कतारमा छोरिले आत्महत्या गरिन , बाउ र दाई भन्छन् लाश भन्दा पहिले पैसा चाहियो !!
गत अक्टोबर १९ तारिखका दिन वुवा आमा तथा दाई संग पूर्व घर सल्यान भई हाल दाङ तुलसीपुरमा बसोबास गर्दै आएकी सन्ध्या कुमारी ओलीले कतारमा आफु कार्यरत स्पोन्सरको घरमा प्रभात्कालिन ६ बजेको समयमा नै आत्महत्या गरिन् । उसो त नेपाल सरकारले कतार लगायत अन्य खाडी मुलुकमा हाउसमेडको रुपमा काम गर्न आउने नेपाली महिलाहरुको लागि करिव ६ महिना अघि देखि नै रोक लगाएको हो । यसका बावजुद पनि एजेन्ट तथा मेनपावरहरुले विभिन्न फर्जी प्रक्रियाबाट भारतको छानो प्रयोग गरी विदेश पठाउन यस्ता गिरोहहरु सक्रिय रहेको यो अर्को जिउँदो प्रमाण पनि हो ।
नेपालमा नै रहने मृतक ओलीका परिवारजनका चिनारु एजेन्ट हिरा बि.क.ले सन्ध्यालाई दिल्लीको छानो हुँदै ३ जुलाईका दिन कतार पठाएका रहेछन् । सन्ध्यालाई कतार पठाए बापत सन्ध्याको परिवारजन संग भने केहि पैसा नलिएको सन्ध्याका दाजु सुवास ओलीले फोनमा बताए ।
कतार आएपछि सन्ध्या एक भारतीय परिवारको घरमा बच्चा रेखदेख गर्ने र घरका अन्य काममा व्यस्त हुँदै आईरहेको उनका स्पोन्सर शिजो म्याथ्यु बताउँछन् । कतार आएको केहि समयमा नै सन्ध्याको शरीर भरि साना साना विविरा देखा पर्न थालेपछि चिकित्सकको जाँचपड्ताल पछि सन्ध्यालाई लुतो आएको र स्नायुहरु सुन्निएको बताएकोले उनलाई नेपाल फिर्ता पठाउनु नै बेस हुने चिकित्सकले सल्लाह दिएको म्याथ्युले बताए ।
सधै जसो फोनमा बाराम्बार कुरा गरिरहने उनी नेपाल नै फर्किनुपर्ने अवस्था आउने भयो भनी सन्ध्या कि त मानसिक रुपमा तनावमा आएर आत्महत्या गरेको हुन सक्ने कि त दिनहुँ फोनमा कुरा गर्ने कुनै व्यक्तिसंग उनको भावनात्मक रुपको प्रेम सम्बन्ध पनि हुन सक्ने उनका स्पोन्सरको अड्कलबाजी छ ।
उसो त म्याथ्यु दम्पती दुवै जना कतारको प्रतिष्ठित कम्पनीमा उच्च ओहोदामा काम गर्ने कारिन्दा रहेछन् । म्याथ्युकै भनाईमा उमेर बढाएर पासपोर्ट बनाए पनि उनी भर्खरै मात्र २० बर्षमा टेकेको सन्ध्याले उनलाई बताएकी थिइन् रे ।
१९ अक्टोबर विहान ६ बजे म्याथ्यु दम्पतीहरु घरमा नै रहेको अवस्थामा वाथरुमबाट एउटा निस्सासिदो किसिमको आवाज आएर हेर्न जाँदा सन्ध्याले वाथरुममा आफ्नै सलको पासो लगाएर झुण्डिएको अवस्थामा भेटेको उनीहरु बताउँछन् । त्यसको लगत्तै म्याथ्युले कतार पुलिसलाई कल गरेर जानकारी गराएको र जानकारीको १० मिनेट भित्र नै पुलिस आएर हेर्दा सन्ध्या वेहोस अवस्थामा रहे पनि मृत्यु नभएको प्रहरीले बताएको सुनाए ।
कतारको हमाद मेडिकल कर्पोरेशनको आकस्मिक कक्षमा लगेपछि चिकित्सकले सन्ध्यालाई मृत घोषणा गरिदिएको बताए । कतारको पुलिसले म्याथ्यु दम्पतीलाई कानूनी शंकाको घेरामा राख्दै हत्या वा आत्महत्या के हो भनी लामो पुछताछ र अस्पतालबाट प्राप्त मृतकको चिकित्सकीय मृत्यु प्रकृति बारेमा भिडाएर हेर्यो र दुवै मेल खाए पछि कतारको प्रहरीले घाँटीमा कसिलो बन्धनले गर्दा श्वाश प्रश्वाशमा अवरोध आएको कारणले गर्दा मृत्यु हुन गएको कागजी मुचुल्का तयार गरीदियो ।
