सिजोफ्रेनिया कडा खालको मानसिक रोग हो। खासगरी तन्नेरी यसबाट पीडित हुन्छन्। १५ देखि २५ वर्षका ऊर्जाशील युवायुवतीमा बढी देखिने यस रोगका कारण देशलाई नै अन्ततः ठूलो घाटा हुनेछ। राज्य नै मानसिक रोगीलाई सहयोग गर्न अग्रसर नहुने हो भने स्थिति झन् भयावह हुन सक्छ। सजना बराल र अम्मर जिसीले सिजोफ्रेनियाको त्रासदी मापन गर्न खोजेका छन्।
केस नं. १
श्रद्धा २३ वर्षकी भइन्। पाँच वर्षअघि उनी एमबीबीएस पहिलो वर्षकी विद्यार्थी थिइन्। त्यही बेला उनमा अनौठो खाले समस्या देखापर्योभ। होस्टेलमा बसेर अध्ययन गर्दै गरेकी श्रद्धाको समस्या सुनेर उनलाई यो ‘फुस्किछ’ भनेर उडाउने धेरै थिए। उनलाई एक्लै कोठामा बस्दा पनि अचानक सिनियर केटा साथी तथा पुरुष शिक्षकहरू बोलेको आवाज सुनेको जस्तो लाग्न थाल्यो। किताब पढेर बसिरहेको अवस्थामा केटा साथीहरूले जिस्काइरहेको जस्तो लाग्ने हुन थाल्यो। कोठाको सिलिङ फ्यान चल्दा पनि केटा साथीहरू नै बोलेको जस्तो लाग्ने भयो। उनलाई कोठामा एक्लै हुँदा पनि केटाहरूले किन हाँसिरहेकी? कसरी मस्केकी? भनिरहेका र अश्लील गाली गरिरहेका अनौठो महसुस हुन थाल्यो। उनलाई आफ्ना संवेदनशील अंगबारे केटाहरूले जथाभाबी टीकाटिप्पणी गरेको भान हुन्थ्यो। जब साथीहरू भेट्थिन, श्रद्धा पहिला उनीहरूलाई ‘मलाई तिमीहरूले किन जे मन लाग्छ त्यही भन्ने गरेको?’ भनेर कराउँथिन्। उनका केटा साथीहरू चाहिँ उनलाई ‘साइको’ भन्दै उडाउँथे। उनको समस्या बढ्दै गयो। उनले पढाइमा ध्यानै दिन सकिनन्। ट्वाइलेट जाँदा पनि कसैले हेरिरहेको जस्तो लाग्ने, ट्वाइलेटमा क्यामरा जडान गरेको छ कि जस्तो लाग्ने, दिसापिसाब गर्नका लागि कपडा खोल्न पनि नसक्ने जस्ता समस्या आइलाग्यो। महिनावारी हुँदा सरसफाइसमेत गर्न डराउन थालिन्। उनका सबै गतिविधि कलेजमा सँगै पढ्ने केटा तथा शिक्षकहरूले देखिरहेका छन् भन्ने दिमागमा आइरहनाले उनी झन्–झन् समस्यामा पर्न थालिन्।
मेडिकलको स्टुडेन्ट भएको र कलेजमा मानसिक रोग विभाग पनि भएकाले उनको रोग पत्ता लगाउन खासै कठिन भएन। लक्षणका आधारमा चिकित्सकले उनलाई ‘सिजोफ्रेनिया’ नामक गम्भीर मानसिक रोग लागेको निर्क्योल गरे। तर, उनको कलेजले उपचारमा सघाउनुको सट्टा उनलाई पढ्न नसक्ने भन्दै कलेज छोड्न बाध्य बनायो। उनी चिकित्सकहरूको माझमा पनि अपहेलित भइन्। सबैले ‘साइको’ भन्दै उनको खिल्ली उडाउन थाले। उनले विभिन्न अस्पताल र चिकित्सकसँग उपचार गराइन् तर उनको अवस्थामा सुधार आएन। सेवन गरेको औषधिको साइड इफेक्टका कारण उनले थप समस्या भोग्नुपर्योध। एक वर्षदेखि पाटन अस्पताल मानसिक रोग विभागमा उपचार गराइरहेकी श्रद्धाको स्वास्थ्य अवस्थामा अहिले निकै सुधार आएको छ। अस्पतालले उनलाई विद्युतीय कम्पन उपचार (इलेक्ट्रिकल सक थेरापी) गरिरहेको छ। उनी अहिले पद्यकन्या क्याम्पसमा अध्ययन गर्न थालेकी छिन्।
