top_rightads

Tuesday, December 2, 2014

मधुमेह एक नयाँ महामारी..कसरि बच्ने ?

 

के हो मधुमेह ?
मधुमेह रगतमा चिनीको मात्रा बढी हुने रोग हो । इन्सुलिन नामक हर्मोनको उत्पादनमा कमी आउँदा वा इन्सुलिनले काम गर्न नसक्दा मधुमेह हुन्छ । इन्सुलिनले रगतको ग्लुकोजलाई शक्तिका रूपमा प्रयोग गर्न सहयोग गर्दछ । साथै बढी भएको ग्लुकोजलाई ग्लाइकोजनमा परिणत गरी सञ्चय गर्छ । तर, इन्सुलिनको कमी भएपछि शरीरले ग्लुकोजलाई प्रयोग गर्न र ग्लाइकोजनको रूपमा सञ्चय गर्न सक्दैन र रगतमा ग्लुकोजको मात्रा अनावश्यक बढ्न जान्छ । बिहान खाली पेटमा रगत जाँच्दा चिनीको मात्रा १२६ मिलिग्रामभन्दा बढी देखियो भने ब्लड सुगर बढेको मानिन्छ ।

 यदि १०० देखि १२६ मिलिग्रामको बीचमा देखियो भने मधुमेह रोग लाग्ने सम्भावना भएकोे मानिन्छ । त्यस्तै खाना खाएपछि सुगर दुई सय मिलिग्रामभन्दा बढी देखिएमा पनि ब्लड सुगर बढेको मानिन्छ भने १४० देखि १९९ सम्म भएमा मधुमेहको जोखिम मानिन्छ ।  रगतमा ग्लुकोजको मात्रा १८० मिलिग्रामभन्दा बढी पुगेको अवस्थामा मात्र पिसाब जाँचेर मधुमेह पत्ता लगाउन सकिन्छ । एउटा स्वस्थ व्यक्तिको रगतमा ग्लुकोजको मात्रा नियन्त्रित हुन्छ । ८–१० घण्टा मानिस भोकै रहँदा पनि रगतमा ग्लुकोजको मात्रा ७०–१०० मिलिग्रामको बीचमा रहन्छ भने खाना खाएको २ घण्टामा जाँच्दा यो मात्रा करिब १४० मिलिग्रामसम्म पुग्न सक्छ ।




