काठमाडौं,कात्तिक १२ – सरकारले वैदेशिक रोजगारीका लागि उज्वेकिस्तान खुला गरेको छ ।श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले मन्त्रीस्तरीय निर्णय गरी म्यानपावर एजेन्सीमार्फत निःशुल्क उज्वेकिस्तान खुला गरेका हुन् । श्रम तथा रोजगार मन्त्रालयले उज्वेकिस्तानमा कामदार पठाउन राजपत्रमा सूचना प्रकाशित गर्ने तयारी गरेको छ ।
यससँगै नेपालका श्रम गन्तव्य मुलुक ११० पुगेका छन् । एसओएस म्यानपावरले उज्वेकिस्तानका लागि माग ल्याइसकेको छ । उसले कोरियाली निर्माण कम्पनी सामसुङको स्काफोल्डिङ कामका लागि मासिक पारिश्रमिक ३ सय ५० डलर (३५ हजार रुपैयाँ)मा माग ल्याएको हो । मागबमोजिम कामदारले दैनिक ८ घण्टाका दरले सातामा ५ दिन काम गर्नुपर्छ ।
रोजगारदाता कम्पनीले कामदारको मृत्यु भए ३० हजार डलर (करिब ३० लाख रुपैयाँ)को बिमा र अपांगता भए १५ हजार डलर (१५ लाख रुपैयाँ )क्षतिपूर्ति दिने सम्झौता गरेको छ । मौसमका हिसाबले उज्वेकिस्तानमा धेरै चिसो छ । मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले परराष्ट्र मन्त्रालय तथा अन्य सरोकारवाला निकायसँग छलफल गरी म्यानपावरले कामदारलाई निःशुल्क उज्वेकिस्तान पठाउन सक्ने बताए । कस्तो राष्ट्र हो उज्वेकिस्तान ? उज्वेकिस्तान क्षेत्रफलको हिसाबले ५६ औं ठुलो र भुपरिवेष्ठित मुलुक हो ।
यसको उच्च तापक्रम ४० डिग्री र न्युनतम तापक्रम माइनस २३ डिग्री सेल्सियस हुन्छ । मानवअधिकारमा उ अब्बल मानिन्छ । सुन परिमाणको हिसाबले चौथो र ग्यास उत्पादनमा ११ औं ठुलो मुलुक पनि हो । त्यहाँ प्रतिव्यक्ति आम्दानी १ हजार ९ सय डलर छ । बढीजसो लगानी तामा,सुन,तेल र सुनचाँदी उत्खनन्मा छ । ९० प्रतिशतभन्दा बढी मानिस मुस्लिम धर्म मान्छन् । आजको कारोबार दैनिकमा खबर छ ।
www.ratopati.com
No comments:
Write comments