केस नं. २
३८ वर्षीय सुमन एक सरकारी कार्यालयका लेखापाल हुन्। उनले जागिर खान थालेको १५ वर्ष भयो। विगत १० वर्षदेखि उनी पनि अनौठो समस्याले ग्रसित छन्। उनलाई आफूसँगै काम गर्ने अफिसका सबै स्टाफ उनीविरुद्ध लागेको जस्तो लाग्छ। सबै मिलेर भ्रष्टाचारमा फसाउन थालेको जस्तो लाग्छ। अफिसको हरहिसाब उनैले हेर्ने भएकाले उनी कसैलाई कुनै कागज छुनसमेत दिँदैनन्। हाकिमले हिसाबकिताबको फाइल माग्दा उनी निकै नै समस्यामा पर्छन्। फाइल हाकिमको टेबलमा राखेपछि उनको होस गुम भएजस्तो हुन्छ। उनी जे सोचिरहेका छन्, त्यो अरूले थाहा पाइसकेको जस्तो लाग्ने हुन्छ। अफिसको कामकाजमा कसैको पनि विश्वास नगर्ने, सबैसँग तर्केर हिँड्ने, अरूले मद्दत गर्न खोज्दा रिसाउने, बेलाबेलामा आक्रामक हुने जस्ता लक्षण सुमनमा थियो। सुमनकी श्रीमती अस्पतालको नर्स हुँदा पनि उनी उपचारका लागि अस्पताल आइपुग्न वर्षौं लाग्यो। रोग लागेको धेरै वर्षसम्म त उनको स्वभाव नै यस्तै होला भनेर सबै झुक्किए। जब उनकी श्रीमतीले आफ्नो श्रीमान्लाई मानसिक समस्या रहेको भेउ पाइन्, त्यसपछि उनको उपचार सुरु गराइन्। सुमनको पनि हालसालैबाट उपचार सुरु भएको छ। उपचार सुरु गरेपछि अरूमाथि शंका गर्ने उनको लक्षणमा निकै सुधार आएको छ। उनी अहिले अफिसको काम सहज ढंगले गर्न सक्ने भएका छन्।
के हो सिजोफ्रेनिया?
सिजो अर्थात् टुक्रिएको र फ्रेनिया अर्थात् मन। यी दुई ग्रीक शब्द मिलेर सिजोफ्रेनिया बनेको हो। धेरैलाई यो शब्दको अर्थ टुक्रिएको व्यक्तित्व भन्ने गलत धारणा रहेको डा. शाक्य बताउँछन्।
यो एक प्रकारको सोच्ने प्रक्रियामा हुने गम्भीर मानसिक रोग हो। सिजोफ्रेनियामा इन्द्रियका असाधारण महसुस, सोचविचारमा असाधारण भ्रम हुने गर्छन्। जसले गर्दा गलत भाव, मिजास, गतिविधि आदि हुने हुन्छ। यो रोग लागेकाले अनौठो व्यवहार गर्छन्। यो एक किसिमको साइकोसिस हो। रोगीले वास्तविकता र अवास्तविकता छुट्याउन नसक्ने हुन्छ। ‘उपचार गर्दा पनि पूरा ठीक नहुने, प्रायः जिन्दगीभर लक्षणहरू आउने–जाने भइरहने आदि कारणले गर्दा यसका रोगीहरूले विश्वको आधी जस्तो मानसिक अस्पतालका शऒ्ढया ओगटिरहेका हुन्छन् भन्ने गरिन्छ,’ डा. शाक्य भन्छन्, ‘यो रोग लागेकाहरू सम्भवतः सबैभन्दा बढी सामाजिक अपहेलना र दुर्व्यवहारका शिकार हुने गरेका छन्। सिजोफ्रेनिया के कारणले हुन्छ भन्ने तथ्य अहिलेसम्म पत्ता लागेको छैन।’
कसरी चिन्ने सिजोफ्रेनिया?