मानिसले खाएको खाना शरीरभित्र ग्लुकोजमा परिवर्तन हुन्छ । मानव शरीरको प्रमुख शक्तिको स्रोत ग्लुकोज हो । शक्ति शरीरभित्र रहेका सेल्स (कोशिकाहरू) भित्र हुन्छ । ग्लुकोजलाई रगतबाट कोशिकाभित्र प्रवेश गराउने काम इन्सुलिनले गर्छ । इन्सुलिन पेटको प्यान्क्रियाज ग्रन्थीले उत्पादन गर्छ । यो ग्रन्थी रोगग्रस्त भएको अवस्थामा पर्याप्त मात्रामा इन्सुलिन उत्पादन हुन सक्दैन । फलस्वरूप ग्लुकोज कोशिकाभित्र प्रवेश गर्न नसकी रगतमै थुप्रिएर बढ्दै जान्छ र पिसाबबाट बाहिर निस्कन थाल्छ । यसले गर्दा शक्ति उत्पादनमा प्रयोग हुनुपर्ने ग्लुकोज त्यत्तिकै खेर जान थाल्छ ।
यो अवस्थामा रगतमा ग्लुकोजको मात्रा अत्यधिक बढेको हुन्छ भने कोशिकामा शक्तिको उत्पादन हुन नसकेर शरीर कमजोर हुँदै जान्छ । यही अवस्थालाई डाइबिटिज वा मधुमेह भनिन्छ । मधुमेहलाई चार किमिसमका वर्गीकरण गर्न सकिन्छ – टाइप वान, टाइप टु, जेस्टेस्नल र सेकेन्डरी ।
टाइप वान
यसमा इन्सुलिनको उत्पादन शून्य हुन्छ । त्यसैले यसलाई इन्सुलिनमा निर्भर रहने मधुमेह भनिन्छ । कुल मधुमेह रोगीको करिब १० प्रतिशतमा पाइने टाइप वान मधुमेह प्रायः बालबालिका र दुब्ला मानिसमा देखिन्छ । मधुमेहको लक्षण पनि छिटो देखापर्छ । यसमा इन्सुलिन सुई लिनैपर्ने हुन्छ । छिनछिनमा पिसाब लाग्ने, भोक तथा तिर्खा बढी लाग्ने, तौल अचानक घट्ने, अधिक थकान महसुस हुने यसका लक्षण हुन् । यो मधुमेह प्यान्क्रियाजमा भाइरसको संक्रमण, अटो इम्युन (आर्फ) र ५ प्रतिशतजति वंशाणुगत कारणले हुन्छ । यो अधिकांश आफंै हुने मधुमेह भएकाले यसबाट बँच्ने कुनै उपाय हँुदैन ।
टाइप टु
टाइप टु मधुमेह लाग्दा इन्सुलिनको उत्पादन पर्याप्त मात्रामा हुँदैन र इन्सुलिनले उचित मात्रामा काम पनि गर्न सक्दैन । यो मधुमेह नेपालमा सबैभन्दा बढी देखिएको छ । करिब ९० प्रतिशत मधुमेह रोगीमा टाइप टु मधुमेह पाइन्छ । यो प्रायः ४० वर्षभन्दा बढी उमेरका मानिसलाई देखिने भए पनि केहीलाई २० वर्षमा पनि देखिएको छ । मोटोपना र अस्वस्थकर जीवनशैलीबाट बढी हुने भएकाले यसलाई नियन्त्रण गर्न सकिन्छ । केहीलाई वंशाणुगत कारणले पनि हुन्छ । यदि वंशजमा छ भने जीवनशैली परिवर्तन गरे केही हदसम्म यसबाट बँच्न सकिन्छ । यो ३० देखि ५० प्रतिशतलाई कुनै पनि लक्षणबिनै देखिन सक्छ । शरीर कमजोर हुने, खुट्टा झमझम गर्ने, पिसाबमा कमिला लाग्ने, लामो समयसम्म घाउ निको नहुने यसका लक्षण हुन् । समयमै ध्यान दिए यो मधुमेहबाट बँच्न सकिन्छ ।

जेस्टेस्नल (गर्भावस्थामा हुने)
यो मधुमेह गर्भावस्थामा देखिन्छ र बच्चा जन्मिएपछि आफंै ठीक भएर जान्छ । यस्तो अवस्थामा बिरामीलाई औषधि दिन नमिल्ने भएकाले इन्सुलिन मात्र दिइन्छ । यो करिब ४ प्रतिशत गर्भवती महिलामा भेटिन्छ । यस्तो अवस्थामा मधुमेह देखिएका करिब ५० प्रतिशत महिलालाई बच्चा जन्मिएको ५ वर्षभित्र टाइप दुई मधुमेह हुने खतरा रहन्छ । गर्भको बच्चालाई तत्काल असर नपु¥याए पनि अनियन्त्रित जेस्टेस्नल मधुमेहले आमा र बच्चा दुवैलाई असर पु¥याउन सक्छ । यसले नर्मल डेलिभरीलाई खतरापूर्ण बनाइदिन सक्छ । शिशुको काँधमा चोट आउने तथा श्वासप्रश्वास समस्या हुन सक्छ । यस्तो अवस्थामा सिजरियन प्रसूतिको आवश्यकता पर्न सक्छ । जेस्टेसनल मधुमेह भएका आमाबाट जन्मिएका बच्चामा पछि गएर मोटोपनको सिकार हुने र टाइप टु मधुमेहबाट पीडित हुने सम्भावना हुन्छ । यस्ता समस्याबाट पीडित भएका महिलाले समय–समयमा ब्लड ग्लुकोजको मात्रा जाँच गरिरहनुपर्छ र नियन्त्रणको प्रयास गर्नुपर्छ ।
सेकेन्डरी
यो मधुमेह स्टेरोइड औषधिको प्रयोग, स्टेरोइड हर्मोनको गडबडी, प्यान्क्रियाज ग्रन्थीका रोग तथा वंशाणुगत रोग (डाउनसिन्ड्रम) का कारणले हुन्छ ।
जतिसक्दो चाँडो उपचार

