप्त ज्ञान हुनु आवश्यक छ । पाठ्यक्रम पनि सहरी जीवन सापेक्ष बनाइनुपर्छ । विभिन्न विद्यालयमा पुगेर विद्यार्थीलाई शिष्टाचारबारे सिकाइरहेका सुमन दाहाल भन्छन्, "मीठो बोल्न, मुस्कुराउन र नम्र हुन सिकाउँदा पनि उनीहरूले धेरै थोक सिकिरहेका हुन्छन् ।" यस सँगसँगै विद्यालयहरूले जेब्राक्रसबाट बाटो काट्न, बाटोमा फोहर नफाल्न र सार्वजनिक यातायातमा अरूलाई असर पुग्ने व्यवहार नगर्न सिकाए भने त्यसको प्रभाव बालबालिकामा सानैदेखि पर्छ ।
सहरी सभ्यता र यसबारे ज्ञान विनिमय हुने स्रोत भनेको स्वयं सहरी समाज नै हो, जसलाई मानसिक आधुनिकीकरण भनिन्छ । "सधैँ प्रहरीले डन्डा देखाएर पनि साध्य हुँदैन । यस्ता न्यूनतम कुरा सिकाउनैपर्छ, नत्र लाज भइरहन्छ," मानवशास्त्री दाहाल भन्छन्, "सांस्कृतिक पछौटेपन राम्रो कुरा होइन ।" सहरमा जान्दाजान्दै र बुझ्दाबुझ्दै पनि गल्ती गर्नेहरू छन्, त्यस्तो अवस्थामा अनुगमन र दण्डबाहेक अरू उपाय छँदै छैन ।
असभ्यता अनेकौँ
अश्लील शब्दको प्रयोग
सार्वजनिक यातायातमा चालक र सहयोगी मात्र होइन, कतिपय यात्रु पनि मनपरी ढंगमा कुराकानी गरिरहेका भेटिन्छन् ।
दुव्र्यवहार
सवारी साधन र सडकमा समेत खास गरी महिलामाथि दुव्र्यवहारका हर्कत हुने गरेका छन् ।
ध्वनि प्रदूषण
चर्को स्वरमा गीत घन्काएर टोलछिमेक थर्कमान पार्नेहरू त भइहाले, सडकमा अनावश्यक हर्न बजाएर ध्वनि प्रदूषण गराउने पनि छन् ।
पार्किङ
जहाँ पायो त्यहीँ सवारीसाधन पार्किङ गरिएका हुन्छन् ।
आकाशेपुलको अपहेलना
मानिस आकाशेपुल मुन्तिरबाटै बाटो काटिरहेका देखिन्छन् ।
शौच
बाटो छेउछाउमै शौच गर्ने लगभग परम्पराजस्तै बनेको छ ।
धूम्रपान
सार्वजनिक स्थान, बाटोघाटो र कहिलेकाहीँ सार्वजनिक यातायातमा समेत चुरोट पुत्याइरहेका दृश्य सामान्य हुन् ।
तोडफोड
सार्वजनिक सम्पत्तिमा हानि पुर्याएर आफ्नो आक्रोश अभिव्यक्त गर्ने प्रवृत्ति आन्दोलनका क्रममा बढी देखिन्छ ।
फोहर
नदी किनार या सडकमा फोहर मिल्काएर हिँड्ने प्रवृत्ति छ । थुक्दै हिँड्नेको कमी छैन । घरमा पालेका कुकुरलाई सडक र सार्वजनिक स्थलमा ल्याएर मलमूत्र त्याग्न लगाइन्छ ।
जेब्रा क्रसिङमा अटेरी
मोटरसाइकल, कार, बस र माइक्रो रोकिँदैनन् । यात्रुले धेरै बेर पर्खिनुपर्छ ।
No comments:
Write comments