top_rightads

Tuesday, December 9, 2014

अमेरिकन भन्दा नेपाली बढी खुशी

 

काठमाडौं । विश्वकै शक्तिशाली र विकसित मुलुक अमेरिका भन्दा नेपालका जनता खुशी रहेको एक तथ्यांकले देखाएको छ ।

हालै सार्वजनिक भएको जनताको खुसी सूचक (ह्याप्पी प्लानेट इन्डेक्स) ले अमेरिकी जनता भन्दा नेपाली जनता खुशीको सूचीमा अगाडि रहेको देखाएको हो । नेपाल खुशीको सूचीमा ५८ औं स्थानमा छ भने अमेरिका १ सय ५ औं स्थानमा छ ।

तथ्यांक हेर्दा विकसित र सुविधा सम्पन्न मुलुकका भन्दा पनि जहाँ तिव्र आर्थिक विकास भइसकेको छैन, त्यसका देशका नागरिकहरु बढी खुशी देखिएका छन् ।



सबै भन्दा खुशी जनता भएको देश कोष्टारिका बनेको छ । उसले पहिलो स्थान ओगटेको छ । बेलायत, अमेरिका, अष्ट्रेलिया, चीन, जर्मनी, फ्रान्स जस्ता तिब्र आर्थिक विकास भएका मुलुकहरु खुशी हुने जनताको सूचीमा ४० औं नम्बरभित्र पनि पर्न सकेनन् । बरु उल्टै, विकसित देशहरुको साटो कोष्टारिका, भियतनाम, कोलम्बिया, एल साल्भाडोर, बेलिज, जमाइका, पनामा, निकारागुवा, भेनेजुएला र ग्वाटेमाला जस्ता मुलुकले खुसी जनताको सूचकांकमा उत्कृष्ट दश स्थानमा कब्जा जमाएका छन् ।

सन् २०१४ को ह्याप्पी प्लानेट इन्डेक्स (एचपीआई) मा कुल १ सय ५१ देशमध्ये कोस्टारिका पहिलो स्थानमा पर्न सफल भएको हो । एचपीआई इन्डेक्समा ६४ अंकका साथ पहिलो स्थानमा परेको कोस्टारिकाले समग्र सुखद जीवनयापन सूचकांकमा कुल १० मध्ये ७.३ अंक प्राप्त गर्न सफल भएको छ ।

कुल ५१ हजार १ सय वर्ग किलोमिटर क्षेत्रफल भएको सानो देश कोस्टारिका जैविक विविधताले निकै धनी मानिन्छ । ४७ लाख जनसंख्या भएको कोस्टारिका मानव विकास सूचकांकमा भने ६३ औँ स्थानमा छ ।

कोस्टारिकापछि ह्याप्पी प्लानेट इन्डेक्समा भियतनाम दोस्रो तथा कोलम्बिया तेस्रो स्थानमा छन् । स्वीटजरल्याण्ड ३४ औँ, बेलायत ४१ औँ, जर्मनी ४६ औँ, चीन ६० औँ तथा क्यानडा ६५ औँ स्थानमा छन् । त्यस्तै रुस १ सय २२ औँ स्थानमा छ । ह्याप्पी प्लानेट इन्डेक्सको सबैभन्दा पुछारमा बोत्स्वाना छ ।

औषत आयु, देशका नागरिकले अनुभूत गरेको जीवनयापनको गुणस्तर तथा पर्यावरणीय स्वच्छता लगायतका तथ्यांकहरु विश्लेषण गरी एचपीआईको गणना गरिन्छ । यसमा कुनै पनि देशले आफ्ना बासिन्दालाई कतिसम्म सुखी, खुसी, दीगो तथा दीर्घजीवनको अवसर प्रदान गरेको छ भन्ने कुराको मापन हुन्छ ।

नेपालको स्थान
ह्याप्पी प्लानेट इन्डेक्समा नेपाल ५८ औँ स्थानमा रहेको छ । ४५.६ अंक प्राप्त गरेको नेपालले राम्रो जीवनयापन सूचकांकमा जम्मा ३.८ अंक प्राप्त गरेर १ सय ४२ औँ स्थानमा रहेको छ भने औषत आयुको मामिलामा ९७ औँ स्थानमा रहेको छ ।

इकोलोजिकल फुटप्रिन्ट सूचकांकमा भने नेपाल निकै अघि छ । यसमा कुल ०.८ अंक प्राप्त गर्दै नेपाल विश्वका १ सय ५१ देशमध्ये ७ औँ स्थान हासिल गरेको छ ।

ह्याप्पिनेस इन्डेक्समा भारतले चीनलाई उछिनेको छ । भारत कुल ५०.९ अंकका साथ ३२ औँ स्थानमा भने चीन ६० औँ स्थानमा छ । पाकिस्तान भने १६ औँ स्थानमा रहेको छ ।

No comments:
Write comments