डा. अंशुमाली जोशी, मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ, अल्का अस्पताल
मधुमेहबाट दीर्घकालीन प्राणघातक परिणाम नजन्मियोस्, भन्नका लागि जनचेतना जगाउन आवश्यक छ । सबैभन्दा पहिले खानपान र व्यायामबाट मधुमेह नियन्त्रणमा ल्याउने प्रयास गर्नुपर्छ, आएन भने औषधि खानैपर्ने हुन्छ । उच्च रक्तचाप र मधुमेह समान प्रकृतिका रोग हुन् । यी दुवै रोग लागेको खण्डमा शरीरका अंगलाई दुईदेखि चार गुणा बढी नकारात्मक प्रभाव पर्छ । हृदयाघात, मस्तिष्कघात, मिर्गौलाघात, दृष्टिघात र अंगघात हुने सम्भावना एकदमै बढेर जान्छ । यसकारण रोगको गम्भीरता बुझ्नु आवश्यक छ । मुख बारेर, व्यायाम गरेर, औषधि खाएर पनि मधुमेह नियन्त्रणमा आएन भने इन्सुलिन लगाउनुपर्छ । इन्सुलिन सुईले अंग बिग्रने क्रम रोक्छ र रगतमा चिनीको मात्रा राम्ररी नियन्त्रण गर्छ । त्यसैले इन्सुलिन लगाउन डराउनु पर्दैन । रगतमा ग्लुकोजको मात्रा बढ्ने तर लक्षण नदेखिएमा बिरामीले औषधि उपचारतर्फ ध्यान दिँदैनन् । त्यस्तो अवस्थामा उपचार नगराउँदा अलि–अलि बढेको ग्लुकोजले पनि आँखा, दिमाग, मुटु, मिर्गौलामा असर पार्न सक्छ । यसकारण मधुमेहको उपचार जति सक्यो, चाँडो सुरु गर्नुपर्छ । त्यसैले मुधमेहका बिरामीले प्रत्येक ६–६ महिनामा आँखा, दिमाग, मुटु, मिर्गौलालगायतको परीक्षण गराउनुपर्छ ।
मधुमेहीका तीन शत्रु

डा. ओममूर्ति अनिल, डिएम, कार्डियोलोजी
मधुमेह भएका बिरामीमा हृदयाघात हुने सम्भावना दुई–तीन गुणा अधिक हुन्छ । यदि मधुमेह रोगीलाई उच्च रक्तचाप छ भने हृदयाघातको सम्भावना झन् बढी हुन्छ । मधुमेह र उच्च रक्तचापसँगै धूमपान पनि गरेमा यस्तो सम्भावना निकै गुणा बढी हुन्छ । यससँगै उच्च कोलेस्टेरोल पनि छ भने हृदयाघात हुने निश्चित हुन्छ । त्यसैले मधुमेहका बिरामीका लागि उच्च रक्तचाप, उच्च कोलेस्टेरोल र धूमपान तीन प्रमुख शत्रु हुन् । मधुमेहका बिरामीको कोलेस्टेरोल नै फरक खालको हुन्छ । यस्तो कोलेस्टेरोल मुटु वा अरु रक्तनलीमा टाँसिने किसिमको हुन्छ । यसलाई ‘अथ्रोजेनिक डिस्लिपिडेमिया’ भनिन्छ । यसैगरी धूमपान गर्नेको कोलेस्टेरोल पनि फरक किसिमको हुन्छ । धूमपानले नराम्रो कोलेस्टेरोललाई रक्तनलीको भित्तामा टाँसिने प्रक्रिया बढाइदिन्छ । त्यसैले यस्ता व्यक्तिले धूमपान गरेमा हरेकपटकको सेवनसँगै हृदयाघातको खतरा बढ्दै जान्छ । मधुमेह भएका बिरामीले खाली पेटमा वा खाना खाएर गरेको सुगरको ल्याब रिपोर्टमा मात्र ढुक्क भएर बस्नुहुँदैन । उनीहरूले ग्लाइकोसाइलेटेड हेमोग्लोविन (एचबिएवानसी) पनि परीक्षण गराउनुपर्छ । त्यसो गर्दा पनि सुगर नदेखिएमा मात्र ढुक्क हुनुपर्छ । मधुमेहका बिरामीमा रक्तचाप १३०/८० को वरिपरि हुनुपर्छ । खराब कोलेस्टेरोल १३० एमजी हुनु पनि खतरा मानिन्छ । मधुमेहका बिरामीले दैनिक कम्तीमा एक घण्टा हिँड्नु आवश्यक छ ।

No comments:
Write comments