अस्पताल तथा प्रहरीबाट प्राप्त सम्पुर्ण कागजात सहित कतार स्थित नेपाली राजदुतावासमा गई लाश पठाउने प्रकृया तयार भइसकेपछि दाङमा रहेका सन्ध्याका बुवा बिर बहादुर ओलीसंग फोनमा कुराकानी हुन थाल्यो । घटनाको दिनमा नै खबर पाएका सन्ध्याका बुवा बिर बहादुरले विदेशमा मर्यो भने त धेरै पैसा पाईन्छ । विना पैसा म छोरीको लाश बुझ्दिन । ५० लाख पाएमात्र मेरो छोरीको मृत्युको घाउ पुरिन्छ, उनले हाकाहाकी नै भने । यसो भन्दै विर बहादुरले फोन राखिदिए ।
सन्ध्याको बुवाबाट समस्याको निदान नहुने देखेपछि सन्ध्याको दाई सुवास ओलीसंग फोन सम्पर्क गर्दा सुवासले पनि सोही पैसाको कुरा निकाल्दै भने, विना पैसा लाश बुझ्दै नबुझ्ने र वुवा विर बहादुर भारत तर्फ नै धेरै बस्ने हुँदा बुवाको नाममा हैन आफ्नो नाममा पठाईदिनुपर्ने र आफ्नो नाममा पैसा पठाएमा २० लाख मात्र पाए पनि आफुले बहिनीको सम्पुर्ण सतगत गर्ने जनाए ।
अन्त्यमा सन्ध्याको आमा शारदा ओलीसंग सम्पर्क गर्दा उनले रुँदै भनिन् , कत्रो दुख गरेर हुर्काएकी छोरीको एक पटक मुख मात्र हेर्न पाए पुग्छ । काख गुमाएर पाएको लाख चाहिँदैन ।
मृतक सन्ध्याका जिवित तीन अभिभावकको तीन थरि कुराले गर्दा दुतावासले शव नेपाल पठाउन असहज भएको बताएको छ । कमसे कम परिवारजनले लाश बुझि पाउँ भनी पत्र दुतावासमा पठाएमात्र पनि हामीले तुरुन्त पठाउने थियौं, दुतावासका सहचारी केशवराज पन्थीले बताउनुभयो ।
आत्महत्या प्रकरणमा कतारको कस्तो कानूनी प्रावधान छ ?
कतारको हकमा मात्र नभै आत्महत्या गर्ने कुनै पनि व्यक्तिले प्रकृति हेरी जीवन वीमा देखि लिएर राहत पाउन सक्ने अधिकारबाट बञ्चित रहने र स्पोन्सरलाई बाध्यकारी अवस्था सिर्जना गर्न पनि कानूनी छुट नरहेको गैर आवासीय नेपाली संघ रास्ट्रीय समन्वय परिषद्का कानूनी सल्लाहकार प्रोफेसर रमजान अलि मियाँ बताउनुहुन्छ । यस मुद्यालाई आफ्नो क्षेत्रबाट विशेष पहल गरिरहनुभएका मियाँले मृतकका आफन्तजनले पैसा नपाए लाश नबुझ्ने भनेर आफुलाई पनि पटक पटक यस्तो अभिव्यक्ति दिनु उहाँहरुप्रति आफ्नो छोरी, बहिनी गुम्नुको पिडामा पोखिएको आक्रोश र क्षोभ नभै प्रलोभन मात्र रहेको बताउनुभयो । अझ आत्महत्या गर्ने क्रममा कथंकदाचित आत्महत्याकारी बच्न सफल भएमा यहाँको कानुन बमोजिम उक्त व्यक्तिलाई दण्डित गरिने कानूनी प्रावधान रहेको पनि उहाँले बताउनुभयो ।
सम्पुर्ण घटनाक्रम पछि सन्ध्याको शवलाई नेपाल पठाउने क्रममा विशेष पहल गरिरहनुभएका कानूनी सल्लाहकार प्रोफेसर रमजान अलि मियाँले सन्ध्याका स्पोन्सर शिजो म्याथ्युले सन्ध्यालाई नेपाल पठाउन लाग्ने सम्पुर्ण खर्च, शव लिएर जाने एक जनाको लागि दुइ तर्फी टिकट, काठमाण्डौंबाट दाङ सम्म लाग्ने शववाहन खर्च र सतगतको लागि लाग्ने रकम दिन आफु पहिले बाट नै तयार रहेको बताउँछन् ।
आशा गरौं, सन्ध्याकी आमा शारदा ओलीको छोरीको मृत्यु खबरले ममताको आकाश उध्रिए पनि छोरीको मुख अन्तिम पटक हेर्ने अभिलाषा उनका श्रीमान् विर बहादुर ओली र छोरा सुवास ओलीले छिटै पुरा गर्नेछन् ।.rescuenewsonline.com
No comments:
Write comments