काठमाडौ, आश्विन २७ - ३९ वर्षमा पनि उमेरलाई नै धोका खुवाउने गरी कायम रहेको सुन्दरताको राज नायिका शिल्पा सेट्टीसँग सोध्ने थुप्रै होलान् । तर उनी सधैं आफ्नो फिटनेसको कारण भने सन्तुलित र अनुशासित आहार व्यवहारलाई दिने गर्छिन् । अब भने उनी एक कदम अघि बढदै पुस्तककै रूपमा पनि यसलाई बाहिर ल्याउन कस्सिएकी छन् । निःशुल्क टिप्स बाँड्दै हिँड्नुभन्दा किताब नै लेखेपछि दुई/चार पैसा पनि आउने, साथै बारम्बार सोधिने एउटै प्रश्नबाट पनि मुक्ति पाइने शिल्पाको काइदा गजबको देखिएको छ ।
किताब लेख्न लागेका बारेमा खबर भर्खरै मात्रै बाहिरिए पनि उनी यसको तयारीमा भने विगत सात महिनादेखि छिन् । किताबमा उनले आफ्नो जीवनकालमा जाने, भोगेका सन्तुलित भोजन र फिटनेसका बारेमा जोड दिने बताइएको छ । 'म यतिबेला खाद्यान्न र स्वास्थ्यबारेमा किताब लेखिरहेकी छु,' राज कुन्द्रासँग विवाह गरेपछि फिल्मबाट केही फुर्सदिली बनेकी शिल्पाले भनिन्, 'लामो अनुभवमा मैले जे जति जानें, सिकें त्यसैलाई किताबमा समेट्न खोजिरहेकी छु । यो सब सोचको कुरा हो । यदि तपाईं आफ्नो वजन घटाउन चाहनुहुन्छ भने सोचलाई नै प्रशिक्षित गर्नुपर्छ । लाइफस्टाइललाई फेर्नैपर्छ । सकारात्मक बन्यो भने जे पनि पाउन सकिन्छ ।' हुन पनि दुई वर्षका छोराकी आमा बनिसकेकी शिल्पाको रवाफिलो जवानी अझै ताजै लाग्छ । उनले आफ्नो पति र छोरालाई पनि स्वस्थ जीवनशैलीमा राखेको दाबी गरिन् । 'बाजिगर' नायिका शिल्पाले थपिन्, 'धेरै मान्छेलाई भोजनको खास अर्थ नै थाहा छैन । मैले देखेकी छु, अधिकांश आमाहरू आफ्ना बच्चालाई धेरैभन्दा धेरै खुवाउन तल्लीन हुन्छन् । त्यसैले मैले ती आमाहरूका लागि पनि उपयुक्त हुने गरी आमा नै बनेर लेखिरहेकी छु । मेरो छोरा देख्नमा लुरे छ तर उसले स्वस्थ खान्की खान्छ । म र मेरो छोरा खानामा घ्यू लिने गर्छौं । मचाहिं डाइटिङ र फास्टिङमा विश्वास गर्दिनँ ।'
शिल्पाले किताब लेख्ने क्रममा १७ औं ड्राफ्ट पूरा गरिसकेको जानकारी दिंदै अर्को वर्ष बजारमा आउनेमा विश्वस्त पारिन् । अंग्रेजी भाषामा हुने किताब नायिकाले आफू गर्भवती हुँदा भेट भएका पोषणविद्को सहयोगमा लेखिरहेकी हुन् ।
No comments:
Write comments