सिजोफ्रेनियाका लक्षणहरू निकै व्यापक एवं थरीथरीका हुन्छन्। सिजोफ्रेनिया भन्नलाई सबै लक्षण हुन जरुरी हुँदैन। एकै रोगीको फरक समयमा भिन्नाभिन्नै लक्षण र एक रोगीको लक्षण अर्कोको भन्दा पूर्णतया भिन्न हुन पनि सक्छ। वास्तवमा विशेषज्ञहरू माझ सिजोफ्रेनिया एउटा मात्र रोग नभई अनेक रोगहरूको एक समूह भन्ने अवधारणा पनि छ।
सिजोफ्रेनिया भएकाहरूको निद्रा एकदमै गडबड हुन्छ। जसका कारणले बिरामीले चुरोट, रक्सी र गाँजा जस्ता नशालु पदार्थको सेवन अत्यधिक मात्रामा गर्न थाल्छन्। जसले गर्दा रोगीमा देखिएका लक्षण नशा सेवन गरेर भएको भन्ने अनुमान प्रायः सबैले लगाउँछन्। त्यसपछि बिरामीलाई नशालु पदार्थको सेवनबाट छुटकारा गराउन विभिन्न उपाय गरिन्छ। तर, समस्या एकातिर समाधानको उपाय अर्कोतिर खोज्दा बिरामीले निकै दुःख पाउने गरेका छन्। धेरै सिजोफ्रेनियाका बिरामीले आफूलाई के भएको हो भन्ने पत्ता लगाउन नसकेर नै दुःख पाउने गरेका छन्। ‘बिरामीले त आफूलाई के भएको हो, त्यो सजिलै थाहा पाउने कुरा भएन,’ डा. शाक्य भन्छन्, ‘उसका अभिभावक पनि यो रोगसँग झुक्किन्छन्। कतिपय अवस्थामा चिकित्सकले पनि बिरामीमाथि विभिन्न किसिमका औषधि सेवन गराएर परीक्षणमात्र गरिरहेका हुन्छन्।’
रोगपूर्वका संकेत
– बाल्यकालीन मौनता, निस्क्रियता र अन्तर्मुखी स्वभाव
– किशोरावस्थामा पनि सामाजिक अन्तरक्रियाभन्दा एक्लै रमाउने
– अमूर्त विषयः दर्शन, धर्म आदिमा अनौठो रुचि देखाउने
– दीर्घकालीन टाउको, ढाड, पेट दुखाइ
– कमजोर पाचन समस्या
– अनौठो मिजास, बोली–व्यवहार, सोचविचार आदि
रोगी अवस्थाका लक्षण
– अनुचित लवाइ, हाउभाउ, गतिविधि, मूर्तिझैँ उभिरहने, अकारण अस्थिरता आदि
– अनुचित रिस, खुशी, उदासी, डर, चिन्ता वा भावविहीनता
– असामान्य इन्द्रिय स्वचालनः वास्तवमा नभएका, अरूले नसुन्ने ध्वनि, दृश्य, गन्ध आदि महसुस गर्ने।
– सिजोफ्रेनिया भएकाले प्रायः अवास्तविक ध्वनि सुन्ने गर्छन्। रोगीले आफूलाई गालीगलौज गरेको, उसको क्रियाकलापबारे अरूले कुरा गरेको आदि महसुस हुन्छ। कहिलेकाहीँ उनीहरू आफ्ना सोच फेरि प्रतिध्वनित भई सुन्ने पनि गर्छन्।
‘तन्नेरी सिध्याउने रोग’
डा. रवि शाक्य, प्रमुख
मानसिक रोग विभाग, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान
मानसिक रोग भन्नासाथ मानिसहरू पागलपन भनी अर्थ लगाउँछन्। बृहत् नेपाली शब्दकोशले पागलको अर्थ बहुला, सन्की, हावा खुस्केको भनेको छ। त्यस्तै पागलपनलाई बहुला अवस्था, बौलट्टीपन भनेर अर्थ्याइएको छ। तर, आधुनिक चिकित्सा क्षेत्रमा मानसिक रोगको निकै फराकिलो परिधि र परिभाषा छ।
