सुरेश भुसाल/राजकुमार
११ कात्तिक, क्वाललाम्पुर । आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीमा नेपालले अमेरिकाविरुद्ध जित हात पारेको छ । वर्षाका कारण प्रभावित खेलमा डीएल मेथोडका आधारमा नेपाल १० रनले विजयी घोषणा भएको हो ।
जितसँगै नेपाल ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ र डिभिजन टूमा पुग्ने सम्भावना निकै बलियो भएको छ । समूह चरणको अन्तिम खेलमा भोलि घरेलु टोली मलेसियासँग खेल्नेछ ।
अर्को खेलमा अमेरिका र सिंगापुर तथा युगाण्डा र बर्मूडा भिड्नेछन् । अब नेपाल मलेसियासँग ठूलो अन्तरले पराजित भएको अवस्थामा मात्र डिभिजन टूमा जानबाट रोकिनेछ । तर, अहिले मलेसियामाथि नेपाल हावी हुँदै आएको छ । प्रिमियर लिगमा भएको भेटमा नेपालले मलेसियालाई हराएको थियो ।
नेपाल मलेसियाँसँग पराजित हुने र सिंगापुरले अमेरिकालार्इ ठूलो अन्तरले पराजित गरेको अवस्थामा पनि नेपाललार्इ बढुवामा अवरोध हुन सक्छ ।
वर्षाको अबरोध र नेपालको जित
किनरारा ओभलमा अमेरिकाले प्रस्तुत गरेको २२४ रनको लक्ष्य पछ्याएको नेपालले २२ ओभरमा १ विकेट गुमाएर ७३ रन बनाउँदा वर्षा भयो । लगातारको वर्षाका कारण स्थानीय समय अनुसार साँझ ५ बजेसम्म पनि खेल सुरु हुन नकसेपछि नेपाल डीएल मेथोडका आधारमा नेपाल १० रनले विजयी भयो ।
नेपालले पहिलो विकेट भने पहिलो ओभरको अन्तिम बलमा मात्र एक रन जोड्दा गुमाएको थियो । नेपालको पारी सुवास खकुरेल र उपकप्तान ज्ञानेन्द्र मल्लले सम्हाले ।
यसअघि पहिले व्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२३ रन बनाएको थियो । उसका लागि बाबरले ५९ रन बनाए भने पटेलले ३९ र टेलरले ३६ रन जोडे ।
नेपालका शक्ति गौचनले १० ओभरमा ३० रन दिएर ३ विकेट लिए । सागर पुन र बसन्त रेग्मीले समान २/२ विकेट लिए ।
- See more at: http://www.onlinekhabar.com/2014/10/200556/#sthash.U8PSa4N9.dpuf
No comments:
Write comments