विश्व स्वास्थ्य संगठनले सन् १९७० मा स्वास्थ्यलाई ‘पूर्ण शारीरिक, मानसिक र सामाजिक सन्तुलनको अवस्था, न कि केबल रोगव्याधिको अनुपस्थिति’ भनी परिभाषित गरेको छ र मानसिक सन्तुलनलाई आफू र आफ्नो वरिपरिको वातावरणसित सामञ्जस्यता भनी अर्थ्याएको छ। यसरी मानसिक सन्तुलन पनि स्वास्थ्यको प्रमुख अंग हो भन्ने प्रस्ट छ। विश्व स्वास्थ्य संगठनकै सन् १९९९ को तथ्यांकअनुसार मानवजातिको उत्पादनशीलताको व्यवधानमूलक प्रमुख १० रोगमध्ये पाँच वटा त मानसिक रोग नै पर्छन्। मानवमा सबैभन्दा बढी हुने मुटु तथा रक्तसञ्चारका रोगपछि दोस्रो बढी हुने रोग उदासीपन (डिप्रेसन) भन्ने मानसिक समस्या नै हो। विश्व स्वास्थ्य संगठनका अनुसार करिब १५ प्रतिशत मानिस कुनै न कुनै प्रकारको मानसिक समस्याबाट पीडित छन्। मानसिक रोगलाई ‘मनोरोग’ भनिन्छ। मनोरोगअन्तर्गत अति सामान्य समस्या ‘टेन्सन हेड्याक’ देखि अति कडा रोग सिजोफ्रेनियासम्म पर्छन्। विश्वमा करिब ५० करोड मानिस कुनै न कुनै प्रकारको मनोरोगबाट पीडित छन्। विश्वका १० खतरनाक रोगमध्ये मानसिक रोग दुई नम्बरमा पर्छ। सन् २०२० सम्ममा यो रोग पहिलो नम्बरमा पर्ने विश्व स्वास्थ्य संगठनको अनुमान छ। डिप्रेसन, मेनिया, सिजोफ्रेनिया, दुर्व्यसनी र डिमेन्सिया कडा खालका मानसिक रोग हुन्। डिप्रेसन रोग सबैभन्दा बढी पाइने मनोरोग हो। तर, दुर्भाग्यवश नेपालमा सचेतनाको अभावमा जनमानस, विद्वानवर्ग, स्वास्थ्यकर्मी एवं स्वास्थ्यनीति निर्माताहरूद्वारा अझै पनि मानसिक स्वास्थ्यलाई न्यून प्राथमिकता दिने, रोगीहरूलाई हेलचेक्य्राइँ र भेदभावपूर्ण व्यवहार हुँदै आएको छ। यससम्बन्धी थुप्रै गलत धारणा र अन्धविश्वास व्याप्त छन्।
सामान्य खालका मनोवैज्ञानिक समस्या २५ देखि ३० प्रतिशतसम्म मानिसको जीवनमा विभिन्न समयमा पाइन्छ। खासगरी समस्यासँग जुध्न नसक्दा मानिसलाई डिप्रेसन हुन सक्छ। तर, वंशानुगत रूपमा पनि मानसिक रोग लाग्ने सम्भावना देखिन्छ। मेहनत गर्न नछोड्ने, अनावश्यक कुरामा बारम्बार एकोहोरो नसोच्ने, लागुपदार्थ सेवन नगर्ने, मनमा रहेको समस्या अरूलाई बा”ड्ने गर्नाले मानसिक रोग लाग्ने सम्भावना कम भएर जान्छ।
सामान्य खालका मानसिक रोगमा डर लागिरहने, मुटु ढुकढुक गर्ने, हात हल्लने, टाउको दुख्ने, अचानक डराउने आदि पर्छन्। औÈधिसेवन र साइकोथेरापी गरेपछि यस्ता रोग निको हुन्छन्। अचानक हातखुट्टा नचल्ने, सास फेर्न गाह्रो हुने, उल्टो कुरा गर्ने, काम्ने आदि लक्षण भएमा त्यसलाई कन्भर्सन डिसोसिएटिभ डिसअर्डर भनिन्छ। यो पनि सामान्य मानसिक रोग हो।
डिप्रेसन मध्यम खालको मानसिक रोग हो। यो रोगका बिरामी निराश हुने, दिक्क हुने, बारम्बार रुने गर्न सक्छन्। हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने पनि हुन्छ उनीहरूलाई। डिप्रेसनका कतिपय बिरामीले आत्महत्यासम्म गर्न पुग्छन्। यो उपचार गरे निको हुने रोग हो।
लागुऔषध र रक्सीका कारण पनि मानसिक समस्या देखापर्छन्। बढी रक्सी सेवन गर्ने व्यक्तिमा छारे रोग लाग्न सक्छ। छारे रोग पनि मध्यम खालको मानसिक रोग हो। यो रोग लागेमा लामो समयसम्म औÈधि सेवन गर्नुपर्छ। सुस्त मनस्थिति पनि मध्यम खालको मानसिक रोग हो। उपयुक्त उपचार पाए यसको बिरामी निको हुन सक्छ।
बाइपोलर इफेक्टिभ डिसअर्डर कडा खालको मानसिक रोग हो। यो पटक–पटक दोहोरिने भएकाले यसलाई मनोचिकित्सकहरू पटके रोग पनि भन्छन्।
सिजोफ्रेनिया कडा खालको मानसिक रोग हो। यो सामान्यतया युवा अवस्थामा सुरु हुन्छ र प्रायः जिन्दगीभरि नै रहन्छ। यो रोगले विश्वको कुल जनसंख्याको एक प्रतिशत व्यक्तिलाई गाँजेको छ। विश्व स्वास्थ्य संगठनको हालको तथ्यांकअनुसार विश्वभर २ करोड ६० लाख मानिसलाई यो रोगले ग्रसित बनाएको छ। तन्नेरी अवस्थामा सुरु हुने र जीवनभर रहने भएकाले यो तन्नेरी सिध्याउने रोग हो।
यो रोगले बिरामीलाई दीर्घकालीन रूपमा आक्रान्त पार्ने भए पनि यसको वैज्ञानिक उपचार उपलब्ध छ। पूर्ण रूपमा निको नहुने र लक्षणहरू घटबढ भइरहने तर राम्रो उपचार उपलब्ध हुन सक्दा धेरै हदसम्म नियन्त्रणमा रहने रोग हो। रोगीहरूलाई राम्ररी मद्दत गर्न, समाजमा पुनःस्थापना गर्न, औषधिका साथै रोगबारे रोगी तथा उनका परिवार समाज सबैले उचित ज्ञान, सोचविचार र व्यवहार सिक्न र गर्न आवश्यक छ। द्वैध अर्थ लाग्ने व्यंग्यात्मक भाषा प्रयोग गर्ने, माया र घृणा चरम रूपमा व्यक्त गर्ने, परिवारमा सबै मिलेर एक्ल्याउने, फसाउने आदि वातावरणबाट रोगीलाई बचाउनुपर्छ। यो रोग लागिसकेपछि पनि कतिपय मानिसले मानव जातिको निम्ति सिर्जनात्मक साहित्य, कला, वैज्ञानिक अन्वेषण/आविष्कार गरेर अद्भूत योगदान गरेका उदाहरण छन्। यही रोगबाट ग्रसित गणितज्ञ जोन न्यासले नोबेल पुरस्कार पाएका थिए। सिजोफ्रेनिया लाग्दैमा जिन्दगी बेकार हुन्छ भनी सोच्नु गलत हो।
एजेन्सी
No comments:
Write comments